पुष २८, २०८२ सोमबार

साकेला गाउँपालिकाको सौन्दर्यकरणमा नयाँ आयाम : अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण

साकेला, खोटाङ । साकेला गाउँपालिकाको समग्र सौन्दर्यकरण, पहिचान र दिगो विकासका लागि गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा बहुआयामिक विकासका कार्यहरू तीव्र गतिमा अघि बढिरहेका छन्। प्राकृतिक सुन्दरता, सांस्कृतिक मौलिकता र आधुनिक संरचनाको संयोजनमार्फत साकेला गाउँपालिका आज फरक पहिचानसहित अग्रगामी यात्रामा देखिएको छ।

गाउँपालिकाको मुख्य प्रवेशद्वारका रूपमा चिनिने साप्सुखोला क्षेत्रमा निर्माण गरिएको स्काईवाक, अत्याधुनिक बसस्टप, आकर्षक स्वागत गेट तथा विभिन्न धार्मिक, सांस्कृतिक र कलात्मक झल्को दिने चित्रकलाहरूले साकेला प्रवेश गर्ने जो–कोहीलाई छुट्टै अनुभूति दिलाउने गरेको छ। स्थानीय पहिचान झल्किने चित्रकलाहरूले साकेलाको इतिहास, संस्कृति र सभ्यतालाई जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

यहाँको भूगोल र वातावरणसँग सुहाउँदो प्रकृतिमैत्री संरचनाहरू निर्माण गरिनुले गाउँपालिकाको सौन्दर्यकरणमा उल्लेखनीय परिवर्तन आएको देख्न सकिन्छ। विकास केवल कागजमा सीमित नबनाई प्रत्यक्ष कार्यान्वयनमा उतार्ने शैलीले साकेला गाउँपालिकालाई अन्य स्थानीय तहभन्दा फरक र अनुकरणीय बनाएको छ।

यी सबै विकास गतिविधिहरूको अगुवाइ स्वयं गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले गरिरहनुभएको छ। अध्यक्ष राई नियमित रूपमा केही कर्मचारीहरूको साथमा श्रमदानमा सहभागी हुँदै गाउँपालिकालाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउन निरन्तर सक्रिय रहनुभएको छ। नेतृत्व आफैँ मैदानमा उत्रिएपछि जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दामा समेत सकारात्मक ऊर्जा र सहभागिता बढेको देखिन्छ।

साकेला गाउँपालिकाले लिएको ‘श्रम साकेला अभियान’ नीतिअनुसार जनश्रमदानलाई विकासको मुख्य आधार बनाइएको छ। यही अभियानका कारण गाउँपालिकाभित्रका बाटाघाटा सफा, व्यवस्थित र सुन्दर देखिन थालेका छन्। सरसफाइको क्षेत्रमा समेत साकेला गाउँपालिका जिल्लाकै अग्रपङ्तिमा उभिन सफल भएको छ।

यसका साथै गाउँपालिकाभित्र रहेका विभिन्न सार्वजनिक सम्पदाहरूको संरक्षण, धार्मिक तथा पर्यटकीय महत्व बोकेका स्थानहरूको नियमित सरसफाइ, तथा सडक पूर्वाधार विकासमा अध्यक्ष राईको सक्रिय भूमिका निरन्तर देखिँदै आएको छ। विकासलाई केवल भौतिक संरचनामा सीमित नराखी सांस्कृतिक संरक्षण र सामुदायिक सहभागितासँग जोडिनु साकेला गाउँपालिकाको विशेषता बन्दै गएको छ।

स्थानीयवासीहरूका अनुसार नेतृत्वको स्पष्ट दृष्टिकोण, निरन्तर श्रमदान र योजनाबद्ध विकासका कारण साकेला गाउँपालिका अहिले सुन्दर, सफा र पर्यटकीय सम्भावनायुक्त गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ। अध्यक्ष रवि प्रकाश राईको सक्रिय नेतृत्वले साकेलालाई समृद्ध, आकर्षक र नमूना गाउँपालिकाका रूपमा रूपान्तरण गर्ने अपेक्षा अझ बलियो बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया