
साकेला- यस वर्षको राष्ट्रपति रनिङ शिल्डको उपाधी राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडा साकेला-१ ले चुमेको छ । गत वर्ष समेत उपाधि चुम्न सफल उक्त विद्यालयले यस वर्ष पनि सात स्वर्ण, सात रजत र चार काँस्य सहित १८ पदक जित्दै उपाधि चुमेको हो । प्रतियोगिताको दोश्रो बनेको साकेला माध्यमिक विद्यालय रतन्छाले सात स्वर्ण सहित तीन रजत र छ काँस्य गरि १६ वटा पदक जितेको छ भने पाँच स्वर्ण, छ रजत र पाँच काँस्य सहित १६ पदक जितेर बालबालिका मावि नौलाखर्क तेश्रो बन्न सफल भएका छन् ।
त्यसैगरी पाँच स्वर्ण, पाँच रजत र सात काँस्य सहित जम्मा १७ पदक जितेको सिद्धेश्वरी मावि खिदिमा चौथो, एक स्वर्ण, एक रजत र एक काँस्य जितेको सरस्वती मावि मात्तिमबिर्ता पाँचौ र तीन रतज तथा दुई काँस्य जितेको व्यवस्थापक विद्यालय चण्डेश्वरी मावि छैठौँ भएको छ । साकेला गाउँपालिकाको आयोजना तथा चण्डेश्वरी मावि डाँडागाउँको व्यवस्थापनमा गत बुधबारदेखि बाँझेच्यानडाँडास्थित खेलमैदानमा जारी आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबार सकिएको छ ।
पुरस्कृत विद्यालय तथा उपाधि जिताउने विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, उपाध्यक्ष बिर्सिका राई, वडाध्यक्ष हेमन राई लगायतले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो । पालिकाभित्रका छ वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा भलिबल, हाइजम्प, लङजम्प, सर्टफुट, १००, २००, ४००, ८०० र १५०० मिटर दौडका साथै १०० मिटर र ४०० मिटर रिले दौड, ज्याबलिन थ्रो र ट्रिपल जम्प समावेश गरिएको थियो । प्रतियोगितामा २५ स्वर्ण, २५ रजत र २५ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । यस वर्षको प्रतियोगिताका लागि गाउँपालिकाले ३ लाख र वडा कार्यालय बाँझेच्यानडाँडाले १ लाख रुपैयाँ बजेट व्यवस्थापन गरेको थियो ।



















प्रतिक्रिया