साकेला- राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडि लोकमार्गको सेखुवा-झगरपुर-चखेवा सडक खण्ड श्रमदान जुटाएर मर्मत गर्ने कार्य आजवाट प्रारम्भ भएको छ । साकेला गाउँपालिकाको वडा नम्बर १ मा पर्ने करीव दश किलोमिटर उक्त सडक गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अगुवाईमा मर्मत कार्य सुरु गरिएको हो ।
लामो समय बितिसक्दा पनि सडक मर्मतमा केन्द्र सरकारले चासो नदेखाउँदा उक्त सडकमा दैनिक यात्रा गर्ने हजारौं यात्रु तथा सवारी साधनले सास्ती खेप्दै आएका छन् । केही समयदेखि लगातार परेको वर्षादका कारण उक्त सडक खण्डमा हिलाम्मे भएर सवारी साधन आवतजावतमा समस्या हुँदै आएको आईरहेको छ । यस सडक हुँदै पूर्वी जिल्ला तथा राजधानी काठमाडौ आवत जावत गर्ने यात्रुहरुले सास्ती भोग्दै आएपछि पालिका आफैले श्रमदान जुटाएर मर्मत कार्य सुरु गरेको हो ।
यात्रुहरुको सहजताका लागि गाउँपालिका अध्यक्ष राईको अगुवाईमा आज पहिलो दिन निर्वाचित जनप्रतिनिधि, शिक्षक, कर्मचारी, स्थानीयबासी सहित करीव ७० जनाको उपस्थितिमा श्रमदान मार्फत करीव एक किलोमिटर सडक मर्मत गरिएको छ ।
चाडवाड नजिकिँदै गर्दा यस सडक हुँदै यात्रा गर्ने यात्रुहरुलाई सहजता दिलाउन आजैबाट श्रमदान मार्फत सडक मर्मत सुरु गरिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभएको छ । अफ्टेरो सडकका कारण यात्रा गर्न असहज हुने स्थानहरुमा मर्मत गरि सवारी आवतजावतमा सहजता प्रदान गरिने उहाँले बताउनुभएको छ । सडक मर्मतका लागि गाउँपालिकाको तर्फबाट दुईवटा ट्याक्टर र मध्यपहाडि आयोजनाको दुई वटा जेसिवि र स्काभेटर मेसिन परिचालन गरिएको छ ।
साकेला गाउँपालिकाले वर्षादका कारण बिग्रिएर यातायातका साधन आवत जावतमा समस्या हुँदै आएको पालिकाभित्रका मुख्य तथा सहायक सडकहरु निरन्तर मर्मत र सरसफाई गरि आवगमनलाई सहजता प्रदान गर्दै आईरहेको छ । त्यसका लागि गाउँपालिकाले स्थापना गरेको आकस्मिक पूर्वाधार सेवा मार्फत जनशक्ति र साधन जुटाएर सडक मर्मतको कार्य गर्दै आईरहेको छ । पालिकाले सञ्चालन गर्ने श्रमदान अभियानमा स्थानीय नागरिकहरु स्वस्फूर्त रुपमा जागरुक भएर साथ दिईरहेका छन् ।
प्रतिक्रिया