असोज २८, २०८२ मंगलबार

मानेभन्ज्याङका होटल र पसलमा कडाई

साकेला- आउँदै गरेको चाडपर्वलाई लक्षित गरि खोटाङको साकेला गाउँपालिकाले शुक्रबार मानेभन्ज्याङ बजारमा व्यापक बजार अनुगमन गरेको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईको संयोजकत्वमा प्रहरी, कर्मचारी र सम्बन्धित सरोकारवाला व्यक्तिहरुद्वारा गरिएको अनुगमन टोलीले बजारका होटल र किराना पसल गर्ने व्यवसायीलाई लक्षित गरेर अनुगमन गरेको थियो ।

अनुगमन टोलीले मानेभन्ज्याङका पाँच वटा किराना पसल, तीन वटा कस्मेटिक पसल र सात वटा होटलको अनुगमन गरेको हो । अनुगमन टोलीले म्याद गुज्रिएका ५५ वटा पेप्सी, १३४ वटा डिउ, ५ पिस चिप्स, ४०० पिस ललिपप, ४२ थान साबुन, ५ बोतल भेनेगर जफत गरेर नष्ट गरेको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तु, मूल्यसूची नटाँसिएका पसल तथा सरसफाइमा ध्यान नदिएका व्यवसायीलाई सचेत गराइएको छ । पसल दर्ता अनिवार्य गरेर होर्डिङ बोर्ड र मूल्य सूची राख्न समेत सुझाव प्रदान गरिएको अनुगमन टोलीका सदस्य एवम स्वास्थ्य शाखा संयोजक कमल फुयालले बताउनुभयो । गाउँपालिकाले बजार व्यवस्थापनमा कानूनको पालना गर्न र नगर्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐनले दिएको अधिकार प्रयोग गरि आवश्यक कानूनी कारबाही गरिने अनुगमन टोलीले जनाएको छ ।

नागरिकलाई सुरक्षित र गुणस्तरीय सामान उपलब्ध गराउने गाउँपालिकाको प्रमुख उद्देश्य भएको बताउनुहुँदै निमित्त प्रमुख प्रशासकीय राईले उपभोक्ता संरक्षण हितको लागि आगामी दिनमा अझ कडाइ गरिने बताउनुभयो ।

अनुगमन टोलीमा निमित्त प्रमुख प्रशासकीय अधिकृत राई सहित उद्योग वाणिज्य संघका अध्यक्ष जग बहादुर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख कमल प्रसाद फुयाल, इलाका प्रहरी कार्यालय मात्तिमबिर्ताका प्रहरी नायव निरिक्षक फाईदल सिं लिम्वु, सिनियर अहेव राजकुमार दाहाल, पूर्ण सरसफाई कार्यक्रम संयोजक सगुन बस्नेत, सव-इन्जिनियर धिरेन्द्र घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया