
साकेला-साकेला गाउँपालिका खोटाङका अध्यक्ष रवि प्रकाश राईले देशको वर्तमान अवस्थाबारे चिन्तन गर्नुहुँदै स्वार्थ केन्द्रीत सोँच भएका नेतृत्वका कारण देश जटिल अवस्थामा फस्न पुगेको टिप्पणी गर्नुभयो । साकेला माध्यमिक विद्यालय मात्तिमबिर्ताको ७१औं वार्षिकोत्सव समारोहमा प्रमुख अतिथिको रुपमा आफ्नो भनाई राख्नुहुँदै अध्यक्ष राईले देशको अवस्थाबारे तथ्यलाई ध्यानमा राखेर सो कुरा इंगित गर्नुभएको हो ।

आज देशले सामना गरिरहनु परिरहेको जटिल अवस्था बाह्य कारण मात्र होइन, हामीभित्रै बसेको स्वार्थकेन्द्रित सोचका कारण पनि हो, उहाँले भन्न्भयो देशको बारेमा सोच्नुपर्ने बेला अरूलाई सिध्याउन खोज्ने प्रवृत्ति बढ्दै जाँदा देश यस्तो दुर्दशामा पुगेको हो। परिवर्तनको आवाज धेरै उठे पनि सोच, व्यवहार र नेतृत्वमा रूपान्तरण आउन नसक्दा राष्ट्र अपेक्षित गतिमा अघि बढ्न सकेको छैन । सबैपक्ष मिलेर देशलाई माथि उठाउन प्रयत्न गर्नुपर्ने अध्यक्ष राईको भनाई छ ।

सरस्वती माध्यमिक विद्यालयले शनिबार आयोजना गरेको वार्षिकोत्सव समारोह सँगै पहार ट्रष्ट नेपालको साझेदारीमा विद्यालयमा स्थापना गरिएको सरस्वती पुस्तकालय उद्घाटन र अक्षयकोषको छात्रवृत्ति रकम वितरण कार्यक्रम समेत सञ्चालन गरेको छ ।
सो अवसरमा अध्यक्ष राईले शिक्षा समृद्धिको जग र चेतनाको मुहान भएको स्पष्ट पार्दै, अहिलेको शिक्षा प्रणालीमा गुणस्तरीय, व्यवहारिक र नैतिक शिक्षाको अत्यावश्यकता रहेको उल्लेख गर्नुभयो। उहाँका अनुसार नैतिकता विहीन शिक्षाले व्यक्तिमा चरित्र निर्माण गर्न सक्दैन र समाजलाई सही दिशामा अघि बढाउन पनि असफल हुन्छ। त्यसैले विद्यालयदेखि परिवार र समाज सबैले मिलेर नैतिकताको जरा बलियो बनाउनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश कुमार राईको अध्यक्षतामा सञ्चालन भएको वार्षिकोत्सव कार्यक्रममा साकेला गाउँपालिकाकी पूर्व उपाध्यक्ष सरीता खड्का, साकेला गाउँपालिकाका प्रवत्ता तथा ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्री, ३ नम्बर वडाका वडाध्यक्ष गोविन्द तामाङ, पहार ट्रष्ट नेपालका अध्यक्ष बिजुली बहादुर गुरुङ लगायत निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, स्थानीयबासी नागरिकहरुको उपस्थिती रहेको थियो । विद्यालयकी प्रधानाध्यापक सितल राईले विद्यालयको वार्षिक प्रतिवेदन समारोहमा पेश गर्नुभएको थियो ।

यसैबीच, वार्षिकोत्सव समारोहको अवसरमा विद्यालयले विद्यार्थी केन्द्रीत एकल नृत्य, म्युजिकल चेयर र इनआउट जस्ता इभेन्टमा प्रतियोगितात्मक गतिविधि सञ्चालन गरेको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने छात्रछात्रालाई मायाको चिनो सहित सहभागि विद्यालयहरुलाई सम्मानपत्र प्रदान गरिएको उक्त विद्यालयकी प्रधानाध्यापक सितल राईले जानकारी दिनुभयो ।


प्रतिक्रिया