
साकेला, ३ माघ । साकेला गाउँपालिका–२ रतन्छामा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको धन्नेश्वरी गुफा जनश्रमदानमार्फत दोस्रो पटक वृहत रूपमा सरसफाइ गरिएको छ । शनिबार साकेला गाउँपालिकाको “श्रम साकेला अभियान” अन्तर्गत वडा नम्बर २ रतन्छाको अगुवाइमा आयोजित सरसफाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सरसफाइका क्रममा गुफासम्म पुग्ने पैदलमार्ग, गुफा परिक्रमा गर्ने बाटो, गुफामाथि तथा वरिपरि पलाएका झारपात र बोटबिरुवाहरू पूर्ण रूपमा हटाइएका छन् । गुफा परिसर र गुफाभित्र गरिएको वृहत सरसफाइपछि धन्नेश्वरी गुफाको स्वरूप नै परिवर्तन भएको देखिएको स्थानीयहरूले बताएका छन् ।
लामो समयदेखि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको यस गुफाको धार्मिक तथा पर्यटकीय विकासका लागि वर्तमान जनप्रतिनिधि र साकेला गाउँपालिकाले चासो देखाउँदै विकासका कामहरू प्रारम्भ गरेका हुन् । गाउँपालिकाका अनुसार आगामी दिनमा गुफासम्म पुग्ने व्यवस्थित पैदलमार्ग निर्माण, गुफा वरिपरि आकर्षक संरचना निर्माण, गुफाभित्र उज्यालोका लागि बत्ती जडान तथा भित्री भागसम्म पुग्न सिँढी निर्माण गर्ने योजना अघि बढाइनेछ ।
जानकारहरूका अनुसार धन्नेश्वरी महादेव गुफाको सुरुङ दायाँ–बायाँ गरी पाँच हजारदेखि दस हजार मिटरभन्दा बढी फैलिएको हुन सक्ने अनुमान गरिएको छ । गुफाभित्र ठूला–ठूला नागका आकृति तथा विभिन्न देवी–देवताका आकृतिहरू देख्न सकिने हुँदा यस स्थललाई अत्यन्तै पवित्र धार्मिक स्थलका रूपमा लिइन्छ । स्थानीयहरूको भनाइ अनुसार गुफाभित्र करिब दुई हजार मिटर भित्र पुग्दा सुन्दर कुवा, सुन्तलाको बोटलगायतका प्राकृतिक वस्तुहरू अवलोकन गर्न सकिन्छ ।
सदियौँ पुरानो यस गुफामा साक्षात् भगवानको वास रहेको जनविश्वास छ । परापूर्वकालमा भगवान शिवजी राक्षसबाट बच्न धन्नेश्वरी गुफामा लुकेर बसेको र पछि त्रिधार्मिक स्थल हलेसी गई बसोबास गरेको भन्ने किम्बदन्ती पनि प्रचलित छ । त्रिधार्मिक हलेसी पत्ता लाग्नुअघि नै भगवान शिवजी बसेको स्थान धन्नेश्वरी गुफा भएको स्थानीय विश्वास रहेको छ ।
रामनवमी, बालाचतुर्दशी, तीज तथा एकादशीजस्ता महत्वपूर्ण पर्वहरूमा यहाँ मेला लाग्ने गर्दछ । गुफाको संरक्षण र व्यवस्थित विकास हुन सके धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय तथा गाउँपालिकाको आर्थिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
शनिबार सम्पन्न श्रमदान कार्यक्रममा स्थानीय नागरिकहरू उत्साहका साथ सहभागी भएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले धार्मिक तथा पर्यटकीय विकासका लागि गाउँपालिका गम्भीर रूपमा लागिपरेको बताउँदै धन्नेश्वरी गुफालाई व्यवस्थित धार्मिक–पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
धन्नेश्वरी गुफाको सौन्दर्यकरणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सामान्य पूर्वाधार निर्माण र प्रारम्भिक सौन्दर्यकरणका लागि यो बजेट सहयोगी भए पनि गुफाको समग्र विकासका लागि करोडौँ रुपैयाँ बराबरको दीर्घकालीन लगानी आवश्यक रहेको स्थानीय सरोकारवालाहरूको भनाइ छ ।
प्रतिक्रिया