श्रावण १३, २०८२ आइतबार

नगरप्रमुख भट्टराईद्वारा कपाल मुण्डन गरि सत्याग्रह सुरु

काठमाडौ- स्थानीय श्रोत साधन र कच्चा पदार्थको समुचित प्रयोगमा संघीय ऐन तथा कानून बाधक भएको ठहर गरि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले विभिन्न माग राखि सत्याग्रहको सुरुवात गर्नुभएको छ । संघीय ऐन संसोधन गरि स्थानीय कच्चा पदार्थको प्रयोगलाई बाटो खुलाउन पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दै आएकोमा सरकारले बेवास्ता गरेको ठहर गर्दै सात बुँदै माग राखि आज आईतबारदेखि मेयर भट्टराईले माईतीघर मण्डलामा सत्याग्रह सुरु गर्नुभएको हो ।

मेयर भट्टराईले सिंहदरबारको दक्षिण गेट अगाडि कपाल मुन्डन गरी सत्याग्रह सुरु गर्न लाग्नुभएकोमा प्रहरीले निषेधित क्षेत्र भन्दै प्रमुख भट्टराईलाई सुरक्षाकासाथ माइतीरघरमा लगेर छाडेको छ । भट्टराईले त्यही सत्याग्रह सुरु गर्नुभएको हो । प्रमुख भट्टराईले आजदेखि तीन दिन भोक हड्तालमा बस्ने समेत घोषणा गर्नुभएको छ। आफ्ना सात बुँदे माग अगाडि सार्दै माग पूरा नभए साउन १४ गतेदेखि अनिश्चितकालिन आमरण अनसन बस्ने समेत जानकारी दिनुभएको छ ।

गाउँघरमा मूल्यविहीन बनेका बाँस, काठ, गाँजा, लोकल रक्सी, राडिपाखी आदि स्थानीय उत्पादित सामग्रीलाई सरकारी रूपमा प्रयोग गर्न मिल्नेगरी कानून बनाउने, भवन बनाउन सकिनेगरी सरकारी नम्स् एवं विल्डिङ कोडमा समावेश गरी कानूनी रुपमा प्रयोग गर्ने वातावरण बनाइदिन नगर प्रमुख भट्टराईले सरकार समक्ष आग्रह गर्नुभएको छ ।

हिमालको अस्तित्व संकटग्रस्त भई जलवायु परिवर्तनको प्रभावले काला पहाडमा परिणत हुँदै गएकाले यसबाट हुने मानवीय तथा प्राणीको जोखिमलाई समयमा नै मध्यनजर राख्दै जैविक विविधता र रैथाने संस्कृतिको संरक्षण गर्न आवश्यक नीति निर्माण तथा पहलकदमी तत्काल गर्न र विश्वव्यापि जलवायु परिवर्तनको जोखिम बढाउने विकसित तथा औद्योगिक राष्ट्रले कार्बन उत्सर्जन गर्ने नेपालजस्ता राष्ट्रलाई निश्चित रकम क्षतिपूर्तिबापत् तिर्नुपर्ने प्रावधानका लागि अन्तर्राष्ट्रिय मञ्च तथा फोरममा लविङ गर्दै आवाज उठाउनसमेत प्रमुख भट्टराईले माग राख्नुभएको छ ।

बाँस तथा बाँसबाट निर्मित सामग्रीसहित सिंहदरबार परिक्रमा गर्न खोज्दा नगर प्रमुख भट्टराईलाई प्रहरीले रोकेको नगर प्रमुख भट्टराईका सचिवालय सदस्य चिरन्जीवी खतिवडाले जानकारी दिनुभएको छ । नगर प्रमुख भट्टराई बाँससहित बाँसको मान्द्रो, गुन्द्री, राडी, पराललगायत सामान बोकेर साउन–४ गते काठमाडौँ जानुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया