कार्तिक १८, २०८२ मंगलबार

पालिकास्तरीय किशोरकिशोरी मैत्री समन्वय समिति गठन

साकेला- साकेला गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुलाई किशोर किशोरी मैत्री बनाउने गरी काम सुरु गरिएको छ । उक्त कार्यका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन निर्देशिका, २०७९ बमोजिम किशोरकिशोरी मैत्री स्थानीय तह निर्माणका लागि पालिका स्तरीय समन्वय समिति समेत गठन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईको संयोजकत्वमा गठीत समन्वय समितिको सह संयोजकमा उपाध्यक्ष बिर्सिका राई, सदस्यहरुमा वडाअध्यक्षहरुको तर्फबाट महिला कार्यवाहक अध्यक्ष सर्मिला कट्टेल, शिक्षा शाखाको तर्फबाट कविराज राई, सामाजिक विकास तथा स्वास्थ्य शाखाको तर्फबाट रीता ढकाल, पालिकाभित्रका स्वास्थ्य संस्थाहरुबाट राजकुमार दाहाल र सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत महेश राई रहनुभएको छ । समितिभित्रका सदस्यहरुमध्ये दुई जना किशोरकिशोरी र एक जना प्रधानाध्यापक गठीत समितिले मनोनित गर्ने जनाईएको छ ।

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था हुनका लागि यौन तथा प्रजनन सम्बन्धी परामर्श, परिवार नियोजन सेवा, पोषण सम्बन्धी जानकारी, यौनजन्य तथा एचआईभी नियन्त्रण सम्बन्धी जानकारी, हिंसाबाट बच्ने उपाय सम्बन्धी परामर्श, लागू औषधबाट बच्ने उपाय, नसर्ने रोगबारे जानकारी, मानसिक स्वास्थ्य सम्बन्धी जानकारी र परामर्श सेवा अनिवार्य उपलब्ध भएको हुनुपर्नेछ ।

किशोरकिशोरीमैत्री स्वास्थ्य संस्था हुनका लागि सेवा सञ्चालन भएको मितिदेखि १२ महिनाभित्रको कार्यअवस्थालाई मूल्याङ्कन गरि सबै सेवा पुरा भएको अवस्थामा पालिकाले प्रमाणिकरण गर्ने निर्देशिकाले व्यवस्था गरेको छ । स्वास्थ्य सेवा एकदमै जटिल र नागरिकको जीवनसँग जोडिएको क्षेत्र भएकाले आफूले पाएको जिम्मेवारीलाई संवेदनशिल भएर पुरा गर्न गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ । गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन महत्वपूर्ण खुड्किलो स्वास्थ्य क्षेत्र पनि भएकाले जिम्मेवारपूर्वक काम गर्न र आफ्नो लक्ष्य र गन्तव्य पहिचान गरेर काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

बिहीबार गाउँपालिकास्थित सभाहलमा स्वास्थ्य शाखाद्धारा आयोजित किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य कार्यक्रमबारे अभिमुखिकरण सँगै पालिकास्तरीय समन्वय समिति गठन कार्यक्रम भएको हो । गाउँपालिका अध्यक्ष राईको प्रमुख आथित्यतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राई, ३ नम्बर वडा अध्यक्ष गोविन्द तामाङ, ५ नम्बर वडा अध्यक्ष जीवन खत्री, कार्यपालिका सदस्य सर्मिला कट्टेल, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया