चैत्र ११, २०८१ सोमबार
  • ताजा अपडेट
  • English
  • भुक्तानी शिविरबाट ३९८ जनाले पाए सेवा

    साकेला- खोटाङको साकेला गाउँपालिकाभित्रका जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरि सञ्चालन गरिएको सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरबाट ३९८ जना लाभग्राहीले सेवा पाएका छन् । नेपाल एसबिआई बैंकको साकेला शाखा र गाउँपालिकास्थित सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाद्वारा गत वैशाख २० गतेदेखि हरेक वडा वडामा सञ्चालन गरिएको तेश्रो त्रैमासिक शिविरबाट अशक्त तथा जेष्ठ नागरिकले उक्त सुविधा लिएका हुन् ।

    हरेक वडामा सञ्चालन गरिएको शिविरमा बैंकका प्रतिनिधि, नेपाल प्रहरी तथा पालिकाको तर्फबाट कर्मचारी शिविरस्थलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो । छ दिन सम्म सञ्चालन गरिएको शिविरमा ३९८ जना लाभग्राहीको लागि ४६ लाख ८२ हजार रुपैंया सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

    त्यस्तै गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङमा रहेको बैंकको शाखाबाट करीव ७२५ जना लाभग्राहीले ८७ लाख १८ हजार सामाजिक सुरक्षा भत्ता बुझेको नेपाल एसबिआई बैंकका प्रबन्धक मेदानी प्रसाद रिजालले जानकारी दिनुभयो । गाउँपालिकाले आफ्ना नागरिकहरुलाई सहज तरिकाबाट सेवा पुर्याउने लक्ष्यका साथ सामाजिक सुरक्षा भत्ताको भुक्तानी शिविर वर्षको तीन पटक सञ्चालन गर्दै आएको छ ।

    शारीरिक अशक्तताका कारण आफ्नो सामाजिक सुरक्षा भत्ता बुझ्न बैंक सम्म पुग्न समस्या हुने लाभग्राहीहरुलाई लक्षित गरि वडा तथा टोलबाटै सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर सर्वसाधारणको लागि अत्यन्तै उपयोगी मानिएको छ । नागरिकले प्राप्त गर्ने सेवालाई सहज रुपमा नागरिकको पहुँच सम्म पुर्याउने गाउँपालिकाको उदेश्य भएको उक्त गाउँपालिकाका प्रमुख अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । सरकारी सेवा लिन नागरिकलाई कुनै प्रकारको पनि झण्झट नहोस भनेर यस्ता विभिन्न प्रकारका शिविरहरु पालिकाबाट सञ्चालन भईरहेको उहाँको भनाई छ ।

    साकेला गाउँपालिकाले आ.व. ०७७/०७८ को दोश्रो चौमासिकदेखि बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । हाल चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक सम्म आईपुग्दा कूल एक हजार चार सय जना लाभग्राहीले सामाजिक सुरक्षा भत्ता रकम प्राप्त गर्दै आएका छन् । चालु आवको तेश्रो त्रैमासिकमा गाउँपालिकामा कूल एक करोड ३३ लाख रुपैंया सामाजिक सुरक्षा भत्ता रकम निकासा भएको छ ।

    भौगोलिक कठीनाईका कारण जेष्ठ नागरिक, वृद्धवृद्धा तथा अशक्तहरु गाउँपालिकाको केन्द्रमा रहेको बैंकसम्म पुगेर भत्ता लिन नसक्ने देखिएपछि गाउँपालिकाले वर्षको तीन पटक हरेक वडामा घुम्ती शिविर राखेर भत्ता वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभएको छ । भौगोलिक रुपमा टाढा र अफ्टेरो बाटो धाएर भत्ता थाप्न वृद्ध बावुआमा तथा अशक्त भएका नागरिकहरु नसक्ने भएकाले सहज रुपमा भत्ता उपलब्ध गराउने उद्देश्यले घुम्ती शिविर राखेर गाउँमै सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो ।

    गाउँपालिकाको केन्द्रमा मात्र रहेको बैंकमा वृद्धवृद्धा र अशक्तहरु आउन नसक्ने देखिएपछि शिविर राखेरै वितरण गर्ने गरिएको अध्यक्ष राईको भनाई छ । टाढाटाढाका वडाबासी जेष्ठ नागरिकहरुलाई बैंकसम्म धाएर भत्ता लिन शारीरिक दुख र झण्झटिलो देखिएपछि लाभग्राहीलाई घरपायकमै सेवा दिने मनसायले शिविर राखेर भत्ता रकम वितरण गरिएको उहाँको भनाई छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया