साकेला- खोटाङको साकेला गाउँपालिकालाई कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य समाग्री उपलब्ध गराईएको छ । गाउँपालिकामा सञ्चालित पाँच शैंयाको साकेला आधारभूत अस्पतालको लागि आवश्यक स्वास्थ्य उपकरण सहित स्वास्थ्य समाग्री मन्त्रालयको तर्फबाट गाउँपालिकालाई शुक्रबार प्रदान गरिएको हो । कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री भुपेन्द्र राईको सचिवालयको टोली आफैले ल्याएको करीव १३ लाख रुपैंया बराबरको स्वास्थ्य उपकरण सहितको समाग्री गाउँपालिकालाई हस्तान्तरण गरिएको हो ।
स्वकीय सचिव अनिता राई र इन्दिरा दाहालको टोलीले स्वास्थ्य उपकरण र स्वास्थ्य समाग्री गाउँपालिकालाई प्रदान गर्नुभयो । वर्षादको समयमा मन्त्रालय सम्म पुगेर स्वास्थ्य समाग्री बुझ्न पालिकालाई समस्या हुने भएकाले मन्त्रालयको टोली आफै गाउँपालिका सम्म आएर समाग्री हस्तान्तरण गरिएको स्वकीय सचिव अनिता राईले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत हस्तान्तरण गरिएको समाग्रीहरुमा नेबुलाईजर मेसिन दश थान, डेलिभरी बेड एक थान, बायोकेमिकल परीक्षण गर्ने अर्ध स्वचालित प्रयोगशाला मेसिन एक थान, इसिजी मेसिन एक थान, अल्ट्रासाउण्ड मेसिन एक थान, अक्सिजन कन्ट्रोलर दुई थान, पल्स अक्सोमिटर दुई थान, पेरि लाईट एक थान र डेलिभरी सेट एक थान रहेका छन् ।
प्रतिक्रिया