
साकेला- साकेला गाउँपालिकाको कात्तिके–पारुङ–मानेभञ्ज्याङ सडकखण्डमा स्थानीयको सक्रिय सहभागितामा जनश्रमदान जुटाएर लाखौँ रुपैयाँ बराबरको सडक सोलिङ कार्य सम्पन्न गरिएको छ। वर्षायाम तथा हिउँदमा पानी जमेर हिलाम्मे बन्ने उक्त सडकखण्ड अब सहज र सुरक्षित आवतजावत योग्य बनेको छ।
साकेला श्रम अभियान अन्तर्गत शनिबार वडा नम्बर ४ मा पर्ने करिब २० मिटर लामो सडकखण्डमा सडक सोलिङ गरिएको हो। सो स्थानमा पानी जम्ने समस्याका कारण मोटरसाइकल, ट्याक्टर, जीपलगायत सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको थियो। स्थानीयको पहल र एकताले समस्या समाधान भएपछि यात्रु तथा सर्वसाधारणले राहत महसुस गरेका छन्।
श्रमदान कार्यक्रममा वडा नम्बर ४ का ४५ जना स्थानीय उत्साहका साथ सहभागी भएका थिए। श्रमदानमा सहभागी स्थानीय बुद्धिवोल राईले लामो समयदेखि पानी जम्ने समस्या झेल्दै आएको उक्त सडकखण्डमा श्रमदानमार्फत सुधार सम्भव भएको बताउनुभयो।
उहाँले भन्नुभयो, -“पानी जमेका कारण सवारीसाधन फस्ने, हिँडडुल गर्नै नसक्ने अवस्था थियो। अब सोलिङ भएपछि सहज भएको छ। जनश्रमदानबाट करिब दुई लाख रुपैयाँ बराबरको काम भएको छ।” श्रमदान स्थलमा उपस्थित साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले श्रमदाताहरूलाई धन्यवाद ज्ञापन गर्दै श्रम, एकता र सहकार्य नै दिगो विकासको मुख्य आधार भएको बताउनुभयो।
उहाँले भन्नुभयो, -“सरकारी बजेट मात्रै विकासको आधार होइन। जब नागरिक आफैँ विकासमा सहभागी हुन्छन्, त्यहीँबाट समृद्धि सुरु हुन्छ। साकेला श्रम अभियान जनताको स्वामित्व र आत्मनिर्भर विकासको उदाहरण हो।”
श्रमदान कार्यक्रमलाई प्रभावकारी बनाउन साकेला गाउँपालिकाले आवश्यक सहयोगस्वरूप ट्याक्टर उपलब्ध गराएको थियो। स्थानीय श्रम, पालिकाको सहकार्य र सीमित स्रोतको सदुपयोगबाट छोटो समयमा ठूलो उपलब्धि हासिल भएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार सडक सोलिङ भएपछि विद्यालय जाने विद्यार्थी, कृषक, व्यापारी तथा आपतकालीन सेवामा समेत सहजता आएको छ। यसले गाउँको दैनिक जीवनसँगै आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
साकेला गाउँपालिकाले साकेला श्रम अभियान अन्तर्गत आगामी दिनमा पनि सडक मर्मत, खानेपानी, सार्वजनिक संरचना तथा पर्यटकीय पूर्वाधार सुधारका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। सामूहिक श्रम, साझा दायित्व र स्थानीय अपनत्वको भावना बोकेको यो अभियानले साकेला गाउँपालिकामा दिगो विकासको नयाँ अभ्यास स्थापित गरिरहेको छ।
प्रतिक्रिया