
साकेला- अपाङ्गता भएका नागरिकहरूलाई आत्मनिर्भर र सक्षम बनाउने उद्देश्यले साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले वडा नम्बर ५ मात्तिमबिर्तामा गठीत मिलीजुली समूहलाई १५ हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । ३४औं अपाङ्गता दिवसको अवसरमा आज बुधबार अपाङ्गता भएका नागरिकहरुलाई विभिन्न सहायता समाग्री वितरण गर्न आयोजित कार्यक्रमको अवसरमा अध्यक्ष राईले आफूले प्राप्त गर्दै आएको सेवासुविधाबाट उक्त रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका नागरिकहरुलाई सहायक समाग्री वितरण गर्ने क्रममा अध्यक्ष राईले सो घोषणा गर्नुभएको हो । यसअघि वडा नम्बर २ रतन्छा, वडा नम्बर ३ खिदिमा र वडा नम्बर ४ मातिमामा गठन गरिएको मिलिजुली समूहलाई समेत प्रति समूह १५ हजार रुपैंयाको दरले सहयोग उपलब्ध गराउने घोषणा गरिसक्नुभएको छ । यसरी उपलब्ध गराईएको सहयोग रकम मिलिजुली समूहको कोषमा जम्मा भई अपाङ्गता भएका व्यक्ति तथा परिवारको जीविकोपार्जनका लागि आयआर्जन सुधार गर्न लगानी गरिने उद्देश्य समूहले राखेको छ ।
सोही अवसरमा अध्यक्ष राईले अपाङ्गता भएका नागरिकहरुलाई (छडी) लाठ्ठी, श्रवणयन्त्र, हिँडडुल गर्न प्रयोग हुने कुईनो वैशाखी र ह्वीलचेयर समेत वितरण गर्नुभएको छ । अपाङ्गता भएका नागरिकहरुलाई लक्षित गरि सञ्चालन गरिएको यो कार्यक्रमले गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको अध्यक्ष राईको भनाई छ । नागरिकलाई परेको समस्याप्रति साकेला सरकार पूर्णरूपमा संवेदनशील छ, अध्यक्ष राईले भन्नुभयो, ‘गाउँपालिकावासी नागरिकको समस्या समाधान गर्न स्थानीय सरकारले गर्ने सबै काममा कमी आउन दिइनेछैन।’

अध्यक्ष राईले अपाङ्गता भएका नागरिकहरूप्रति राज्यको दृष्टिकोण अब दया वा रहरको भावनाबाट नभई अधिकारमा आधारित समावेशी शासनतर्फ मोडिनुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो। समाज तब मात्र सभ्य र संवेदनशील बन्छ जब राज्यका नीतिदेखि व्यवहारसम्म अपाङ्गता भएका नागरिकको मर्यादा, सम्मान र आत्म–विश्वासलाई केन्द्रमा राखिन्छ –अध्यक्ष राईको भनाई थियो ।
साकेला गाउँपालिकामा गत २०८० माघ १ गतेदेखि सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन हुँदै आएको छ । साकेला गाउँपालिकामा उक्त कार्यक्रम २०८३ पौष मसान्तसम्म सञ्चालन हुनेछ भने त्यसपछि गाउँपालिका आफैले कार्यक्रमलाई निरन्तरता दिएर लगिने अध्यक्ष राईले बताउनुभएको छ ।
प्रतिक्रिया