भाद्र २७, २०८२ शुक्रबार

सरस्वती माविमा २४ लाख बराबरको पुस्तकालय स्थापना हुने

साकेला- खोटाङको साकेला गाउँपालिका स्थित वडा नम्बर-५ को सरस्वती माध्यमिक विद्यालयमा व्यवस्थित पुस्तकालय स्थापना गरिएको छ । ब्रिटिश गोर्खा वेलफेयर ट्रष्ट सँगको समन्वयमा विद्यालयमा पाहार ट्रष्ट नेपालले व्यवस्थित पुस्तकालय स्थापना गरिदिएको हो । विद्यालयमा पुस्तकालय स्थापनाका लागि आज मंगलबार पाहार ट्रष्ट नेपाल पोखराका अध्यक्ष बिजुली बहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईबीच सम्झौता भएको छ । पुस्तकालय सञ्चालनका लागि पाहार ट्रष्ट नेपालद्वारा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमको अवसरमा उक्त सम्झौता गरिएको हो ।

गत २०८१ माघदेखि सुरुवात गरिएको पुस्तकालयको सम्पूर्ण काम आगामी २०८३ साल पौष मसान्त सम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएको उक्त विद्यालयकी प्रधानाध्यापक सितल राईले जानकारी दिनुभयो । पुस्तकालयलाई आवश्यक पर्ने फर्निचर, भौतिक संरचना, पुस्तक लगायतको काम पहार ट्रष्ट नेपालको तर्फबाट हुनेछ । पुस्तकालय स्थापना गर्नका लागि पाहार ट्रष्ट नेपालले २४ लाख ७ हजार ९ सय रुपैंया सहयोग गर्ने सम्झौतामा उल्लेख छ ।

अनुशिक्षण कार्यक्रम साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष राईले सरस्वती माध्यमिक विद्यालयमा भईरहेको दातृ निकायको सहयोग सह्रानीय भएको प्रशंसा गर्नुभयो । हालै मात्र गोर्खा वेलफेयर ट्रष्टद्वारा व्यवस्थित र आकर्षक १२ कोठे सुन्दर भवनहरु निर्माण भएको अवस्थामा पुन पुस्तकालय सहयोग पाउनु गौरवको विषय भएको उल्लेख गर्नुहुँदै यस कार्यमा सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार प्रकट गर्नुभयो ।

विद्यालयमा स्थापना गरिएको व्यवस्थित पुस्तकालयले इसिडिदेखि कक्षा ३ सम्मका नानीबावुलाई कक्षागत पठनकलाको विकास गरि माथिल्लो १२ कक्षा सम्मका विद्यार्थीहरुमा पठन संस्कृतिको विकास गर्दै वाह्य अतिरिक्त ज्ञान बढाउन, विद्यार्थी, शिक्षक र समुदायका नागरिकहरुको फुर्सदको समयलाई सदुपयोग गर्न, सूचनाको सेवा प्रवाह गरि विद्यालयको शैक्षिक सुधार गर्न पुस्तकालयले ठूलो सहयोग पुर्याउने अपेक्षा राखिएको अध्यक्ष राईले बताउनुभयो ।

कार्यक्रममा पाहार ट्रष्ट नेपालका अध्यक्ष गुरुङ सहित पुस्तकालय कार्यक्रमका म्यानेजर बलकाँशी गुरुङ, सुपरभाईजर बिमल नेपाली, मोभिलाईजर लक्ष्मी गुरुङ लगायतको उपस्थिती रहेको थियो । यसरी स्थापना गरिएको पुस्तकालयमा हाल वालवालिका र विद्यार्थीका लागि विषयवस्तुसँग सम्बन्धी पुस्तकहरु उपलब्ध रहेको छ भने सम्झौता अवधिभर वाह्य ज्ञानका पुस्तकहरु समेत समावेश गरिने जनाईएको छ । उक्त पुस्तकालयलाई समयसापेक्ष स्तरवृद्धि गर्दै लगिने प्रअ राईको भनाई छ ।

यसैबीच, सोही कार्यक्रमको अवसरमा पुस्तकालय सञ्चालन र व्यवस्थापनका लागि समिति गठन गरिएको छ । विद्यालयकी प्रधानाध्यापक सितल राईको अध्यक्षतामा सरीता राई, रमेश कुमार ढकाल, विपिन दाहाल, निश्चल ढकाल, रोमिया राई सदस्य रहेको समिति गठन गरिएको हो । समितिमा आवद्द सदस्य सहितका पदाधिकारीलाई पुस्तकालय व्यवस्थापन र सञ्चालन सम्बन्धी तीन दिने अभिमुखिकरण कार्यक्रम आगामी भदौ ३ गतेदेखि ७ गतेसम्म हुने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया