साकेला- लगातारको वर्षाका कारण साकेला गाउँपालिकाभित्रका मुख्य तथा सहायक सडकमा क्षति भएको छ । माथिबाट झरेको पहिरोले नाली थुनिएपछि अधिकांश सडकमा क्षति पुगेको हो । गत शनिबार र आईतबार परेको लगातारको वर्षाका कारण साप्सुखोला-मानेभन्ज्याङ-पाँचधारे सडकमा बढी क्षति भएको गाउँपालिकाले जनाएको छ । उक्त सडकको डिगेम्पाडाँडा, चुम्लुङ, कात्तिके लगायतका स्थानमा झरेको पहिरो र नालीबाट बगेको पानीले ग्याविन जाली बगाएको तथा सडकको ग्राभेल बिगारेर ठूलो क्षति पुर्याएको छ ।
त्यस्तै मानेभन्ज्याङ-पुङमा सडक, मानेभन्ज्याङ-तावाभन्ज्याङ सडक, मानेभन्ज्याङ-रतन्छा सडक, कात्तिके-सोस्तुङ-नैनेपाटी सडक लगायत शाखा सडकहरुमा स-साना पहिरोका कारण सडक अवरुद्व बनेको पालिकाले जनाएको छ । अवरुद्ध बनेको सडक खुलाउने प्रयत्नमा गाउँपालिका लागि परेको छ भने पालिकाभित्र अन्यस्थानमा के कति क्षति भयो भनेर क्षतिको विवरण संकलन गर्ने कार्य भईरहेको गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले जानकारी दिनुभयो । अवरुद्व बनेको सडकहरु तत्काल खुलाई आवतजावतमा सहजता ल्याउने प्रयास भईरहेको अध्यक्ष राईले बताउनुभयो ।
अहिले उक्त सडकहरुमा चारपाङ्ग्रे सवारी साधन पूर्ण रुपमा बन्द छ भने मोटरसाईकलहरुमात्र वारपार भईरहेको बताईएको छ । त्यसैगरी लगातारको झरीवर्षापछि गाउँपालिकामा ११ घरमा क्षति पुगेको तथ्याङ्क आएको छ । क्षतिको विवरण आउन बाँकी रहेकाले कहाँ-के कति भौतिक क्षति भयो भन्ने विषयमा यकिन हुन बाँकी रहेको जनाईएको छ । वर्षाका कारण नियमित विद्युत नहुँदा पालिकाभित्र भएका क्षतिको विवरण संकलनमा सञ्चार समस्या भएको र गाउँपालिकाको तर्फबाट तथ्याङक लिने कार्य भईरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्ग बहादुर राईले जानकारी दिनुभयो ।
हेर्नुहोस तथ्याङकमा क्षतिको विवरण
प्रतिक्रिया