
दिक्तेल- साकेला गाउँपालिका खोटाङका अध्यक्ष रवि प्रकाश राईले शनिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयले सञ्चालन गरेको ऐतिहाँसिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी जनाउनुभएको छ । उक्त नगरपालिकाको वडा नम्बर ५ मा अवस्थित श्री माध्यमिक विद्यालय मझुवा लफ्याङले आफ्नो ६५औं वार्षिक उत्सव तथा १४औं अक्षयकोष दिवसको अवसरमा आयोजित विविध कार्यक्रम समापन समारोहमा साकेला गाउँपालिका अध्यक्ष राई प्रमुख अतिथिको रुपमा उपस्थित भएर विद्यालयको उज्वल भविष्यको शुभकामना दिनुभयो । सो विद्यालयका पूर्व विद्यार्थी समेत रहनुभएका अध्यक्ष राईले शिक्षा क्षेत्रलाई समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रूपमा व्याख्या गर्दै उहाँले गुणस्तरीय, व्यवहारिक र नैतिक शिक्षाका लागि सबै तह जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

अध्यक्ष राईले हाल देशभर देखिएका शैक्षिक असमानता, स्रोत–साधनको अभाव र शिक्षामा घट्दो आकर्षणलाई मुख्य चुनौतीका रूपमा चित्रण गर्दै विद्यालयहरूलाई केवल प्रमाणपत्र वितरण गर्ने संस्थामा सीमित गर्न नहुने बताउनुभयो । समृद्ध देश निर्माणको पहिलो आधार नैतिक र व्यवहारिक शिक्षा अनिवार्य भएको उल्लेख गर्नुहुँदै उहाँले शिशुकक्षादेखिनै नैतिक शिक्षाको सुरुवात गर्नुपर्ने बताउनुभयो । योजना, दक्ष जनशक्ति र प्रविधिको समुचित प्रयोग भएमा स्थानीय तहबाटै शिक्षा क्षेत्रमा आमूल परिवर्तन सम्भव हुने उल्लेख गर्दै अध्यक्ष राईले गाउँपालिकाले आफूले गर्न सक्ने सबै प्रकारको सहयोग विद्यालयलाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैबीच, वार्षिकोत्सवको अवसरमा विद्यालयद्वारा आयोजित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगितामा दोर्पा बुवालुङ विजेता बनेको छ । प्रतियोगिताको फाईनलमा नेर्पामाथि शानदार जित निकाल्दै बुवालुङ विजेता बनेको हो । सुरुवातदेखी नै नेर्पालाई दबाबमा राखेर खेलेको बुवालुङले पहिलो, तेश्रो र चौथो सेट जित्दा नेर्पाले एक सेट मात्रै जितेको थियो । विजेता बनेको बुवालुङले नगद २५ हजार र उपविजेता नेर्पाले १५ हजारसहित ट्रफि हात पारेको छ ।

विजेता र उपविजेतालाई प्रमुख अतिथिको रुपमा साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राई, लफ्याङका वडाध्यक्ष दिनेशकुमार घिमिरे र विद्यालय व्यवस्थापन समिति अध्यक्ष काजीमान राईले पुरस्कार वितरण गर्नुभएको थियो। भलिबल प्रतियोगितामा ११ टिमले सहभागिता जनाएको थियो।

यस्तै, नगरपालिका मावि स्तरीय खुल्ला नृत्य प्रतियोगितामा माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका सुजता राई प्रथम, पञ्च मावि दिक्तेलका प्रतीक आचार्य दोश्रो र सरस्वती मावि पाथेकाकी अनिता सार्की तेश्रो भईन्। निर्णायक अन्योल राई, रशा प्रधान र सुमन खड्काको निर्णय अनुसार नृत्यमा विजेता भएका उनीहरुले क्रमशः १० हजार, ७ हजार र ५ हजारसहित ट्रफी र मेडल प्राप्त गरेका छन् । नृत्य प्रतियोगितामा १५ वटा विद्यालयले सहभागिता जनाएको थियो।

यसैगरी, वार्षिक उत्सवकै अवसरमा स्वर्गीय बुवा नरबहादुर कटवाल र स्वर्गीय आमा विष्णुमाया कटवालको स्मृतिमा छोरा नरेश कट्वालले ५१ हजार १०१ रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको छ । योसँगै उक्त विद्यालयमा अक्षयकोष १६ वटा पुगेको छ । अक्षयकोषको कूल पुजी २२ लाख बढी पुगेको प्रधानाध्यापक ज्ञानेन्द्रकुमार राईले बताउनुभयो । बिहीबारदेखी सुरु भएको वार्षिक उत्सव विधार्थीहरुलाई विधागत पुरस्कार वितरण, अक्षयकोषका संरक्षक लगायतलाई सम्मान गर्दै सम्पन्न भएको छ ।
प्रतिक्रिया