साकेला- जेष्ठ नागरिक तथा अशक्त र अपाङ्गता भएका लाभग्राहीहरुलाई लक्षित गरि सञ्चालन गरिएको दशैँ (चाडवाड) लक्षित सामाजिक सुरक्षा भत्ता वितरण शिविरबाट एक करोड बढी रकम वितरण गरिएको छ । खोटाङको साकेला गाउँपालिकाले वडा वडामा शिविर सञ्चालन गरी सामाजिक सुरक्षा भत्ताको प्रथम त्रैमासिक रकम वितरण सम्पन्न गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता चाडबाडलाई लक्षित गरि गत आईतबारदेखि वितरण सुरु गरेको थियो। पाँच वटा वडा रहेको गाउँपालिकाले शिविर मार्फत कूल १ करोड १ लाख ६३ हजार रुपैंया शिविर मार्फत लाभग्राहीलाई वितरण गरेको छ ।
बैङ्किङ प्रणाली मार्फत त्रैमासिक रुपमा वितरण गर्नुपर्ने भत्ता पहिलादेखि नै वडा वडा पुगेर वितरण गर्दै आएको गाउँपालिकाले यो प्रथम त्रैमासिकको भत्ता पनि वडामै पुगेर बाँडेको थियो । शिविर मार्फत वडा नम्बर ५ मात्तिमबिर्ताका ११४ जना लाभग्राहीको लागि १८ लाख ८८ हजार रुपैंया र वडा नम्बर ४ का ७९ जना लाभग्राहीको लागि १२ लाख ५९ हजार रुपैंया भत्ता वितरण गरिएको थियो । त्यस्तै वडा नम्बर ३ खिदिमाका ८८ जना लाभग्राहीको लागि १३ लाख ३७ हजार, वडा नम्बर २ रतन्छाका १२३ जना लाभग्राहीको लागि १८ लाख ५८ हजार रुपैंया र वडा नम्बर १ बाँझे च्यानडाँडाका १७८ जना लाभग्राहीको लागि ३८ लाख २१ हजार रुपैंया सामाजिक सुरक्षा भत्ता वितरण गरिएको गाउँपालिकास्थित सामाजिक सुरक्षा शाखाका संयोजक डिएम चाम्लिङ राईले जानकारी दिनुभयो । यता नेपाल एसबिआई बैंकको मानेभन्ज्याङ शाखाबाट समेत सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको उक्त बैंकका प्रबन्धक प्रविन बस्नेतले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईले भौगोलिक विकटता र शारीरिक अशक्तताका कारण बैंक सम्म आएर भत्ता लिन नागरिकलाई असहज परिस्थिती हुने भएपछि लाभग्राहीलाई झण्झट र दुःख नहोस् भनेर घर पायक पर्ने गरी शिविर राखेर भत्ता वितरण गरिएको बताउनुभयो । वडामा सञ्चालित शिविरमा गाउँपालिका स्थित सामाजिक सुरक्षा शाखा, नेपाल एसबिआई बैंक र नेपाल प्रहरीको संयुक्त टोली खटाएर भत्ता वितरण गर्न सुरु गरिएको अध्यक्ष राईले बताउनुभयो ।
वृद्ध वृद्धाहरू हिँडडुल गर्न नसक्ने, गाउँपालिका केन्द्रमा रहेको बैंक आउन खर्च र शारीरिक कष्ट हुने तथा अशक्त र अपाङ्गतालाई थप गाह्रो नहोस् भनेर वडामै शिविर राखेर भत्ता बाँडेको अध्यक्ष राई बताउनुहुन्छ । जनप्रतिनिधि भनेको जनताको सेवक र अभिभावकसमेत भएको र अझ ज्येष्ठ नागरिक र शारीरिक रुपमा अशक्तहरूलाई सहज सेवा दिन शिविर सञ्चालन गर्ने गरिएको उहाँको भनाई छ । जनतालाई सहज रुपमा सरकारी सेवाको पहुँच पुर्याउन कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले हिँडडुल गर्नै नसक्ने कतिपय अशक्तहरूलाई बैंक र गाउँपालिका कर्मचारीलाई घरघर खटाएर समेत बैंङ्किङ सुविधा प्रदान गर्दै आईएको अध्यक्ष राईको भनाई छ ।
गाउँपालिका र नेपाल एसबिआई बैंकको संयुक्त आयोजनामा गत आईतबारदेखि सञ्चालन गरिएको शिविर बिहीबार समापन भएको हो । साकेला गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा एक हजार तीन सय २९ जना लाभग्राही भत्ता प्राप्त गर्न योग्य छन् । उनिहरुको लागि गाउँपालिकाले एक करोड ३४ लाख ५७ हजार रुपैंया निकासा गरेको गाउँपालिकाका लेखापाल उत्तम आचार्यले जानकारी दिनुभयो । शिविरस्थलमा उपस्थित भएर भत्ता बुझ्न नसक्ने लाभग्राहीहरूको लागि भने नेपाल एसबिआई बैंकको देशभरका जुनसुकै शाखाबाट पनि भत्ता लिन सक्ने व्यवस्था मिलाईएको छ ।
प्रतिक्रिया