साकेला- प्रभावकारी र गुणस्तरीय शैक्षिक सुधारका लागि साकेला गाउँपालिकाले थालनी गरेको सामुदायिक विद्यालयहरु अनुगमन निरन्तर भईरहेको छ । यसै क्रममा बुधबार वडा नम्बर १ स्थित राधाकृष्ण माध्यमिक विद्यालयको अनुगमन गरि विभिन्न सुझाव प्रदान गरिएको छ ।
गाउँपालिका प्रमुख रवि प्रकाश राईको नेतृत्वमा विद्यालय पुगेको अनुगमन टोलीले गुणस्तरीय पठन-पाठनको साथै विद्यालयको सरसफाईलाई ध्यान दिँदै विद्यार्थीहरुको रुची र चाहना अनुसारको शिक्षण सिकाई क्रियाकलापको थालनी गर्न सुझाव दिईएको छ । तल्लो कक्षाका विद्यार्थीका लागि बालमनोविज्ञान अनुसार शिक्षण गर्दै प्रयोगात्मक र व्यवहारिक शिक्षाप्रति पठन संस्कृतिको विकास गर्न समेत सुझाव दिईएको अनुगमन टोलीका सदस्य एवम साकेला गाउँपालिका शिक्षा शाखा संयोजक कविराज राईले जानकारी दिनुभयो । साकेलाको समग्र शैक्षिक अवस्थालाई सुधार ल्याई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ गाउँपालिकाले सामुदायिक विद्यालयहरुको प्रत्यक्ष अनुगमन गरि समग्र शैक्षिक अवस्थाबारे जानकारी लिँदै आएको छ ।
पालिकाभित्रका २८ वटै सामुदायिक विद्यालयहरुमा अनुगमन गरि विद्यालयको समग्र अवस्था, शिक्षक-शिक्षिकाले विषयवस्तु अनुसार पठनपाठन गराए-नगराएको, विद्यालयमा नियमित उपस्थित हुने गरेको या नगरेको, विद्यार्थीहरु नियमित विद्यालयमा उपस्थित भएनभएको, विद्यालयको प्रशासनिक तथा व्यवस्थापकीय पक्ष ठीक भएनभएको, विद्यालयमा सरसफाईको कार्यलाई निरन्तरता दिएनदिएको लगायतका विविध विषयलाई प्राथमिकतामा राखि अनुगमन गर्ने गरिएको छ ।
गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक रवि प्रकाश राईको संयोजकत्वमा निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राई, शिक्षा शाखा प्रमुख कविराज राई लगायतको टोलीले पालिका भित्रका सामुदायिक विद्यालयहरुको अनुगमन गरिरहनुभएको छ । यसअघि उक्त टोलीले विभिन्न मावि र आधारभूत तहका विद्यालयहरुमा अनुगमन गरिसकेको छ भने अन्य विद्यालयहरु समेत निरन्तर अनुगमन गर्दै जाने जनाएको छ ।
साकेला गाउँपालिकाको समग्र शैक्षिक अवस्था पहिलाको तुलनामा दिनप्रतिदिन सुधार हुँदै गएको र अझ राम्रो नतिजा ल्याई उत्कृष्ट शिक्षा प्रदान गर्न सहयोग पुर्याउने उद्देश्यका साथ अनुगमनको माध्यमद्वारा हरेक विद्यालय पुगेर गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि सुझाव दिन सुरु गरिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।
शिक्षकहरु विद्यालय समयमै पुग्ने नगरेको, विषयवस्तुप्रति गम्भिर भएर पठनपाठन नगराएको, विद्यालयमा सरसफाई नगरेको, राजनैतिक गुठवन्दीमा सक्रिय हुने गरेको लगायतका विभिन्न प्रकारका गुनासो आउन थालेपछि विद्यालयहरुमा अनुगमन सुरु गरिएको अध्यक्ष राईले बताउनुभयो ।
हामी जुनसुकै बेला जुनसुकै विद्यालयको अनुगमनमा निसकन्छौं, अनुगमनको क्रममा कमिकमजोरी भेटिएमा सोही बमोजिम कारवाही गर्छौं, अध्यक्ष राईले भन्नुभयो- साकेला गाउँपालिकाको शैक्षिक अवस्थालाई सुधार ल्याई नतिजा राम्रो बनाउने प्रयत्नमा हामी निरन्तर लागि रहनेछौं । राम्रोलाई पुरस्कार र नराम्रो गर्नेलाई सजाय गाउँपालिकाले दिनेछ तसर्थ भविष्यप्रति गम्भीर भएर शिक्षण सिकाई प्रकृयामा लाग्न अध्यक्ष राईको सुझाव छ ।
अनुगमनको क्रममा शैक्षिक कार्यमा नयाँ विधि प्रयोग गर्न, अंग्रेजी शिक्षण गर्दा अंग्रेजी भाषाको माध्यमबाट शिक्षण गर्न, मूल्याङ्कनदेखि नतिजासम्म पारदर्शिता कायम गर्न, कक्षा शिक्षणमा समयसम्म रहेर शिक्षण गर्न, शिक्षकहरुले नेपाल सरकारले निर्धारण गरेको पोषाक नियमित लगाउन, कक्षाकोठा व्यवस्थापन प्रभावकारी तवरले गर्न, विद्यालयमा राजनैतिक गतिविधि र क्रियाकलाप बन्द गर्न, विद्यार्थिका लागि टाई, बेल्ट र परिचयपत्र अनिवार्य गर्न, विषयवस्तु अनुसार मिल्दोजुल्दो शैक्षक समाग्रिको प्रयोग गर्न, विद्यालय र कक्षाकोठा तथा वरिपरिको वातवरण सफा राख्ने लगायतका सुझाव प्रदान गर्ने गरिएको छ ।
यसैबीच, साकेला गाउँपालिका-१ स्थित स्वास्थ्यचौकी बाँझेच्यानडाँडामा समेत अनुगमन गरिएको छ । प्रभावकारी स्वास्थ्य सेवा सहज रुपमा नागरिकलाई उपलब्ध भएनभएको, राज्यले प्रदान गर्ने निशुल्क औषधीको व्यवस्थापन, भौतिक अवस्था, स्वास्थ्यकर्मी नागरिकको आवश्यकता अनुसार खट्ने गरेनगरेको लगायतका विषयमा गाउँपालिका अध्यक्ष राईले अनुगमन गर्नुभएको हो । स्वास्थ्य संस्थाले नागरिकलाई दिने सेवा प्रभावकारी रुपमा सञ्चालन भईरहेको अनुगमनको क्रममा भेटिएको जनाईएको छ ।
प्रतिक्रिया