साकेला- अपाङ्गता भएका नागरिकहरुले गठन गरेको मिलीजुली समूहमा आवद्व नागरिकहरुको आत्मनिर्भरताका लागि सहयोग पुर्याउने उद्देश्यले साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले आफूले पाएको सेवा सुविधाबाट १५ हजार रुपैंया सहयोग दिने घोषणा गर्नुभएको छ । प्रति महिना प्रतिव्यक्ति १०० रुपैंयाको दरले सदस्यता शुल्क संकलन गरि कोष वृद्धि गर्दै आएको साकेला गाउँपालिका-३ खिदिमाका मिलिजुली समूहको आयआर्जनमा वृद्धि गराउन अध्यक्ष राईले उक्त रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो । अपांगता भएका नागरिकहरुलाई सहायक समाग्री वितरण गर्नका लागि बिहीबार वडा कार्यालयमा आयोजित एक कार्यक्रमको अवसरमा अध्यक्ष राईले सो घोषणा गर्नुभएको हो ।
सोही अवसरमा खिदिमाका मिलिजुली समूहमा आवद्व अपाङ्गता भएका नागरिकको सहजताका लागि सहायक समाग्री वितरण गरिएको छ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत खिदिमाका सात जना अपाङ्गता भएका नागरिकहरुलाई सहायक समाग्री वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले अपाङ्गता भएका नागरिकहरुलाई (छडी) लाठ्ठी, श्रवणयन्त्र र हिँडडुल गर्न प्रयोग हुने कुईनो वैशाखी र ह्वीलचेयर वितरण गर्नुभएको हो । सबै प्रकारका नागरिकहरुको सहजताका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको पालिकाले उक्त सहायक समाग्रीहरु वितरण गरेको हो ।
साकेला गाउँपालिकामा गत २०८० माघ १ गतेदेखि सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन हुँदै आएको छ । साकेला गाउँपालिकामा उक्त कार्यक्रम २०८३ पौष मसान्तसम्म सञ्चालन हुनेछ भने त्यसपछि गाउँपालिका आफैले कार्यक्रमलाई निरन्तरता दिनेछ ।
कार्यक्रमले गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष राईको भनाई छ । नागरिकलाई परेको समस्याप्रति साकेला सरकार पूर्णरूपमा संवेदनशील छ, अध्यक्ष राईले भन्नुभयो, ‘गाउँपालिकावासी नागरिकको समस्या समाधान गर्न स्थानीय सरकारले गर्ने सबै काममा कमी आउन दिइनेछैन।’ गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्ति र परिवारका लागि थप कार्यक्रम पनि विस्तार गर्दै लाने प्रतिबद्धता अध्यक्ष राईले व्यक्त गर्नुभयो ।
अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत संकलन भएको विवरण अनुसार गाउँपालिकाभित्र ३२५ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको पहिचान भएको छ ।
प्रतिक्रिया