साकेला- खोटाङको साकेला गाउँपालिकामा दुई दिनअघिदेखि सडकमा झरेको पहिरो स्थानीयबासी नागरिकको सहयोगमा पन्छाईएको छ । चार दिनअघिदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट झरेको पहिरोले अवरुद्ध बनेको बाँझेच्यानडाँडा-रतन्छा-मानेभन्ज्याङ सडकखण्ड अन्तर्गत साकेला गाउँपालिकाको वडा नम्बर-१ बाँझे लगनेडाँडामा गाउँपालिकाको पहल मार्फत स्थानीय नागरिकहरुको सहयोगमा पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको हो ।
गत सोमबार राती सडकको माथिबाट ढुङ्गा सहितको पहिरो सडकमा झरेपछि सवारी साधन आवतजावत बन्द भएको थियो । बुधबार गाउँपालिकाको जेसिवी तथा स्थानीयको स्काभेटर सहित जनप्रतिनिधि र वडा नम्बर १ का स्थानीय नागरिकहरुको सहयोगमा सडक खुलाईएको साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईले बताउनुभयो ।
साकेला गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको उक्त सडक पुष्पलाल मध्यपहाडि लोकमार्गहुँदै सदरमुकाम दिक्तेल र कोशी प्रदेशका विभिन्न जिल्ला पुग्न सकिन्छ । मध्यपहाडी लोकमार्गसँग जोडिएको उक्त सडक गाउँपालिकाको केन्द्रबाट १७ किलोमिटर लामो दुरीमा बिस्तार भएको प्रमुख सडक हो । निरन्तर स्तरोन्नती र निर्माण भईरहेको उक्त सडकलाई गाउँपालिकाले प्राथमिकता दिएर निर्माण गरिरहेको छ । गाउँपालिकाले यस सडक मात्र नभई प्राकृतिक विपत्तिका कारण हुने क्षतिलाई न्यूनिकरण गरि नागरिकलाई सहजता दिलाउन आकस्मिक पूर्वाधार सेवा मार्फत विभिन्न स्थानका सडक तथा पुर्वाधार निर्माणको कामलाई निरन्तरता प्रदान गरिरहेको प्रमुख राईले बताउनुभयो ।
सोही सडक खण्डको रुपुवा खोलामा गत साउन १० गते ग्याविन जालि पहिरोले बगाएपछि गाउँपालिका प्रमुख राईको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीय नागरिकको सक्रियतामा मर्मत गरि पुन सुचारु गरिएको थियो । सो समय पहिरोका कारण ग्याविन जाली बग्दा करीव ५० लाख रुपैंया बराबरको क्षति भएको थियो ।
पालिकाको गौरवको सडक मानिएको उक्त सडकमा स्थानीय, प्रदेश तथा संघीय सरकारको करोडौं रुपैंया बजेट लगानी भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा संघीय समपुरक योजना अन्तर्गत केही बजेट प्राप्त भई निर्माणको काम भएको थियो भने चालु आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय समपूरक योजना अन्तर्गत बजेट विनियोजन भई काम प्रारम्भ हुने चरणमा रहेको छ ।
संघीय समपूरक योजना अन्तर्गत यस सडक निर्माणका लागि स्थानीय तहको २० प्रतिशत लागत साझेदारी हुनेछ । बहुबर्षिय योजना अन्तर्गत निर्माण भईरहेको यस सडकमा आगामी आर्थिक वर्षको समेत गरी कूल ६ करोड २३ लाख बराबरको काम यसै वर्षदेखि प्रारम्भ हुने गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभएको छ । हाल ग्राभेल सडकको रुपमा रहेको करीव १७ किलोमिटर लामो उक्त सडक कालोपत्रे सहित सम्पन्न हुनका लागि भने एक अरव १४ करोड रुपैंया लागत बराबरको बिस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ ।
प्रतिक्रिया