मंग्सिर २२, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • सहाना प्रधान नेपाल आउँदाकाे दु:खद‍्यात्रा

    सहान प्रधानका घरमा नौँ जनाको परिवार थियो । ती नौँ जना नै घर छाडेर रेल चढ्न हिँडेका थिए । त्यतिखेर उनीहरूका भरपर्दो साथी सेतु नाउँ गरेका नरहरि खनाल थिए । साथै लडाइँमा टिक्न नसकेका बन्दुकधारी सिपाहीहरु पनि उनीहरुका दलमा मिस्सिएका थिए ।

    अनि खनाल र ती भगुवा सिपाहीहरु सहित रेल चढेर उनीहरू राति माण्डले पुगेका थिए । त्यस ठाउँको अमरावतीमा पानीजहाज घाट थियो । त्यो ठाउँ निस्लोट अँध्यारो थियो । त्यही ठाउँमा किनारा लागेर उनीहरू गुजुल्टिँदै बसेका थिए । भोलिपल्टको झिसमिसेमा उनीहरूले त्यस ठाउँमा कहालीलाग्दो दृश्य देखेका थिए । भनौँ, त्यस ठाउँमा हजारौँ मान्छेको लास देखिएको थियो । तीमध्ये धेरैको हातखुट्टा नै थिएन, कसैको टाउकै थिएन र कुनै लासहरू आधा मात्र थिए । त्यहाँ कोही जिउँदै छटपटाइरहेका पनि देखिन्थे । कोही अर्ध चेतनामा रुने गर्थे । कुरा बुझ्दा अघिल्लो दिनमा त्यहाँ धेरैपल्ट बम खसाइएको रहेछ । अनि हजारौँको एउटै ठाउँमा चिहान भएको रहेछ । त्यो दृश्य हेरेर सबै जना आत्तिएका थिए । अनि सहाना परिवारका नौँ जनाकै सातोपुत्लो गएको थियो ।

    सहानाहरू भामो जानका लागि ऐरावती नदीबाट पानीजहाजमा चढेका थिए । बम हानिएका कारण त्यस ठाउँमा अघिल्लो दिनसम्ममा एक सय वटा जति पानीजहाज नदीभित्रै डुबिसकेका थिए । त्यसैले त्यसदिन पानीजहाजमा पनि उनीहरू थर्कमान भएर बसेका थिए । त्यतिखेर उनीहरूले पानी जहाजबाट कैयौँ चोटी लडाकूजहाजहरू ओहोरदोहोर गरिरहेको देखिरहेका थिए । पानीजहाज चढेको सातौँ दिनमा उनीहरू भामो सहरमा पुगेका थिए । त्यतिबेला ऐरावती नदीबाट पानीजहाजमा भामो पुग्न सात दिन लाग्थ्यो भने यतिखेर चौबीस घण्टा मात्र लाग्छ । भामो सहरमा पनि बमवर्षाका कारण जतासुकै मान्छेका लास मात्र देखिन्थे । सेतु भनिने नरहरि खनाल चाहिँ त्यहीँदेखि उनीहरूको साथबाट हराएका थिए । अनि सहानाहरूचाहिँ पानीजहाजबाटै कत्था भन्ने सहरतिर लागेका थिए । त्यस सहरको हालत पनि मुर्दैमुर्दामा रूपान्तर भएको देखिन्थ्यो । त्यहाँ पनि सद्धे मान्छे कतै भेटिएका थिएनन् । जतासुकै रेल पल्टेका, घर भत्केका र मान्छे लडेका दृश्य हेर्दै उनीहरू कत्थामा बसिरहेका थिए । कत्थाभन्दा अगाडि जानका लागि कुनै पनि प्रकारको यातायातका साधन थिएन । अब उनीहरूका लागि पैदल यात्राको सुरुवात गर्नुपर्ने अवस्था आएको थियो । त्यसैले सबै जनाले खानेकुराबाहेक आफूसँग भएका सम्पूर्ण कुरा फ्याँकेका थिए । ती बस्तु फाल्दा त्यतिखेर सहाना बेजोडले रोएकी थिइन् ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया