असोज २८, २०८२ मंगलबार

गाउँपालिका अध्यक्ष राईद्वारा भलिवल प्रतियोगिताको उद्घाटन (फोटो फिचर)

साकेला- खोटाङको खिदिमास्थित बोपुङमा साविकको वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । आज बिहीबार साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो । स्थानीय पृथ्वी युवा सङ्गठन बोपुङ खिदिमाको आयोजनामा दशै-तिहार लक्षित प्रतियोगिता सुरु भएको हो ।

३७ वटा टिम सहभागि हुने जनाईएको उक्त प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्नुहुँदै गाउँपालिका प्रमुख राईले पालिकालाई समृद्ध बनाउने दायित्व सबै नागरिकको भएको बताउनुहुँदै आ-आफ्नो दायित्व निर्वाह गर्नसके समृद्ध पालिका बन्न धेरै समय नलाग्ने बताउनुभयो ।

समृद्ध पालिका निर्माणका लागि सरकारले चाहेर मात्र हुँदैन, उहाँले भन्नुभयो हरेक नागरिकले हरेक क्षेत्रबाट पालिकाको विकासका लागि प्रयत्न गर्नुपर्छ । विभिन्न प्रकारका खेलकुदको माध्यमद्वारा पालिकाको समग्र विकास गर्ने तर्फ स्थानीय सरकार गम्भीर भएर लागि परिरहेको र यस क्षेत्रको विकासका लागि संस्थागत रुपमा एकेडेमी नै स्थापना गरेर खेल क्षेत्रलाई अघि बढाईने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष बिर्सिका राई, पूर्व वडाअध्यक्ष कृष्णप्रसाद भट्टराई, नेपाली काँग्रेसका प्रतिनिधि शुक्र तामाङ, वाईसिएल नेपालका साकेला संयोजक देवराज तामाङ, शिक्षक समराज राई लगायतले खेलको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रतियोगिता शनिबारसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजयी प्रथम, द्धितीय र तृतीय हुनेले क्रमश ३० हजार, २० हजार र १५ हजार रुपैंयाको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष हरि कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच, उद्घाटन समारोहको अवसरमा आयोजक र अतिथिबीच भएको भलिवल प्रतियोगितामा अतिथि समूह विजयी भएर भाले उपहार प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया