भाद्र २८, २०८२ शनिबार

एक किलोमिटर सडक श्रमदान मार्फत सफाई

साकेला- श्रमदानलाई विकास र समृद्धिको प्रमुख आधार मान्दै आएको साकेला गाउँपालिकाले आज शुक्रबार पनि सरसफाईको कामलाई निरन्तरता दिएको छ । प्रत्येक हप्ताको शुक्रबार सरसफाईलाई प्रमुख प्राथमिकता दिएर सडक, बजार, पार्क, विभिन्न कार्यालय, सार्वजनिकस्थल सरसफाईको नीति अघि सारेको गाउँपालिकाले आज मानेभन्ज्याङ-साप्सुखोला सडक अन्तर्गत करीव एक किलोमिटर सडक श्रमदान मार्फत सरसफाई गरेको हो ।

गाउँपालिकाको पूर्ण सरसफाई कार्यक्रमका संयोजक सगुन बस्नेतको नेतृत्वमा खटिएको कर्मचारी, प्रहरी, स्थानीय बजारबासी नागरिकहरुले उक्त सडक खण्डको तामाङचौकदेखि देउराली बरसम्मको सडकको नाली, झाडी सफा गरेको छ । वर्षादका कारण नाली थुनिएको, झोरझाडी पलाएको कारण सडकको सुन्दरतानै हराउँदै गएपछि पालिकाले विभिन्न सडकहरुको नियमित सरसफाई र मर्मत गर्दै आएको छ । निरन्तरको श्रमदान अभियानले पालिकाको भौतिक र सामाजिक विकासमा टेवा पुग्दै आएको गाउँपालिका प्रमुख रवि प्रकाश राईले जानकारी दिनुभयो । समृद्धिको आधार तय गरि पालिकालाई सुन्दर र सभ्य बनाउन श्रमदानको माध्यमद्वारा योगदान गर्नुहुने सबैलाई गाउँपालिका प्रमुख राईले धन्यवाद ज्ञापन गर्नुभयो । सरसफाई र मर्मत गर्न आवश्यक पर्ने पालिकाभित्रका सम्पूर्ण सडकहरु श्रमदान मार्फत नै सम्पन्न गरिने प्रमुख राईको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया