साकेला- लगातारको वर्षाका कारण माथिबाट झरेको पहिरोले अवरुद्ध भएको साप्सुखोला-मानेभन्ज्याङ सडक गाउँपालिकाको सक्रियतामा खुलाईएको छ । उक्त सडक खण्डको मात्तिम चुम्लुङमा माथिबाट झरेको पहिरो बुधबार साँझसम्म लगाएर गाउँपालिकाको जेसिवि मेसिन प्रयोग गरि खुलाईएको हो । सदरमुकाम दिक्तेल हुँदै अन्यत्र जानका लागि प्रयोग हुने छोटो दूरीको उक्त सडकलाई गाउँपालिकाले प्रमुख गौरवको योजनामा समावेश गरेको छ ।
हाल ग्राभेल सडकको रुपमा रहेको साप्सुखोला-मानेभन्ज्याङ-पाँचधारे ३२ किलोमिटर सडक पूर्ण रुपमा ग्राभेल गरिएको छ । उक्त सडकमा माथिबाट झरेको पहिरो, र पहिरोका कारण थुनिएको नाली, बिग्रिएको सडक गाउँपालिकाले निरन्तर मर्मत गरि सवारी साधन सञ्चालनका लागि नागरिकलाई सहज बनाउने गरिएको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो ।
त्यसो त वर्षादका कारण बिग्रिएको गाउँपालिकाभित्रका अन्य सडक पूर्वाधारहरु गाउँपालिकाले स्थापना गरेको आकस्मिक पूर्वाधार सेवा मार्फत मर्मत सम्भार गरिँदै आईएको छ । त्यसका लागि गाउँपालिकाले ट्याक्टर, जेसिवि र प्राविधिक जनशक्तिको व्यवस्थापन गर्ने गरेकोछ । गाउँपालिका अध्यक्ष राई आफै अग्रसर भएर आकस्मिक पूर्वाधार निर्माणको सेवामा जुटिरहनुभएको छ । अध्यक्ष राई बिग्रिएको सडक मर्मत गर्ने, सरसफाई गर्ने, सडक किनारा, सार्वजनिकस्थल, बजार, चोकहरुमा भूगोल सुहाउँदो विरुवा रोप्ने कार्यमा दैनिक जुटिरहनुभएको छ ।
यसैबीच, लगातारको झरीका कारण अवरुद्ध बनेको बाँझेच्यानडाँडा-रतन्छा-मानेभन्ज्याङ सडक खण्ड अन्तर्गत रतन्छा र साब्जुखोला क्षेत्रमा समेत पालिकाको मेसिन प्रयोग गरि बाटो खुलाईएको छ । बिहीबार बिहानैदेखि पालिकाको मेसिन उक्त क्षेत्रमा पुगेर सडकको अवरोध हटाएको हो । गाउँपालिकाले अवरोध खुलाउनको लागि तत्काल आफूसँग उपलब्ध भएको साधन सो क्षेत्रमा पठाएर आफ्ना नागरिकलाई सुविधा प्रदान गर्दै आएको छ ।
रतन्छा र बाँझेच्यानडाँडास्थित साब्जु खोला छेउमा सडक मर्मत गर्दाको दृष्य तस्विरमा-
प्रतिक्रिया