भाद्र २७, २०८२ शुक्रबार

रुट पर्मिट नलिएका र संघमा दर्ता नभएका गाडीलाई कारबाही गरिने

साकेला- साकेला गाउँपालिकामा सञ्चालन भईरहेका सार्वजनिक बस तथा सुमोको सेवा प्रभावकारी बनाउन नयाँ भाडादर निर्धारण गर्नुका साथै छुट्ने समय तालिका तय गरिएको छ । सोमबार साकेला गाउँपालिका प्रमुख रवि प्रकाश राईको अध्यक्षतामा बसेको यातायात व्यवसायीहरुको वैठकले निर्णय गर्दै आगामी दिनमा रुट परमिट पाएका र सम्बन्धित व्यवसायी संघमा दर्ता भएका सवारी साधनमात्र साकेला गाउँपालिकामा प्रवेश गर्न पाउने निर्णय गरिएको छ ।

व्यवसायी संघमा दर्ता नभएका र रुट परमिट नलिएका सवारी साधनले यात्रु बोकेको पाईएमा सोही बमोजिम कारवाही गरिने निर्णय भएको गाउँपालिका प्रमुख रवि प्रकाश राईले बताउनुभयो । गाउँपालिकाको कार्यालयमा स्थानीय सरकार प्रमुख सहित बस तथा जीप व्यवसायी संघका प्रतिनिधि, उद्योग वाणिज्य संघ, नेपाल प्रहरी सहित बसेको टोलीले सो निर्णय गरेको हो ।

बैठकले साकेलाबाट छुट्ने छोटो तथा लामो दुरीमा चल्ने बस तथा जीपको भाडा निर्धारण गरिएको हो । बसमा साकेला गाउँपालिकाबाट दिक्तेलसम्मका लागि प्रतिव्यक्ती ४८०, गाईघाटका लागि १५००, इटहरी, धरान र बिराटनगरका लागि १८०० रुपैयाँ भाडा लाग्ने निर्धारण गरिएको छ । यस्तै, जीप तथा सुमोको लागि साकेला गाउँपालिकाबाट दिक्तेलका लागि जनही ६००, साकेलाबाट गाईघाटका लागि १७००, साकेलाबाट काठमाडौंका लागि २५००, साकेलाबाट धरान र इटहरीका लागि २२०० रुपैयाँ तोकिएको छ ।

जीपमा साकेलाबाट बिसाउनासम्मको जनही १२०, मात्तिमबिर्ताको १५०, छाँगेखोलाको २००, डाँडाटोलको २२०, चुम्लुङको २५०, दिगेम्पाको ३०० र साप्सुखोलासम्मको ३२० रुपैयाँ निर्धारण गरिएको छ ।

बैठकले साकेलाबाट बस तथा जीप छुट्ने समय पनि निर्धारण गरेको छ । अबदेखि दैनिक बस साकेलाबाट दिक्तेलको लागि बिहान ७ बजे छुट्ने र दिक्तेलदेखि साकेला बेलुकी ३ बजे साकेलाको लागि छुट्नेछ । त्यस्तै साकेलादेखि गाईघाट बिहान ५ बजे र गाईघाटबाट साकेलाको लागि बिहान ६ बजे छुटाउने निर्णय गरिएको छ । त्यस्तै जीप तथा सुमो साकेलादेखि दिक्तेल बेलुकी ३ बजे र दिक्तेलदेखि साकेला बिहान ७ बजे प्रत्येक दिन छुट्ने गरेर समय निर्धारण गरिएको छ । सोही वैठकले साकेलादेखि लामो दूरीमा जाने जीप तथा सुमोले छोटो दूरीको यात्रा गर्ने यात्रुहरु बोक्न नपाईने समेत निर्णय गरेको छ ।

साकेला गाउँपालिकाभित्र सञ्चालन हुने गाडी अनिवार्य रुट पर्मिट लिएको र यातायात व्यवसायी संघमा दर्ता भएको हुनुपर्ने गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । रुट पर्मिट नलिएको र संघमा दर्ता नभएका गाडीलाई प्रहरीको सहयोगमा कारबाही गर्ने निर्णय गरिएको जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया