साकेला- शैक्षिक अवस्था सुधारको लागि विद्यालयको नियमित अनुगमन, छलफल र अन्तरक्रिया गरिरहेको साकेला गाउँपालिकाले पालिकाभित्रका २२ वटा आधारभूत विद्यालयका अध्यक्षहरुसँग बसेर शिक्षामा गुणस्तर बढाउन छलफल गरेको छ ।
शिक्षामा गुणस्तर बढाई नतिजामूलक उपलब्धि खोज्न गाउँपालिकाले निरन्तर प्रयास गरिरहेको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था बिग्रदै गएकोमा त्यसलाई सुधारल्याई नजितामूलक उपलब्धि हाँसिल गरि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको चासो बढाउन पालिकाले विविध शैक्षिक गतिविधिलाई प्राथमिकता दिएर काम गरिरहेको छ ।
पालिकाले चालु आर्थिक वर्षमा सबैभन्दा बढी शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम तय गरेको छ । शिक्षाको गुणस्तर नबढ्नुको कारण पत्ता लगाएर त्यसलाई सुधार ल्याई प्रभावकारी शिक्षा नीति लागू गर्न पालिका अग्रसर भएर काम गरिरहेको हो । यसै क्रममा पालिकाले विद्यालयको नियमित अनुगमन, मूल्याङ्कन र नतिजाको क्षेत्रमा काम गरिरहेको छ ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको संयोजकत्वमा रहेको गाउँ शिक्षा समितिले शिक्षक, विद्यालय व्यवस्थापन, अभिभावक र विद्यार्थीसँगको नियमित छलफल गरि शैक्षिक क्षेत्रमा भएको कमजोरी पत्ता लगाउने प्रयास गरिरहेको छ । पालिकाले पछिल्लो समय पालिका भित्रका २२ वटा सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षहरुसँग शैक्षिक क्षेत्रमा भएको कमी कमजोरी पत्ता लगाई शिक्षामा सुधार ल्याउन सुझाव सङ्कलन गर्ने उद्देश्यका साथ अन्तर्क्रियात्मक छलफलको आयोजना गरेको हो ।
सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको चासो बढाउन, भौतिक तथा अन्य व्यवस्थापनको पक्षलाई सुधार गर्न आवश्यक नीति तथा प्रकृयाबारे सुझाव संकलन गर्ने लक्ष्यका साथ छलफलको आयोजना गरिएको हो । यसअघि पालिकाभित्रका छ वटा माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्षहरुसँग छलफल गरि शैक्षिक सुधारका लागि अन्तर्क्रिया गरिएको थियो भने विद्यालयका प्रधानाध्यापक र विषयगत शिक्षकहरुसँग समेत पालिकाले शैक्षिक सुधारको पक्षमा विभिन्न प्रकारका छलफल र वैठक सम्पन्न गरिसकेको छ ।
यस वर्ष साकेला गाउँपालिकाबाट आठ जना विद्यार्थीले मात्र एसईई परीक्षामा उत्तिर्ण भएपछि अधिकांश विद्यार्थीले कमजोर नतिजा ल्याउनुको प्रमुख कारण पत्ता लगाई आगामी दिनमा सुधारात्मक नतिजा ल्याउन पालिका संवेदनशिल भएर लागिरहेको गाउँपालिका अध्यक्ष राई बताउनुहुन्छ । हामी शिक्षा सुधारमा निरन्तर लागिरहेका छौं, हामी निर्वाचित भएर आएको सुरुको वर्ष एक जनाले मात्र एसईई उत्तिर्ण गरेको साकेलामा दोश्रो वर्ष पाँच जना र यस वर्ष आठ जनाले एसईई उत्तिर्ण भएको बताउनुहुँदै उहाँले साकेलाको शैक्षिक अवस्था वर्षेनी सुधार हुँदै गएको बताउनुभयो ।
पालिकाले विद्यालयहरुको नियमित अनुगमनको क्रममा विद्यार्थीलाई नियमित सिकाई उपलब्धिको मोडल परिवर्तन गरि पठनपाठन गराउनुपर्ने, नियमित रुपमा पठनपाठन गराउनुपर्ने, विषयगत शिक्षकहरुमा प्रभावकारी सिकाईको क्षमतामा विकास गर्नुपर्ने, नियमित अतिरिक्त कक्षाको व्यवस्थापन गर्नुपर्ने लगायतको सुझाव प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया