
साकेला- साकेला गाउँपालिकाले बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । नजिकिँदै गरेको चाडवाडलाई लक्षित गरि गाउँपालिकाले बैंकसँगको सहकार्यमा हरेक वडा-वडामा पुगेर भत्ता वितरण सुरु गरेको हो । साकेला गाउँपालिकामा नेपाल एसबिआई बैंकले भत्ता वितरणको जिम्मा लिएको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता मंगलबारबाट वितरण गर्न सुरु गरेको हो । उक्त दिन वडा नम्बर-२ को रतन्छामा भुक्तानी शिविर मार्फत १३० जना लाभग्राहीको लागि १८ लाख ४९ हजार रुपैंया सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको गाउँपालिकास्थित सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो ।
बैंकको सेवा वडा-वडाबाटनै प्राप्त गर्दा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरु उत्साहित बनेका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्नेक्रममा बुधबार ३ नम्बर वडा कार्यालय खिदिमाका लाभग्राहीका लागि वडा कार्यालयबाट भत्ता वितरण गर्ने तयारी गरिएको छ । त्यस्तै बिहीबार ५ नम्बर वडा कार्यालय मात्तिमबिर्ता र शुक्रबार ४ नम्बर वडा कार्यालयबाट भत्ता वितरणको समय निर्धारण गरिएको बैंकका प्रबन्धक मेदानी प्रसाद रिजालले जानकारी दिनुभयो । वडा नम्बर १ को बाँझेच्यानडाँडामा केही दिनपछि मात्र भत्ता वितरणको व्यवस्था मिलाईने उहाँले बताउनुभयो ।
साकेला गाउँपालिकाले आ.व. ०७७/०७८ को दोश्रो चौमासिकदेखि बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । हाल चालु आर्थिक वर्षको प्रथम त्रैमासिक सम्म आईपुग्दा १ हजार ३ सय ३२ जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्दै आएका छन् । उनिहरुको लागि कूल १ करोड ३२ लाख ३० हजार ८७८ रुपैंया रकम निकासा भएको छ ।
प्रतिक्रिया