साकेला- गतवर्षझैँ यस वर्ष पनि खोटाङको साकेला गाउँपालिकाले वृक्षारोपण अभियान सुरु गरेको छ । गाउँपालिकालाई हरित पालिका तथा वातावरणमैत्री पालिका निर्माण गर्ने उदेश्यले सडक किनारा, विभिन्न पार्क, सामुदायिक विद्यालय, वडा कार्यालय तथा स्वास्थ्यसंस्थाहरुमा वृक्षारोपण कार्य सुरु गरिएको छ ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा स्थानीयवासी नागरिक, कर्मचारी तथा जनप्रतिनिधिहरुको टोलीले विभिन्न प्रजातिका विरुवा रोप्न सुरु गरिएको हो । आज सोमबार गाउँपालिकाको वडा नम्बर २ रतन्छास्थित साकेला पार्कमा विभिन्न प्रजातिका विरुवा रोपिएको छ ।
वातावरणीय रुपमा भुगोल र माटो सुहाउँदो प्रकारका ज्याकारअण्डा, धुपी, कल्की, अशोक, क्रिष्मश ट्रि, लालिगुराँस लगायतका विरुवा रोप्न सुरु गरिएको र यस वर्ष तीन हजार विरुवा रोप्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । उहाँले पालिकालाई वातावरण मैत्री बनाउनका लागि यहाँका सबै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयहरू र सार्वजनिक पाटीपौवा लगायतका स्थानमा बोट बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको बताउनुभयो ।
गाउँपालिकाले विगतका वर्षहरुमा पालिकाभरी करीव दश हजार विभिन्न प्रजातिका विरुवाहरु रोपेर संरक्षण गर्दै आएको छ ।
तस्विर हेर्नुहोस्-
प्रतिक्रिया