असार २१, २०८२ शुक्रबार

साकेलाका शिक्षकलाई राजनीतिबाट टाढै राखिने

साकेला- खस्कँदो शैक्षिक स्तर उकासी गुणस्तरीय शिक्षा प्रदान गर्नकालागि खोटाङको साकेला गाउँपालिकामा शिक्षकलाई राजनीतिबाट टाढा राख्न सहमति जुटेको छ। कतिपय शिक्षकले विद्यालयलाईभन्दा राजनैतिक गतिविधिलाई प्राथमिकता दिँदा शिक्षाको गुणस्तर खस्किएको निष्कर्षसहित बिहिबार बसेको गाउँ शिक्षा समितिको बैठकले शिक्षकलाई राजनीतिबाट टाढा राख्ने सहमति गरेको हो।

समितिको निर्णयपछि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले राजनीति गर्न, राजनैतिक दलको सदस्यता लिन र राजनैतिक गतिविधिमा लाग्न नपाउने भएका हुन्। गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक रवि प्रकाश राईको अध्यक्षतामा बसेको वैठकले शिक्षा ऐन, २०२८ र शिक्षा नियमावली, २०५९ को प्रावधान साथै राजनैतिक दल सम्बन्धि ऐन, २०७३ को दफा १४ र दफा ५७ तथा शिक्षा ऐनको दफा १६ (ङ) को उपदफा (५) को खण्ड (छ) मा रहेको कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

सुशासित पालिका बनाउन र शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि कानूनमा उल्लेख भएको र शिक्षा ऐनले निर्दिष्ट गरेको व्यवस्थाको आधारमा सो निर्णय गरिएको गाउँपालिका अध्यक्ष राईले बतानउभुयो ।

पठनपाठनलाई भन्दा दलको कार्यक्रम र गतिविधिलाई प्राथमिकता दिने शिक्षकका कारण शैक्षिक गुणस्तर खस्किएको यतार्थलाई स्वीकार गर्दै शिक्षक र बिद्यालयलाई राजनैतिक प्रभावबाट टाढा राख्ने निर्णय गरिएको गाउँ शिक्षा समिति संयोजक तथा गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याई उत्कृष्ट नजिता ल्याउनकालागि शिक्षकलाई राजनीतिबाट अलग गरेर त्यसको निरन्तर अनुगमन र पृष्ठपोषणको कार्यलाई प्रभावकारी बनाईने अध्यक्ष राईको भनाई छ।

विभिन्न राजनीतिक दल तथा भातृसंगठनका बिभिन्न पदमा आबद्ध रहेका शिक्षकका कारण कतिपय विद्यालयको उत्तिर्ण दर खस्कँदै गएको र सामुदायिक बिद्यालयप्रति आकर्षण घटिरहेको गुनासो आइरहेका बेला गाउँ शिक्षा समितिको वैठकले शिक्षकलाई राजनीतिबाट अलग गर्ने हिम्मत सहित सो निर्णय गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया