साकेला- झरी, बादल, वर्षा, सार्वजनिक विदा समेत नभनी यतिबेला साकेला गाउँपालिका खोटाङका अध्यक्ष रवि प्रकाश राई निरन्तर जनश्रमदान अभियानको नेतृत्व गरिरहनुभएको छ । वर्षाले बिगारेको सडकका कारण आफ्ना नागरिकलाई सास्ती नहोस भन्ने हेतुले केही कर्मचारीको साथमा कहिले मुख्य, कहिले शाखा सडक सकार्ने काममा निरन्तर भेटिनुहुन्छ । यति मात्र हैन, पालिकाभित्रका सडकको सौन्दर्य कायम राख्नका लागि थुनिएको नाली सफा गर्ने, सडकको छेउ र भित्तामा पलाएको झ्यासझुस फ्यालेर चिटिक्क बनाउने, सडक किनारामा फालिएका फोहरमैलाको उचित व्यवस्थापन गर्ने कार्यमा दिनहुँ लागिरहनुभएको छ ।
अध्यक्ष राईको नेतृत्वदायी भूमिकालाई साथ दिँदै साकेलाबासी नागरिकहरु पनि प्रत्यक्ष जनश्रमदानमा जोडिएर सफा र सुन्दर पालिका निर्माण गर्ने अभियानमा लागिरहेको पाईन्छ । पालिकामा उपलब्ध भएको जेसिवि मेसिन र ट्याक्टरको साथमा केही प्राविधिक र कर्मचारीहरुको साथमा दिनहुँ जनश्रमदानमा भेटिने गर्नुभएका गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकालाई देशकै नमूना गाउँपालिका बनाउने निरन्तर अभियान चलाईरहनुभएको छ ।
भौतिक विकासले मात्र परिवर्तन सम्भव नहुने बताउनुहुँदै उहाँले सँस्कार र सभ्यताको थालनी स्वरुप पूर्ण सरसफाईको अभियानलाई समेत सँगै हाँकिरहनुभएको छ । साप्सुखोला-मानेभन्ज्याङ-पाँचधारे सडक, बाँझेच्यानडाँडा-रतन्छा-मानेभन्ज्याङ सडक, कात्तिके-सोस्तुङ-रतन्छा नैनेपाटी सडक लगायत पालिकाभित्रका बजार, पार्क, कार्यालय र सार्वजनिक स्थलहरुको सरसफाई गर्नुका साथै उक्त स्थानहरुमा विभिन्न प्रजातिका बोटविरुवाहरु रोप्ने कार्य अध्यक्ष राईको नेतृत्वमा भई नै रहेको छ । अध्यक्ष राईको नेतृत्वमा भएका यावत गतिविधिहरु प्रत्यक्ष अवलोकन गर्न हामी जो कोहीले सकिन्छ ।
यसैबीच, हिजो शुक्रबार साकेला गाउँपालिका-३ खिदिमास्थित बोपुङका स्थानीय नागरिकहरुको सक्रियतामा मानेभन्ज्याङदेखि बोपुङहुँदै भाङटार जाने सडक सरसफाई गरिएको छ । करीव ३५ जना स्थानीय नागरिक र कर्मचारीहरुको समूहले सडक सरसफाई गर्नुका साथै वर्षाका कारण भएको खाल्डाखुल्डी पुर्ने, भित्ता सफा गर्ने, नालीको उचित व्यवस्थापन गर्ने कार्य गरिएको छ । लगातारको वर्षाका कारण सडक बिग्रिएर सवारी साधन आवत जावतमानै समस्या देखिएपछि शनिबारदेखि रतन्छा खण्डको सडक सरसफाई र मर्मत गर्न सुरु गरिएको छ । गाउँपालिकाले स्थापना गरेको आकस्मिक पूर्वाधार सेवाको नीति अनुरुप पालिकाबासी नागरिकलाई सेवा उपलब्ध गराउनका लागि निरन्तर प्रयासरत रहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभएको छ ।
प्रतिक्रिया