
साकेला- स्थानीय तहमा सम्पादन भईरहेका काम कारवाहीको सन्दर्भमा दुई वटा स्थानीय तहका प्रमुखबीच छलफल भएको छ । साकेला गाउँपालिकामा भईरहेका विकासका कार्य, गाउँपालिकाले सजाएको सपना र भविष्यको कामप्रतिको परिणाम नियाल्नका लागि हालैमात्र साकेला गाउँपालिका भ्रमण गर्नुभएका लुम्विनी प्रदेश गाउँपालिका महासंघका अध्यक्ष तथा गौमुखी गाउँपालिका प्युठानका अध्यक्ष विष्णु कुमार गिरी र साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईबीच स्थानीय तहमा भईरहेका र गर्नुपर्ने कामकारवाहीको सन्दर्भमा छलफल भएको हो ।
छलफलको क्रममा स्थानीय तहमा निर्वाचित भएपश्चात भएगरेका कामको अनुभव साटासाट गर्नुहुँदै समृद्ध देश निर्माणका लागि स्थानीय तहबाट नमूना कार्यको थालनी गर्नुपर्ने निष्कर्ष निकालिएको छ । छलफलको क्रममा साकेला गाउँपालिका प्रमुख राईले समृद्व देश निर्माणका लागि समग्र शैक्षिक प्रणाली सुधार गर्नुपर्ने र नैतिक शिक्षाको सुरुवात गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो- ‘जबसम्म हाम्रो शैक्षिक प्रणालीमा सुधार ल्याउन सकिँदैन जतिनै काम गरे पनि नतिजा शुन्य हुन्छ, हामीले उत्कृष्ट शैक्षिक प्रणालीमा जोड दिने हो भने देश समृद्ध बन्न कत्तिपनि समय लाग्दैन । यसैको सुरुवातका लागि स्थानीय पाठ्यक्रम निर्माण गरिरहेका छौं, हामीले निर्माण गरेको पाठ्यक्रम देशकै नमूना हुनेछ ।”
उता गौमुखी गाउँपालिका अध्यक्ष गिरीले साकेला गाउँपालिकाले गरिरहेको कामप्रति खुलेरै प्रशंसा गर्नुभएको छ । यहाँको भाषा, कला, संस्कृतिको जगेर्ना गर्दै समृद्ध पालिका निर्माणको सपना बमोजिम गरेको कार्य प्रसंसनीय रहेको धारणा व्यक्त गर्नुभयो । साकेला गाउँपालिकाको विकासका लागि हरेक क्षेत्रमा भएका कामहरु उदाहरणीय भएको बताउनुहुँदै अध्यक्ष गिरीले सबै स्थानीय तहले साकेला गाउँपालिकाले गरे अनुसारको कामको अनुशरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । साकेला गाउँपालिकाको भ्रमणका लागि पाल्नुभएका अध्यक्ष गिरीलाई गाउँपालिका प्रमुख सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट भव्य स्वागत भएको थियो भने गाउँपालिका प्रमुख राईले मायाको चिनो समेत प्रदान गर्नुभयो ।
प्रतिक्रिया