साकेला- साकेला गाउँपालिकामा सञ्चालन भईरहेको पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा श्रमदान मार्फत सडक मर्मत र सरसफाई गरिएको छ । आज शुक्रबार अध्यक्ष राईको नेतृत्वमा ५० जनाभन्दा बढी गाउँपालिकामा कार्यरत कर्मचारी, मानेभन्ज्याङ बजारबासी, इलाका प्रहरी कार्यालय मात्तिमका प्रहरी र अन्य साकेलाबासी स्थानीय नागरिकहरुको सहभागितामा साप्सुखोला-मानेभन्ज्याङ-तावाभन्ज्याङ खण्डको नागढुङ्गादेखि बिर्ता जाने सडक पूर्ण रुपमा सरसफाई गरिएको हो ।
वर्षादका कारण सडकको भित्तामा थुनिएको नाली खोल्ने, सडकमा भएको फोहर व्यवस्थापन गर्ने, झोरझाडी हटाउने, खाल्डाखुल्डी पुर्ने लगायतका कामको लागि श्रमदान अभियान चलाईएको पूर्ण सरसफाई कार्यक्रम संयोजक सगुन बस्नेतले जानकारी दिनुभयो । पूर्ण सरसफाईमैत्री गाउँपालिका निर्माणको नीति अनुरुप यहाँको विभिन्न स्थानहरुमा श्रमदान मार्फत सरसफाईको विविध गतिविधिहरु सञ्चालन गरिँदै आईएको छ ।
बजार, पार्क, सडक तथा सार्वजनिक स्थलहरुमा सरसफाई गर्ने, खुल्ला तथा खाली स्थानहरुमा भुगोल र वातावरण सुहाउँदो विरुवाहरु रोप्ने, फोहरमैला संकलन तथा व्यवस्थापन गर्ने लगायतका गतिविधिहरु कार्यक्रम मार्फत सञ्चालन गरिँदै आईएको छ ।
गाउँपालिकाले सञ्चालन गर्ने संस्कार र सभ्यता, पूर्ण सरसफाई, आकस्मिक पूर्वाधार मार्फत गरिने विविध क्रियाकलापको नेतृत्व गाउँपालिका अध्यक्ष राई आफैले गर्दै आउनुभएको छ । कर्मचारी, स्थानीयवासी नागरिकहरुको उपस्थितिमा गरिने श्रमदान अभियानले संस्कार र सभ्यताको पहिचान साकेलाले दिएको जानकारहरु बताउँछन् ।
हामी साकेला गाउँपालिकालाई सफा र सुन्दर बनाउन प्रयत्नशिल छौं, गाउँपालिका सरकारले चालेको सरसफाईको अभियानलाई स्थानीय नागरिकहरुले स्वस्फूर्त रुपमा सहयोग गरिरहनुभएको छ, अध्यक्ष राईले भन्नुभयो- पालिकाले गर्ने हरेक कार्यमा स्थानीयको साथ पाए समृद्ध साकेला बन्न धेरै समय लाग्दैन ।
प्रतिक्रिया