पुष ३, २०८२ बिहिबार

हिंसामुक्त समाज निर्माणमा सबै पक्ष एकजुट भएर लाग्नुपर्नेअध्यक्ष राईको भनाई

साकेला- “प्रविधिको सही सदुपयोग गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने मूल नाराका साथ साकेला गाउँपालिकाद्वारा आयोजना गरिएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापन भव्य कार्यक्रमका बिच सम्पन्न गरिएको छ । गाउँपालिका प्रमुख रवि प्रकाश राईको प्रमुख आथित्यता तथा उपाध्यक्ष बिर्सिका राईको सभापतित्वमा “लैङ्गिक हिंसा अन्त्यका लागि समाजको भूमिका” विषयक वकृत्त्वकला प्रतियोगिताको आयोजना गर्दै अभियानको समापन गरिएको हो ।

विभिन्न आमा समूहहरुको तर्फबाट प्रतियोगितामा सहभागि जनाएकाहरुमध्ये सुमार्ग महिला सशक्तिकरण समूहको तर्फबाट सारदा राई प्रथम, नवज्योति आमा समूहको तर्फबाट शोभा भुजेल दोश्रो, फूलबारी स्वास्थ्य आमा समूहको तर्फबाट दिपा तामाङ तेश्रो र अन्नपूर्ण आमा समूहको तर्फबाट लक्ष्मी खत्री सान्त्वना हुनुभयो । प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र सान्तवना हुने प्रतियोगीलाई पुरस्कार स्वरुप नगद क्रमश ६ हजार, ४ हजार, ३ हजार र २ हजार रुपैंयाको साथमा प्रमाणपत्र प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, सभापति उपाध्यक्ष बिर्सिका राई, विशेष अतिथि नेपाल सरकारका पूर्व उप-सचिव कृष्णबहादुर कटवाल र जिल्ला समन्वय समिति सदस्य कला राईले विजेताहरुलाई नगद र प्रमाणपत्र प्रदान गर्नुभयो ।

साकेला गाउँपालिकाको कार्यालयबाट प्रभातफेरी कार्यक्रम सुरु गरेर साकेला सभाहलमा पुगेर औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो । औपचारिक कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा वक्ताहरुले महिलामाथि हुने विभेद, हिंसा र सामाजिक कुरीति अन्त्यका लागि सरकार र नागरिक एकजुट भएर लागि पर्नुपर्ने सुझाव दिएका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राईले महिलामाथि हुने हिंसा केवल व्यक्तिगत समस्या नभई सामाजिक संरचनामा परिवर्तन हुन नसक्नुको प्रमुख कारण भएको औंल्याउनु भयो । सबै प्रकारको हिंसा अन्त्यका लागि व्यवहारबाट परिवर्तन ल्याउनु पर्ने र उक्त कुराहरु नैतिकताको बलबाट मात्र सम्भव हुने बताउनुभयो । उहाँले भन्नुभयो, लैङ्गिक हिंसा अन्त्यका लागि महिला सशक्तिकरणका कार्यक्रमहरूलाई अझ व्यावहारिक र प्रभावकारी बनाई यसको रोकथामका लागि सबै एकजुट हुन आवश्यक छ। महिला हिंसा अन्त्यका लागि राज्य, समाज र परिवार सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै, हिंसामुक्त समाज निर्माणमा सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने अध्यक्ष राईको भनाई छ ।

उपाध्यक्ष बिर्सिका राईले हिंसा सहने होइन, उजागर गर्ने संस्कृतिको विकास आवश्यक भएको औंल्याउनु हुँदै गाउँपालिकाले प्रत्येक वडामा महिला–मैत्री सेवा, परामर्श कक्ष तथा जनचेतनामूलक गतिविधि निरन्तर रूपमा सञ्चालन गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सामाजिक कुरीति, घरेलु हिंसा, मानसिक अत्याचार लगायत प्रत्यक्ष तथा अप्रत्यक्ष किसिमका सबै हिंसा र विसङ्गतिको विरुद्धमा शसक्त भएर लागि पर्ने बताउनुभयो ।

नेपाल सरकारका पूर्व उप-सचिव कटवालले महिला हिंसाको मुख्य कारण पितृसत्तात्मक सोच, अशिक्षा, आर्थिक परनिर्भरता, सामाजिक–सांस्कृतिक कुप्रथा, मदिरा तथा लागूपदार्थको दुरुपयोग र कमजोर कानूनी कार्यान्वयनको अवस्था भएको बताउनुभयो । महिलालाई कमजोर र पुरुषलाई शक्तिशाली ठान्ने मानसिकताले हिंसालाई बढावा दिएको उहाँको भनाइ थियो।

समन्वय समिति सदस्य कला राईले महिला हिंसा आज पनि नेपाली समाजको गम्भीर सामाजिक समस्याका रूपमा विद्यमान भएको औंल्याउनुहुँदै घरेलु हिंसा, यौन हिंसा, मानसिक र आर्थिक हिंसा लगायतका घटनाले महिला अधिकार र मानव मर्यादामा ठेस पुर्‍याइरहेको र १६ दिने अभियानले दिएको चेतनालाई दैनिक व्यवहारमा लागू गर्दै हिंसामुक्त परिवार, विद्यालय र समुदाय निर्माणमा जुट्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा साकेला गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका वडा अध्यक्ष जीवन खत्री, पूर्व वडा अध्यक्ष उन्नत राई, नेपाली काँग्रेस नेतृ शान्तिकला राई, सरस्वती मावि मात्तिमका प्रअ सितल राई, शिक्षिका मनकुमारी राई लगायतले लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्षले खेल्नपर्ने भूमिकाको विषयमा आ-आफ्नो विचार प्रस्तुत गरेका थिए ।

किन मनाईन्छ लैङ्गिक हिंसा दिवस ?

सन् १९८० को दशकदेखि नै विभिन्न मुलुकले महिलामाथि हुने हिंसा विरुद्धको दिवस मनाउँदै आएको भए पनि सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि महिलामाथि हुने हिंसा विरुद्धको विभिन्न अभियान सुरु भएको पाइन्छ ।

नेपालमा यो दिवस सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिएता पनि वि.सं.२०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । यसैलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले सबै समुदायदेखि तहसम्म विभिन्न गतिविधि र कार्यक्रम गरी यो दिवस मनाउँन थालिएको हो ।

महिलामाथि हुने हिंसाविरुद्ध व्यापक जनचेतना जगाउने र समस्याको पहिचान गरी समाधानका लागि राज्यलाई कानुनी आधार तय गर्न सहकार्य गर्नु, लैङ्गिक हिंसा विरुद्ध पुरुषको सहकार्यलाई अभिवृद्धि गर्नु, लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रमा काम गर्ने अधिकारकर्मीबिच ऐक्यबद्धता गर्नु, लैङ्गिक हिंसाका विविध आयाममा रणनीतिक छलफल गर्नु १६ दिने अभियानका मुख्य उद्देश्य रहेका छन् ।

नोभेम्बर २५ देखि डिसेम्बर १० का बिचमा पर्ने अन्य दुई महत्त्वपूर्ण दिवसलाई पनि यही १६ दिने अभियानअन्तर्गत मनाउने गरिएको छ । जसमा डिसेम्बर १ एड्स दिवस र डिसेम्बर १० मा विश्व मानव अधिकार दिवस पर्दछन् । यस अभियानअन्तर्गत विश्वव्यापी रूपमै महिला हिंसासँग सम्बन्धित चरणबद्ध अन्तरक्रिया, सडक नाटक, पोष्टर तथा पम्प्लेट प्रतियोगिता, सार्वजनिक सुनुवाइ, सूचना÷शिक्षा सामग्रीको प्रदर्शन, सञ्चार अभियान, गोलमेच छलफललगायत कार्यक्रम गरी मनाउने गरिएको छ ।

नेपालको संविधानले लैङ्गिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । २१ औँ शताब्दीमा समेत महिलालाई हेर्ने विभेदपूर्ण दृष्टिकोण, सामाजिक मूल्यमान्यता र यसबाट सिर्जित हानिकारक परम्परागत अभ्यासका कारण महिलाको नेतृत्व स्वीकार हुने वातावरण बन्न सकेको छैन ।

महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव तथा हिंसाजस्ता जघन्य अपराधलाई राज्यले कानुनद्वारा दण्डनीय बनाएको छ । लैङ्गिक समानतालाई विकास र समृद्धिका सवालका रूपमा स्थापित नगरेसम्म देशमा दिगो विकास, समानता, शान्ति र समृद्धिको स्थापना हुन नसक्ने तथ्यलाई विश्वले आत्मसात् गरिसकेको छ । यसै सन्दर्भमा नेपाल सरकारले लैङ्गिक हिंसाको सम्बोधनका लागि नीतिगत, कानुनी व्यवस्थाका साथै विभिन्न अभियानमूलक र सचेतनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

ऐतिहासिक पक्ष

नोभेम्बर २५ लाई महिलामाथि हुने हिंसाविरुद्ध अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउनुका पछाडि यसको छुट्टै इतिहास छ । यो दिवसको सन्दर्भ डोमिनकन गणतन्त्रका एकै परिवारका तीन दिदीबहिनीको हत्यासँग जोडिएको छ । मिरावेल परिवारमा जन्मिएका यी तीन दिदीबहिनी राजनीतिक कार्यकर्ता थिए र तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा उनीहरूको निर्मम हत्या गरेको थियो ।

जसलाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ । पेट्रिया, मिनर्भा र मारिया नाम गरेका तीन दिदीबहिनी शिक्षित र सचेत थिए । यी दिदीबहिनी तत्कालीन त्रुजिलो तानासाहीको विरुद्धमा भएकाले तत्कालीन सरकारले तीन दिदीबहिनी र तिनका सबै परिवारलाई राज्यद्रोहको आरोप लगाएको थियो । यिनीहरू पटकपटक जेल परेका थिए । मिनर्भा चार पटकसम्म जेल परेकी थिइन् । जेलमा दिइने चरम यातानाका बाबजुद यी दिदीबहिनीले तानाशाही सरकारको विरोध गर्न छाडेका थिएनन् ।

यसै क्रममा सन् १९६० मा निरङ्कुश सरकारको विरोध सशक्त आन्दोलनमा उत्रिने उद्देश्यले डोमिनिकन गणराज्यको एउटा सहरमा विशाल भेलाको आयोजना गरिएको थियो । जुन भेलामा तिनै दिदीबहिनीले सम्बोधन गर्ने कार्यक्रम थियो । उक्त कार्यक्रममा राज्यको हस्तक्षेपका कारण सफल हुन सकेन र अन्ततः उनीहरू पक्राउ परे । सन् १९६० को सुरुआतमै त्यहाँको सरकारले यिनीहरूलाई मुलुकको ठुलो समस्याका रूपमा घोषणा गर्‍यो ।

यसरी घोषणा गरेको ११ महिनापछि नोभेम्बर २५ तारिखका दिन यिनीहरूको हत्या गरियो । यी दिदीबहिनीको हत्यालाई महिला विरुद्धको हिंसाका रूपमा लिइयो र यिनीहरूको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्न थालियो । डोमिनिकन गणराज्यका थुप्रै गीत, कविता र पुस्तक यी दिदीबहिनीको सम्झना र योगदानमा लेखिएका छन् ।

सन् १९९२ मा रुत्गर्स विश्वविद्यालयको महिलाहरूको भूमण्डलीय नेतृत्व केन्द्रले प्रायोजन गरी सञ्चालन गर्न थालेपछि यसले अन्तर्राष्ट्रिय अभियानको रूप लिएको हो । सन् १९९५ मा डोमिनिकन गणराज्य तथा अन्य ७४ सदस्य राष्ट्रले नोभेम्बर २५ लाई महिलाविरुद्ध हुने हिंसा उन्मूलन दिवसका रूपमा मनाउन संयुक्त राष्ट्रसङ्घमा पेस गरेको प्रस्ताव संयुक्त राष्ट्रसङ्घको महासभाबाट सोही वर्षको डिसेम्बर १७ का दिन सर्वसम्मत रूपमा पारित भएपछि संयुक्त राष्ट्रसङ्घीय प्रणालीका राष्ट्रहरू विश्वव्यापी रूपमा यो अभियानमा सहभागी हुँदै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घीय प्रणालीले यो दिवस मनाउने क्रममा महिलामाथि हुने हिंसा विरुद्ध जनचेतना जगाउने र समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि राज्यहरूलाई कानुनी आधार तय गर्न सहकार्य गर्दै आएको छ । मानव अधिकार नै महिला अधिकार हो भनी वकालत गर्दै संयुक्त राष्ट्रसङ्घीय प्रणालीले त्यसको कार्यान्वयनका लागिसमेत जोड दिँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया