
साकेला- खोटाङको साकेला गाउँपालिकाले सञ्चालन गरेको पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत स्थानीय नागरिकहरुको सहभागितामा पालिकाभित्रका विभिन्न स्थानमा सरसफाई कार्यक्रम सञ्चालन गरिएको छ । शुक्रबार गाउँपालिकास्थित मानेभञ्ज्याङ बजार क्षेत्रमा पर्ने सडक बजार पार्क तथा सार्वजनिक स्थलमा भएका फोहरमैला संकलन र व्यवस्थापन गरिएको छ । पूर्ण सरसफाई संयोजक सगुन बस्नेतको नेतृत्वमा सञ्चालन गरिएको सरसफाई अभियानमा स्थानीय बजारबासी नागरिकहरु, नेपाल प्रहरी तथा गाउँपालिकाका कर्मचारीहरु सहभागि भएका थिए ।
उता सोही पालिकाको वडा नम्बर २ स्थित रतन्छामा पनि पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत टोल तथा बस्ती र सडक सरसफाई गरिएको जनाईएको छ । पूर्ण सरसफाई उत्प्रेरक चुनु राईको संयोजकत्वमा उक्त वडाको मबु टोलमा आयोजना गरिएको सरसफाई कार्यक्रममा स्थानीय टोल विकास संस्थाका पदाधिकारी, आमा समूह र स्थानीय नागरिकहरुको उल्लेख्य सहभागिता भएको जनाईएको छ । साकेला गाउँपालिकाले पूर्ण सरसफाईमैत्री गाउँपालिका निर्माण गर्न विभिन्न वडाहरुमा विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । पालिकाले सञ्चालन गर्दै आएको पूर्ण सरसफाईको समग्र नेतृत्व गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले गरिरहनुभएको छ । संकलन गरिएको फोहरमैला व्यवस्थापनको क्षेत्रमा पनि पालिकाले काम गरिरहेको छ । तत्कालका लागि पालिकाले गाउँपालिकाको वडा नम्बर ३ मा निर्माणाधिन अवस्थामा रहेको सटिङ साईटमा लगेर फोहरमैला व्यवस्थापन गर्दै आएको छ । पर्याप्त बजेटको अभावमा फोहरमैला सटिङ गर्ने समाग्री व्यवस्थापन गर्न भने समस्या भईरहेको पालिकाले जनाएको छ ।
पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको अभियानको झलकहरु तल प्रस्तुत गरिएको छ ।
प्रतिक्रिया