पुष १४, २०८२ सोमबार

जनश्रमदानबाट विकासको उदाहरण, स्थानीयद्वारा खोलामा साँघु निर्माण

साकेला- साकेला गाउँपालिका वडा नम्बर ३ खिदिमास्थित बोरा टोल र मखमले टोलका स्थानीय नागरिकहरूले जनश्रमदानमार्फत काठको साँघु निर्माण गरी आवत–जावतलाई सहज बनाएका छन्। वर्षौंदेखि दैनिक आवागमनमा समस्या उत्पन्न गराउँदै आएको स्थानीय बोरा खोलामा करिब १५ मिटर लामो काठको साँघु निर्माण गरिएको हो।

उक्त खोलाका कारण विशेषगरी विद्यालय जाने विद्यार्थी, स्वास्थ्य सेवा लिन जाने नागरिक, वडा कार्यालय तथा गाउँपालिकाको केन्द्रसम्म पुग्नुपर्ने सेवाग्राहीहरू वर्षायाममा अत्यन्तै जोखिमपूर्ण यात्रामा बाध्य हुँदै आएका थिए। वर्षादको समयमा आउने भलबाढीले खोलाको बहाव तीव्र हुँदा पैदल हिँडडुलसमेत असम्भव जस्तै बन्दै आएको अवस्थामा स्थानीय नागरिकहरू आफैं अग्रसर भई समस्या समाधानतर्फ उन्मुख भएका हुन्।

स्थानीयको सक्रिय सहभागिता र आपसी सहकार्यमा सम्पन्न गरिएको उक्त साँघु निर्माण कार्यले समुदायभित्र विकासप्रति बढ्दो चेतना र आत्मनिर्भरता झल्काएको साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । सीमित स्रोतसाधनका बाबजुद पनि साझा समस्या समाधानका लागि स्थानीयवासीहरू एकजुट भई श्रमदानमा जुट्नुले “आफ्नो गाउँ आफैं बनाऔँ” भन्ने भावनालाई व्यवहारमा उतारेको उहाँको भनाई छ ।

वर्षेनी आउने भलबाढीका कारण यस क्षेत्रका बालबालिका, वृद्धवृद्धा, महिला तथा बिरामी नागरिकहरू सबैभन्दा बढी प्रभावित हुँदै आएका थिए। अब भने काठको साँघु निर्माणसँगै जोखिमपूर्ण यात्रा अन्त्य भई आवागमन सुरक्षित र सहज हुने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्। यसले शैक्षिक पहुँच, स्वास्थ्य सेवामा पहुँच तथा प्रशासनिक सेवा प्राप्तिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उक्त वडाका वडाध्यक्ष गोविन्द तामाङको भनाईछ।

स्थानीय नागरिकहरूले जनश्रमदानमार्फत गरिएको यस कार्यलाई समुदायको साझा उपलब्धिका रूपमा लिँदै आगामी दिनमा पनि यस्ता विकास निर्माण तथा सरसफाइका कामलाई वडा सरकारको तर्फबाट निरन्तरता दिईने अध्यक्ष तामाङको भनाई छ । साकेला गाउँपालिकाको श्रम साकेला अभियानको नीतिगत निर्णयसँग सहकार्य गर्दै नागरिकस्तरबाट गरिएको यो प्रयास साकेला गाउँपालिकामा सामुदायिक विकासको सशक्त उदाहरणका रूपमा स्थापित हुँदै गएको छ।

जनश्रमदान, सहकार्य र स्थानीय नेतृत्वको प्रभावकारी समन्वयबाट निर्माण भएको यो साँघुले स्थानीय विकासमा नागरिकको भूमिकालाई अझ मजबुत बनाउँदै साकेला गाउँपालिकाको समग्र विकास यात्रामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको पूर्ण सरसफाई कार्यक्रमका उत्प्रेरक नविन श्रेष्ठको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया