साकेला- साकेला गाउँपालिका-४ मात्तिममा गठीत अपाङ्गता भएका व्यक्ति तथा उनिहरुको परिवारका सदस्य आवद्व भएको मिलिजुली समूहलाई गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले १५ हजार रुपैंया सहयोग गर्ने प्रतिवद्वता जनाउनुभएको छ । आफूले प्राप्त गर्दै आएको सेवा सुविधाबाट समूहको कोषमा जम्मा हुनेगरी उक्त रकम प्रदान गर्ने अध्यक्ष राईले बताउनुभएको हो ।
अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका नागरिकहरुलाई सहायक समाग्री वितरण गर्ने क्रममा अध्यक्ष राईले सो घोषणा गर्नुभएको हो । यसअघि वडा नम्बर २ रतन्छा र वडा नम्बर ३ खिदिमामा गठन गरिएको मिलिजुली समूहलाई समेत अध्यक्ष राईले प्रति समूह १५ हजार रुपैंयाको दरले सहयोग उपलब्ध गराउने घोषणा गर्नुभएको छ । यसरी उपलब्ध गराईएको सहयोग रकम मिलिजुली समूहको कोषमा जम्मा भई अपाङ्गता भएका व्यक्ति तथा परिवारको जीविकोपार्जनका लागि आयआर्जन सुधार गर्न लगानी गरिने उद्देश्य राखिएको छ ।
आईतबार अध्यक्ष राईले वडा नम्बर ४ मात्तिमका अपाङ्गता भएका नागरिकहरुलाई (छडी) लाठ्ठी, श्रवणयन्त्र र हिँडडुल गर्न प्रयोग हुने कुईनो वैशाखी र ह्वीलचेयर समेत वितरण गर्नुभएको छ । सबै प्रकारका नागरिकहरुको सहजताका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको पालिकाले वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त सहायक समाग्रीहरु वितरण गरिएको हो । बाँकी अन्य दुईवटा वडाहरुमा पनि केहीदिनभित्रै कार्यक्रमको आयोजना गरि सहायक समाग्री वितरण गरिने बताईएको छ ।
साकेला गाउँपालिकामा गत २०८० माघ १ गतेदेखि सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन हुँदै आएको छ । साकेला गाउँपालिकामा उक्त कार्यक्रम २०८३ पौष मसान्तसम्म सञ्चालन हुनेछ भने त्यसपछि गाउँपालिका आफैले कार्यक्रमलाई निरन्तरता दिएर लगिने अध्यक्ष राईले बताउनुभएको छ ।
कार्यक्रमले गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष राईको भनाई छ । नागरिकलाई परेको समस्याप्रति साकेला सरकार पूर्णरूपमा संवेदनशील छ, अध्यक्ष राईले भन्नुभयो, ‘गाउँपालिकावासी नागरिकको समस्या समाधान गर्न स्थानीय सरकारले गर्ने सबै काममा कमी आउन दिइनेछैन।’ गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्ति र परिवारका लागि थप कार्यक्रम पनि विस्तार गर्दै लाने प्रतिबद्धता अध्यक्ष राईले व्यक्त गर्नुभयो ।
प्रतिक्रिया