असार २२, २०८२ शनिबार

साकेलाको बजेट ३३ करोड ८८ लाख (पूर्ण पाठ सहित)

साकेला– खोटाङको साकेला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । ‘सुसंस्कृत, संस्थागत र समृद्ध साकेला’ भन्ने मूल नाराका साथ आईतबार गाउँपालिकास्थित सभाहलमा सम्पन्न १३औं गाउँसभाले आवधिक योजनामा समेटिएका गौरवका योजनाहरुलाई प्राथमिकता दिँदै आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको अध्यक्षतामा सम्पन्न गाउँसभामा कूल ३३ करोड ८८ लाख ८१ हजार अनुमानित बजेट प्रस्तुत गरिएको छ । आगामी आर्थिक वर्षको लागि गाउँपालिकालाई वित्तिय समानिकरण अनुदान अन्तर्गत ७ करोड ११ लाख, राजश्व बाँडफाँडबाट ६ करोड ७९ हजार रुपैंया रकम प्राप्त हुने अनुमान गरिएको छ भने सशर्त अनुदान अन्तर्गत १६ करोड ४१ लाख तथा विशेष अनुदान अन्तर्गत १ करोड ५० लाख रुपैंया प्राप्त हुने अनुमान गरिएको छ ।

त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानिकरण अनुदान ४० लाख ९४ हजार, सवारी करबाट २७ लाख ५३ हजार, प्रदेश सशर्त अनुदान तर्फ २९ लाख २५ हजार र पूँजीगत तर्फ ३८ लाख ३० हजार रुपैंया रकम प्राप्त हुने अनुमान गरिएको हो । गाउँपालिकालाई संघको समपुरक अनुदान १ करोड ३५ लाख रुपैंया प्राप्त भएको छ भने गाउँपालिकाको आन्तरिक आम्दानी १५ लाख रुपैंया प्रक्षेपण गरिएको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा ३७ करोड ७४ लाख ७५ हजार रकम विनियोजन गरेकोमा असार ८ गतेसम्म २६ करोड ४७ लाख १८ हजार रुपैया अर्थात कूल बजेटको ६२ दशमलव ४५ प्रतिशत मात्र खर्च गरेको प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नीति, कार्यक्रम तथा बजेट गाउँसभामा उपाध्यक्ष बिर्सिका प्रस्तुत गर्नुभएको हो । प्रस्तुत नीति, कार्यक्रम तथा बजेटलाई गाउँसभाले बहुमतले पारित गरेको छ । त्यस्तै उपाध्यक्ष राईले विनियोजन विधेयक, २०८० र आर्थिक ऐन, २०८० लाई समेत सभामा पेश गर्नुभएकोमा दुवै विषयलाई सभाबाट बहुमतले पारित गरेको छ ।

सभाध्यक्ष रवि प्रकाश राईले १२औं गाउँसभादेखि १३औ‌ गाउँसभासम्म आईपुग्दा समग्र साकेलाको विकास प्रकृयामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने, सल्लाह सुझाव प्रदान गर्नुहुने राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजीवी, पत्रकार, नागरिक समाज र समग्र साकेलावासीलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

उहाँले साकेलाको गौरवको योजनाहरुलाई पुरा गर्न संघ तथा प्रदेश सरकारसँग निरन्तर समन्वय गरिने बताउँदै तावाभञ्ज्याङ क्षेत्रमा वृहत्त पर्यटन पूर्वाधार विकास अन्तर्गत हाल तावाताल निर्माणको मात्र विस्तृत परियोजना तयार भईसकेकाले यसलाई अध्ययन गरि आवश्यकता अनुसार परिमार्जन गरि कार्य अघि बढाईने बताउनुभयो । त्यस्तै, मपारुङ, धन्नेश्वरी गुफा, साकेला पार्क, लामदुवाली, तावादोभानलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने समेत उल्लेख गर्नुभयो ।

साकेलाको वृहत पर्यटकीय क्षेत्रको विकास गरी आगामी चार वर्षभित्र नमूना पालिका निर्माण गर्न आवधिक योजना मार्फत समेटिएका पूर्वाधारहरुमध्ये पालिकाको सिमानामा साकेला ट्रेल र साँस्कृतिक भिलेज निर्माण तथा पालिकालाई डिजिटल पालिका निर्माण गर्ने कार्यलाई प्राथमिकता दिईने अध्यक्ष राईले बताउनुभयो ।

बसाईसरी आउने परिवारलाई पाँच हजार
साकेला- पछिल्लो समय साकेलाबाट बसाईसर्नेहरुको सङ्ख्या बढिरहेको कारण जनसङ्ख्या दिनानुदिन घटिरहेको अवस्थामा गाउँपालिकाले नयाँ नीति अपनाएको छ । गाउँपालिकाले जनसङ्ख्यालाई सन्तुलनमा राख्नका लागि अन्यत्रबाट बसाईसरी आउने परिवारलाई सम्मान स्वरुप पाँच हजार रकम उपलब्ध गराउने नीति अघि सारेको हो । बसाईसराईलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरण सहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधा लगायतको कार्यलाई प्राथमिकता दिएर काम अघि बढाउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

(आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रमको पूर्णपाठ)

 साकेला गाउँपालिकाको

नीति, कार्यक्रम तथा बजेट -२०८०/०८१

साकेला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

मानेभञ्ज्याङ, खोटाङ

प्रस्तुत कर्ताः

बिर्सिका राई

उपाध्यक्ष

साकेला गाउँपालिका, खोटाङ ।

 सभा अध्यक्ष महोदय,

गाउँ सभाका मान्य सदस्यज्यूहरु,

गाउँ कार्यपालिका तथा अन्तर्गतका कार्यालयमा कार्यरत कर्मचारी वर्ग,

पत्रकार मित्रहरु ।

सर्वप्रथम म आजको यस सम्मानित १३ औं गाउँ सभामा साकेला गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्न पाउदा आफूलाई सौभाग्यशाली ठान्दै गौरवको अनुभूति गरिरहेकी छु । यसै प्रसङ्गमा नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न योगदान गर्नुहुने तमाम नेपाली जनता र साकेला गाउँपालिकावासी नागरिक प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । यसैगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाको लडाइँमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

सभा अध्यक्ष महोदय,

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नेपालको संविधान, दिगो विकासको लक्ष, नेपालको दीर्घकालीन सोच सहितको पन्ध्रौँ योजना तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकारको क्षेत्राधिकार भित्र रही गाउँपालिकालाई आवश्यक पर्ने विभिन्न किसिमका ऐन, नियमावली, कार्यविधि तथा निर्देशिका तर्जुमा गरी कार्यान्वयनमा ल्याइएको छ । उपर्युक्त ऐन, नियम, कार्यविधि तथा निर्देशिकाको अधिनमा रही गाउँपालिकाको विकासको प्राथमिकताका क्षेत्र तथा नीति निर्धारण गरिएको व्यहोरा यस सम्मानित सभामा स्मरण गर्न चाहन्छु ।

सभा अध्यक्ष महोदय,

गाउँपालिकाको पूर्वाधार विकास अन्तर्गत निर्माण भइरहेको साप्सुखोला -पाँचधारे सडक प्रदेश सरकारको वहुवर्षीय योजनामा समावेश भइ हाल ग्राभेल सडकको रुपमा स्तरोन्नति हुने कार्य अन्तिम चरणमा पुगेको छ । कात्तिके -सोस्तुङ -नैनेपाटी सडक प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा स्तरोन्नतिको कार्य भइरहेको छ । यसैगरी बाँझेच्यानडाँडा -रतन्छा -नैनेपाटी -मानेभञ्ज्याङ -काल्चिङखोला सडक खण्डमा संघीय सरकार र गाउँपालिकाको लागत साझेदारी रहने गरी समपुरक कार्यक्रमसँगै प्रदेश सरकार र संघीय सरकारको छुट्टा छुट्टै कार्यक्रमबाट समेत स्तरोन्नतिको कार्य भइरहेको छ । सडक विस्तार एवम् स्तरोन्नति गर्ने प्रक्रियामा प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय गाईघाट उदयपुरको सहयोगमा अति आवश्यक सडकहरु मध्ये पिनालाखा -लामदुबाली -दोर्पा चिउरीडाँडा -दुम्लीहुँदै अल्छेढुङ्गा दिक्तेल सडक र हरेलोडाँडा -डाँडागाउँ -वानाचुङ -दोर्पा दिक्तेल सडकको विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भएका छन् । यसैगरी गाउँपालिकाको लगानीमा हरेलोडाँडा -डाँडागाउँ -वानाचुङ -दोर्पा दिक्तेल सडकमा पर्ने साप्सुखोलामा सडक पुलको समेत विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भएको छ । तावाभञ्ज्याङ क्षेत्रमा वृहत पर्यटन पूर्वाधार विकास अन्तर्गत तावाताल निर्माणको मात्र विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार भइ सकेकोले यसलाई अध्ययन गरी आवश्यकता अनुसार परिमार्जन सहित कार्य अघि वढाइने छ । संघीय सरकार अन्तर्गत शहरी विकास मन्त्रालयसँगको साठी चालिसको लागत साझेदारीमा साकेला गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य प्रारम्भ भइ करिव ५५ प्रतिशत भौतिक कार्य प्रगति समेत भइसेकेको छ । साकेला गाउँपालिका २ नं. वडा रतन्छामा साकेला प्राथमिक अस्पताल संघीय सरकार स्वास्थ्य तथा जनसंख्या मत्रालयको पूर्ण अनुदान सहयोगमा गत आर्थिक वर्षमा निर्माण कार्य प्रारम्भ भइ करिब ६१ प्रतिशत भौतिक प्रगति भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा सम्झौता भएका राधाकृष्ण माध्यमिक विद्यालयमा दुई कोठे ट्रष्ट भवन र सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमामा चार कोठ पक्की भवन निर्माण कार्य सम्पन्न भइ अन्तिम फरफारखको लागि तयारीमा रहेका छन् । यसैगरी सरस्वती माध्यमिक विद्यालय मात्तिममा ४ कोठे पक्की भवन, साकेला माध्यमिक विद्यालय रतन्छा र सरस्वती आधारभूत विद्यालय डाँडागाउँमा २ कोठे पक्की भवन निर्माणका लागि २०७९/०८० मा सम्झौता भइ निर्माणाधिन अवस्थामा रहेका छन् । प्रदेश सरकारको शहरी विकास डिभिजन कार्यालय ओखलढुङ्गाबाट सञ्चालन भएका योजनाहरु मध्ये वडा नं. २ रतन्छामा सामुदियक भवन निर्माण सम्पन्न हुने अवस्थामा रहेको छ । वडा नं. ५ कात्तिकेमा जेष्ठ नागरिक भवन, मानेभञ्ज्याङ्मा सामुदायिक भवन, ढाँडेमा तामाङ सामुदायिक भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । वडा नं. २ रतन्छामा प्रदेश सरकारको सहयोगमा उपभोक्ता समिति मार्फत कृषि संकलन केन्द्र निर्माणा भइरहेको छ । संघीय सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको सहयोगमा वडा नं. १ चखेवाभञ्ज्याङमा शहिद कालुमान गुरुङ स्मृति पार्क समेत निर्माणाधिन अवस्थामा रहेको व्यहोरा अनुरोध छ ।

सभा अध्यक्ष महोदय,

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७९/०८० मा ६८० जना वेरोजगार व्यक्तिहरुको नाम सूचीकरण गरिएकोमा रोजगार व्यावस्थापन सूचना प्रणाली विधिबाट वेरोजगार व्यक्तिहरु छनौट गर्ने क्रममा जम्मा ८० जना व्यक्तिहरु छनौट गरी उनीहरुलाई १०० दिनको रोजगार उपलब्ध गरिएको छ । तावाभञ्ज्याङ चिया विस्तार कार्यक्रम अन्तर्गत मुन्दुम पद मार्गको शुन्य विन्दुबाट पदमार्गको दाँयावाँया वाह्र हजार चियाको विरुवा रोप्ने काम सम्पन्न भएको छ । वडा नं. १ को सेखुवामा ३०० मिटर पैदल मार्ग, वादुङ देवी मन्दिरदेखि पूजा गर्ने स्थल सम्म १०० मिटर पैदल मार्ग, डाँडागाउँ -दोवेला सडक खण्डको तुम्सुङ क्षेत्रमा ११० मिटर सोलिङ गरिएको छ । वडा नं. २ को दारुलाटार देखि प्रहरी चौकीसम्म पैदल मार्ग निर्माण, वडा नं. ३ को काल्चिङ खोला -पुङ्मा -रुवालुङ सडकको काल्चिङ खोला क्षेत्रमा १३४ मिटर सोलिङ निर्माण, सौरे -हात्तिसुडे सडक, लामिडाँडा सडक, कोक्रवा -माथिल्लो सडक खण्डहरुमा ४ किलोमिटर नालि निर्माण, वडा नं. ४ को विसाउने -सल्लेरीडाँडा सडक, मानेगाउँ –पाउदुरे -विसाउने बर, विसाउने वर -वडा कार्यालय -मुख्य सडकहरुमा १७५ मिटर सोलिङको कार्य भएका छन् भने वडा नं. ५ को मेवादोभान -डिगेम्पाडाँडा -गुर्ढुम वर र कुनाइ -वतासेडाँडा पैदल मार्गमा ५०० वटा सिढी निर्माण गरिएको छ ।

यसैगरी गत आर्थिक वर्षमा साना सिंचाई योजना अन्तर्गत संघ, प्रदेश, गाउँपालिका, एस.डि.सी. र उपभोक्ताहरुको लागत साझेदारीमा ३ वटा योजनाहरु सम्पन्न भएका छन् भने चालु आर्थिक वर्ष २०७९/०८० मा सम्झौता भएका ४ वटा योजनाहरु मध्ये पिखुवाखोला सिंचाइ योजना साकेला १ निर्माण सम्पन्न र अरु योजनाहरु निर्माणाधिन अवस्थामा रहेका छन् । आगामी आर्थिक वर्षको लागि थप ६ वटा योजनाहरु स्वीकृत भएका छन् ।

सभा अध्यक्ष महोदय,

सामाजिक विकास अन्तर्गत चालु आर्थिक वर्षमा स्वास्थ्य चौकी रतन्छालाई आधारभूत अस्पतामा स्तरोन्नति गरिएको छ । स्वास्थ्य कर्मीहरुले प्रत्येक आमा समूहमा गई पाँच वर्ष मुनीका वालवालिकाको प्रत्येक महिना पोषण लेखाजोखा गर्दा कुपोषित पाइएका वालवालिकाहरुलाई सबै स्वास्थ्य संस्था स्थित वहिरंग उपचार केन्द्रमा औजार, उपकरण र उपचारात्मक खानाको व्यवस्था गरी सेवा सञ्चालन शुरु गरिएको छ । साकेला गाउँपालिकाको ६५९ (छ सय उनन्साठी) जना वालवालिकाको पोषण खेलाजोखा गर्दा वडा नं. २ रतन्छामा २ जना कुपोषित वालवालिका भेटिएकोमा उनीहहरुलाई साकेला आधारभूत अस्पतालको वहिरंग उपचारात्मक केन्द्रबाट उपचार गरिरहेको छ । गत आर्थिक वर्षमा स्वास्थ्य चौकी वाँझे, रतन्छा, खिदिमा र मात्तिम विर्तामा प्रसुती गृह सञ्चालन भइरहेका थिए भने चालु आर्थिक वर्षमा आधारभूत स्वास्थ्य केन्द्र पाउदुरेमा समेत प्रशुती गृह स्थापना भइ सञ्चालनमा आएको छ । यी संस्थाहरुमा चालु आर्थिक वर्षमा प्रोटोकल अनुसार १६० जना गर्भवतीहरुले ४ पटक गर्भ जाँच गराएकोमा प्रसुती गृहमा ९० जना गर्भवती मात्र सुत्केरी भएको देखिन्छ ।  गत आर्थिक वर्षमा १६ वटा खोप केन्द्रबाट नियमित राष्ट्रिय खोप सञ्चालन गरिकोमा चालु आर्थिक वर्षमा पाँच वटा खोप केन्द्र थप गरी २१ वटा खोप केन्द्रबाट खोप सेवा प्रदान गरियो । जसमा जन्मेदेखि १५ महिना सम्मका १७७ जना वालवालिकाले नियमित खोप लगाइरहेका छन् । १६ देखि ५९ महिनाका ४८२ जना वालवालिकाहरुको घरधुरी सर्वेक्षण गर्दा ४८२ जना मध्ये ४७९ जनाले पूर्ण खोप लागाएको पाइयो भने २ जनाले कुनै पनि खोप नलगाएको भेटिएको थियो । एक जनाले १३ वटा खोप मध्ये ३ वटा खोप लगाउन छुटेको भेटिएकोले ती वालवालिकाहरुलाई खोपको दायरमा ल्याइ साकेला गाउँपालिकालाई आर्थिक वर्ष २०७९/०८० मा जिल्लाको प्रथम पूर्ण खोप गाउँपालिका सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । यसैगरी कोभिड -१९ रोग विरुद्धको अतिरिक्त खोप पाउने उमेर समूह अन्तर्गत १२ वर्ष उमेर भन्दा माथिका उमेर समूहमा महिला ५५३ जना र पुरुष ४९५ गरी जम्मा १०४८ जनाले खोप लगाएका छन् भने ५ देखि १२ वर्षका वालवालिकाहरु मध्ये कोभिड -१९ विरुद्धको पहिलो खोप मात्र लगाउने वालिका ४४५ र वालक ४५८ गरी ९०३ जना र दोस्रो मात्रा मात्र खोप लगाउने वालिका ४३७ र वालक ४५५ गरी ८९२ जना रहेका छन् । सवै स्वास्थ्य संस्था र २१ वटा गाउँघर क्लिनिक मार्फत प्राथमिक स्वास्थ्य सेवा, परिवार नियोजन, पोषण,  क्षयरोग, कुष्ट रोग, एच.आइ.भी.एडस्, यौन तथा यौन जन्य रोग, वाल रोग, दीर्घ रोग एवम् महामारीजन्य रोग र सुरक्षित मातृत्व सेवा नियमित सञ्चालन भएका छन् । चालु आर्थिक वर्षमा पाँच वटै वडामा क्षयरोग खोजपटताल शिविर सञ्चालन गर्ने क्रममा ९६ जनाको खकार जाँच परीक्षण भएको थियो । परीक्षण पश्चात ९६ जनै व्यक्तिहरुमा क्षयरोग नभेटिएको पाइयो । तर अन्य स्वास्थ्य संस्थाबाट ३ जना क्षयरोगको विरामी पत्ता लागि औषधी सेवनका लागि सिफारिस भइ आएको हुँदा उनीहरुको उपचार भइरहेको छ । ४३ जना महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरुले ५ वर्ष मुनिका वालवालिकाहरुको पोषण, प्राथमिक उपचार, सुरक्षित मातृत्व, परिवार नियोजन र पोषण सम्बन्धिका राष्ट्रिय कार्यक्रममा सहयोग पुर्याउदै आएका छन् । यसैगरी आठ प्रकारका कडा रोग जस्तै क्यानसर, मृगौला रोग, मुटु रोग तथा शरीरको मुख्य मेरुदण्ड भाँचिएको विरामीहरुलाई विपन्न उपचार सहुलियत कोष मार्फत उपचारको लागि चालु आ.व.मा १४ जना विरामीलाई सिफारिस गरिएको छ भने चार प्रकारका (मृगौला फेल भइ डाइलाइसिस गराइरहेका, मृगौला फेल भइ मृगौला प्रत्यारोपन गराएका, क्यान्सर र मेरुदण्ड भाँचिएर पक्षघात भएका) कडा रोगका हाल सम्मका ८ जना विरामीले मासिक रकम रु. ५०००।– (अक्षेरेपी पाँच हजारमात्र) औषधी उपचार वापत खर्च पाइरहेका छन् । यसै गरी ४०७ जना जेष्ठ नागरिकहरु र २१ जना पूर्ण असक्त नागरिकहरुको निशुल्क स्वास्थ्य विमा गरिएको छ । प्रजजन् रुग्णता तथा अस्थायी परिवार नियोजन शिविरमा १६२ जनाको पाठ्यघर क्यान्सर जाँच हुँदा सबै जनामा रोग नदेखिएको, सोही क्रममा ६५ जना माहिलाहरुको आङ खस्ने समस्या सम्बन्धी जाँच गर्दा दश जनामा समस्या देखिएको मध्ये ९ जना विमारीलाई रिङ्गपेसरी राखि उपचार गरिएको र दुई जना विमारी मध्ये एक जना विरामीलाई विराट नर्शिङ होम विराटनगरमा निशुल्क उपचार गरिएको व्यहोरा अनुरोध छ ।

सभा अध्यक्ष महोदय,

साकेला गाउँपालिकामा सञ्चालन भइरहेको पूर्ण सरसफाइ अभियान अन्तर्गत विभिन्न तहका पूर्ण सरसफाइ अभियान समन्वय समितिहरु गठन भइ क्रियाशिल रहेका छन् । पूर्ण सरसफाइ अभियानको सफा तथा स्वच्छ क्षेत्र घोषणा अन्तर्गत हालसम्म हासिल भएका मुख्य मुख्य उपलब्धीहरुको हकमा साकेला गाउँपालिकाको २३२३ घरधुरी मध्ये एक घर एक वाटरशिल्ड शौचालय २२८३ घरमा निर्माण भइ प्रयोगमा आएको देखिन्छ । ग्लोबल पिस फाउण्डेशनको लागत साजेदारीमा सुधारिएको चुल्हो १५०३ घरमा निर्माण भएका छन् । पचास प्रतिशत घरधुरीमा घरबाट उत्सर्जन हुने फोहोर संकलनको लागि डष्टविन निर्माण भएको थियो । यसैगरी २२१४ घरधुरीमा सावुन पानीको प्रयोग भएको पाइएको छ भने ९५३ घरधुरीमा चाङ मच्याङको निर्माण भएको देखिन्छ । उक्त सूचकहरु सतप्रतिशत पूरा गर्नका लागि आगामी दिनमा थप प्रयास हुनेछन् । १८ वटा सरकारी संस्था मध्ये १५ वटा सरकारी संस्थामा नियमित रुपमा सावुन पानीको प्रयोग भएको देखिन्छ । सरकारी संस्था र विद्यालय गरी कुल ५६ वडा संस्था मध्ये १३ वटा संस्थामा महिनावारी स्वच्छता सुविधाको उपलब्धता भएको छ । ४५७ वटा पानीको मुहानमा कोलिफर्म परीक्षण गरिदा ३८ वटा पानीको मुहानमा कोलिफर्म देखिएको हुँदा उक्त मुहानको सरसफाइ गरिनुका साथै पानी शुद्धीकरण गरी पानी प्रयोग गर्ने गरिएको छ । २३२३ घरधुरी मध्ये सफा तथा स्वच्छ घर संख्या ३१५ रहेको देखिन्छ । फोहरमैला व्यवस्थापन अन्तरगत सर्टिङ साइड निर्माणको लागि वडा नं. ३ को ढाँडेमा साकेला गाउँपालिका ३ नं. वडा ढाँडे निवासी श्री बम प्रसाद तामाङले निशुल्क २० रोपनी जग्गा गाउँपालिकाको नाममा जग्गा दान गर्नु भएकोले सोही जग्गामा सर्टिङ साइडको लागि पूर्वाधारका काम थालनी गर्न एक थान ट्रायाकटर खरिद गरिएको व्यहोरा यस सम्मानित सभामा अनुरोध गर्दछु ।

आर्थिक वर्ष २०७९/०८० मा एक सय तीस जना  जेष्ठ नागरिकले जेष्ठ नागरिक परिचयपत्र प्राप्त गरेका छन् भने अपाङ्गता परिचयपत्र अन्तर्गत दश जना ‘क’ वर्ग, तेह्र जना ‘ख’ वर्ग, पाँच जना ‘ग’ वर्ग र एक जना ‘घ’ वर्गको परिचयपत्र प्राप्त गरेका छन् ।

नेपाल सरकार र युनिसेफको साझेदारीमा संचालित दोस्रो चरणको बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत आगामी चार वर्षभित्र पोषणमैत्री स्थानीय तह घोषणा गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर भएको छ ।  जुकाको औषधी र आइरनफोलिक एसिड चक्की सेवन गर्न सवै विद्यालयका किशोरीहरुलाई वितरण गरिएको छ । महिला समूह/सहकारीलाई एकमुष्ट विउपूँजी अनुदान उपलब्ध गर्ने कार्यक्रम अन्तर्गत समावेशी महिला कृषक समूह मात्तिम -४ का सदस्यहरुलाई बाख्रा, सुँगुर, तरकारी र फलफूलको व्यावसायिक खेती गर्नका लागि जनही रकम रु. २५,०००। (अक्षेरेपी पच्चीस हजार मात्र) का दरले वितरण गरिएको छ । विद्यालयमा वालमैत्री धारा व्यवस्थापन अन्तर्गत हरेलोडाँडा, टाँकीवारी, प्रतिभा र मानेगाउँ आधारभूत विद्यालयमा हिल टैंक वितरण गरिएको छ सभा अध्यक्ष महोदय ।

सभा अध्यक्ष महोदय,

शिक्षाको विकास तर्फ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/०८० मा सरस्वती माध्यमिक विद्यलायमा ४ कोठे पक्की भवन, साकेला माध्यमिक विद्यलयमा २ कोठे पक्की भवन निर्माण सम्पन्न भएका छन् । सरस्वती आधारभूत विद्यालय मबुमा र पञ्चकन्या आधारभूत विद्यालय सुर्केमा सूचना, सञ्चार प्रविधि समाग्री (ICT) व्यवस्थापन गरिएको छ । साकेला माध्यमिक विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT) अन्तर्गत बाली विज्ञान विषयमा पाँच वटै वडाका दलित, अल्पसंख्यक, विपन्न र जेहेन्दार विद्यार्थीहरु मध्ये छनौट भएका दश जना विद्यार्थी अध्ययन गर्नका लागि छात्रवृत्तिको व्यवस्था गरिएको छ । साकेला गाउँपालिका अन्तर्गत कक्षा ६ सम्म अध्ययनरत १०१८ जना विद्यार्थीहरुका लागि नियमिति रुपमा दिवा खाजा उपलब्ध गरिएको छ । शैक्षिक गुणस्तर सुदृढीकरण तथा कार्य सम्पादनमा आधारित अनुदान अन्तर्गत वालवालिका आधारभूत विद्यालय, चण्डेश्वरी आधारभूत विद्यालय, टाँकीवारी आधारभूत विद्यालय र साकेला आधारभूत विद्यालय सौरेलाई रकम रु. ५०,०००।– (अक्षेरेपी पाचास हजार) मात्रका दरले अनुदान प्रदान गरिएको छ । विद्यालयको तथ्याङ्क व्यवस्थापन गर्ने अनलाइन प्रणाली इमिस मार्फत आधारभूत तह कक्षा ८ को परीक्षाको नतिजा प्रकाशन गर्ने गरेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।

गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा नयाँ लघु उद्यमी सिर्जना कार्यक्रम अन्तर्गत ७८ जना उद्यमीहरु सिर्जना भएका छन । जसमा वडा नं. ३ मा आचु चिप्स तथा भूजिया लघु उद्यमी समूहमा २२ जना, वडा नं. ५ कात्तिकेको कफी खेती लघु उद्यमी समूहमा १८ जना रहेका छन् । यसैगरी  वडा नं. २ पिनालाखाको कफी खेती लघु उद्यमी समूहमा १४ जना, मोटरसाइकल मर्मत तालिममा ५ जना, तरकारी खेती लघु उद्यमी समूहमा ९ जना र सिलाइकटाइ लघु उद्यमी समूहमा १० जना रहेका छन् । भइरहेका व्यवसायीको स्तरोन्नति तर्फका कार्यक्रम सञ्चालनमा रहेको व्यहोरा अनुरोध गर्दछु सभा अध्यक्ष महोदय ।

सभा अध्यक्ष महोलय,

पञ्जीकरण तथा सामाजिक सुरक्षा अन्तर्गत अनलाइन घटना दर्ताको नियमितता र बैंङ्किङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको कार्य नियमित भइरहेका छन् । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको लागि हरेक वर्षको साउन/भदौ महिनाको समयमा प्रत्येक वडामा शिविर सञ्चालन गरी लाभग्राहीहरुको नवीकरण गरिएको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई विश्वसनीय, पारदर्शि र प्रभावकारी बनाउन प्रत्येक टोलटोलमा पुगेर लाभग्राही स्वयमको उपस्थितीमा सामाजिक सुरक्षा कार्ड नवीकरण गर्ने गरिएको छ । लाभग्राहीको सहजताका लागि कार्यविधिमा उल्लेख भए बमोजिम अशक्त र अपाङ्गता अवस्थाका नागरिकहरुको लागि बैंक खाता खोल्ने तथा अख्तियारी प्रदान गर्ने कार्य बैंक प्रतिनिधिको रोहबरमा लाभग्राहीको घरघरमै पुगेर हकवाला कायम गरिदै आएको छ । वृद्ध अवस्था, अशक्त तथा अपाङ्गता भइ बैंकको शाखा कार्यालयसम्म उपस्थित हुन नसक्ने लाभग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै बैंक र गाउँपालिकाको सम्झौता बमोजिम वर्षको तीन पटक सबै वडा कार्यालयहरुमा भुक्तानी शिविर सञ्चालन गरिएको छ । कार्यविधि अनुसार सामाजिक सुरक्षा प्राप्त गर्न योग्य लाभग्राहीहरुको VERSP-MIS  प्रणालीमा डाटा इन्ट्रि, सामाजिक सुरक्षा भत्ता कार्ड वितरण र खाता सञ्चालनको कार्य नियमित हुँदै आएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका मृतक लाभग्राहीहरुको VERSP-MIS  प्रणालीबाट लगतकट्टा र हकवालालाई बाँकी रकम भुक्तानीको लागि सिफारिस लगायतका कार्यहरु नियमित रुपमा हुँदै आएका छन् । सन् २०२४ सम्म नागरिकहरुको व्यक्तिगत घटना दर्ता कार्यक्रमलाई शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य अनुरुप यस साकेला गाउँपालिकामा पनि नियमित रुपमा अनलाइन प्रणाली मार्फत व्यक्तिगत घटना दर्ताको कार्य अघि बढाईएको छ ।

महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत महिलाहरुको कार्यबोज घटाउने उद्देश्यका साथ पाँच वटै वडाका आमा समूहहरुलाई नौ वटा मिल प्रदान गरिएको छ । यसै गरी खिदिमा महिला भवन, महिला एकता मञ्चको भवन रतन्छा र मात्तिम महिला भवनलाई ३०० थान प्लाष्टिक कुर्ची र तीन वटा टेवल प्रदान गरिएको छ ।

सभा अध्यक्ष महोदय,

आर्थिक विकास अन्तर्गत कृषि तथा पशु विकास तर्फ वाख्राको साना व्यावसायिक उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) सञ्चालनको लागि साकेला गाउँपालिकाको २, ३, ४ र ५ नं. वडामा वाख्रा फारमको आकारको आधारमा ७ वटा फारम छनौट गरी वाख्राको आधुनिक खोर निर्माणको कार्य भइसकेको छ । पशु स्वास्थ्य उपचारको लागि ३५ सय भन्दा धेरै कृषकलाई औषधी वितरण गरिएको छ । यसै गरी महामारीको रुपमा गाउँपालिका भरी फैलिएको लम्पी स्किन रोग लागेका ५०० वटा भन्दा वढी गाईगोरुहरुमा प्राथिमक उपचार गरी रोगथाम गरिएको छ । नेपाल पशु स्वास्थ्य सेवा संघको सहयोग एवम् भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङ दिक्तेलसँगको समन्वयमा १०६ वटा कुकुरहरुलाई रेविज विरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ । गाउँपालिकामा रहेका सम्पूर्ण कृषकहरुलाई सूचीकरण गर्ने कार्य अन्तर्गत २४०० घरधुरी कृषकहरुलाई सूचीकरण गर्ने कार्य सम्पन्न भएको छ । गाउँपालिकाको कृषि, पशुपंक्षी तथा मत्स्य तथ्याङ्क अध्यावधिक गर्न कृषि व्यवस्थापन सूचना प्रणालीमा तथ्याङ्कहरु प्रविष्ट गर्ने कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रमबाट गाउँपालिकामा उत्पादन हुने बालीनालीको उत्पादकत्व अनुमान गर्न सकिनेछ । प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत तरकारी बाली पकेट विकास कार्यक्रम सम्पन्न भएको छ । जस अन्तर्गत चार वटा कृषि फारमहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । कृषि तथा उत्पादनको पकेट क्षेत्र पहिचानको लागि सघन रुपमा माटो परीक्षणको कार्य पुरा भएको छ । माटो परीक्षणको प्रतिवेदन अनुसार हरेक वडामा बाली, तरकारी तथा फलफूल पकेट क्षेत्र स्थापना गर्न सम्भावित क्षेत्र पहिचान गरिएको छ । जस अन्तर्गत प्रमुख रुपमा वडा नं. १ को माथिल्लो भूगोलमा आलु र तल्लो भूगोलमा सुन्तला/कागती/कफी, वडा नं. २ को तल्लो भूगोलमा सुन्तला/कागती/कफी माथिल्लो भूगोलमा नासपाती, वडा नं. ३ मा आलु र स्याउ/नासपाती, वडा नं ४ को माथिल्लो भूगोलमा नासपाती र तल्लो भूगोलमा केरा/कागती/कफी र वडा नं. ५ को तल्लो भूगोल आँप/लिचि र माथिल्लो भूगोलमा केरा/कफी/सुन्तलाको व्यावसायिक खेती गर्नका लागि प्रवल सम्भावना रहेको देखिन्छ । यसै गरी आकस्मिक बाली संरक्षण कार्यक्रम अन्तर्गत मकैबालीमा लाग्ने फौजी किरा नियन्त्रणका लागि कृषकहरुलाई भौतिक व्यवस्थापनको विधि सिकाइनुका साथै नियन्त्रणका लागि विषादी समेत उपलब्ध गराइएको थियो । गोठेमल तथा भकारो सुधार कार्यक्रम अन्तर्गत किसानका गोठ सुधार हुनेगरी गोवर र मुत्र छुट्टाछुट्टै संकलन गरी प्रयोगमा ल्याउने गरिएको छ सभा अध्यक्ष महोदय ।

 सभा अध्यक्ष महोदय,

अव म आर्थिक वर्ष २०८०/०८० को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्दा गाउँपालिकाले लिएको मुख्य आधार एवम् योजना छनौट प्रक्रियाको प्राथमिकताको आधारहरु प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

 आ. वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने क्रममा लिइएका मुख्य आधारहरुः

  • नेपालको संविधानको अनुसूची -८ र ९ मा उल्लेखित स्थानीय तहको एकल तथा साझा अधिकारहरु ।
  • दिगो विकासको लक्ष्य २०१६-२०३०
  • नेपालको दीर्घकालीन सोच सहितको पन्ध्रौं योजना (आ.व. २०७६/७७ -२०८०/८१)
  • नेपालको संविधानको भाग ४ अन्तर्गत राज्यका आर्थिक, सामाजिक विकास, प्राकृतिक स्रोतको उपयोग, वातावरण संरक्षण सम्बन्धी नीतिहरु, धारा ५९ को आर्थिक अधिकार, भाग १९ को आर्थिक कार्य प्रणाली ।
  • कोशी प्रदेश सरकारको प्रथम आवधिक योजना (२०७६/७७ -२०८०/८१)
  • साकेला गाउँपालिकाको प्रथम आवधिक योजना (२०८०/०८१ -२०८४/०८५)
  • राष्ट्रिय भू -उपयोग नीति, २०६९
  • अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
  • स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धी निर्देशिका, २०७४,
  • संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र अन्तर सम्बन्ध सम्बन्धी ऐन, २०७७
  • स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ (परिमार्जित)
  • नेपालले हस्ताक्षर गरेका अन्तराष्ट्रिय संधी सम्झौताहरु/नेपाल सरकारले अन्तराष्ट्रिय जगतमा जनाएका प्रतिवद्धताहरु ।
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४
  • सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४
  • संघ र प्रदेश सरकारले अवलम्वन गरेका अन्य आर्थिक नीतिहरु ।
  • संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त बजेट शिलिङ तथा मार्गदर्शन ।
  • स्थानीय राजश्व परामर्श समितिले निर्धारण तथा प्रक्षेपन गरेको आन्तरिक स्रोत ।
  • गाउँपालिकाको भूगोल, हावापानी, धर्म, संस्कार, रीतिरिवाज र सामाजिक संरचना ।
  • गाउँपालिकामा उपलब्ध हुन सक्ने प्राकृतिक, भौतिक तथा मानवीय स्रोत ।
  • स्थानीय स्तरमा उपलब्ध हुन सक्ने रैथाने कृषि बाली तथा पशुपंक्षीहरु ।
  • गाउँपालिकामा तयार भइसकेको भौतिक पूर्वाधार लगायत अन्य विषयगत पूर्वाधारहरु ।

आर्थिक वर्ष २०८०/०८१ लागि योजना छनौट प्रक्रियाको प्राथिमकताका आधारहरुः

  • संघ/प्रदेश सरकारबाट प्राप्त विभिन्न शिर्षकमा हस्तान्तरण हुने वित्तीय अनुदान ।
  • स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले निर्धारण गरेको बजेट सिमा तथा मार्गदर्शन ।
  • दिगो विकास, वातावरणीय संरक्षण तथा सम्वर्ध्दन गर्न सघाउ पुर्याउने योजनाहरु ।
  • संघ, प्रदेश, विकास साझेदार निकाय र गाउँपालिकाको लागत साझेदारीमा सञ्चालन भइरहेका क्रमागत तथा बहुवर्षीय योजनाहरु ।
  • कावु भन्दा बाहिरको परिस्थितिको कारणले समयमा सम्पन्न हुन नसकेका अधुरा योजनाहरु
  • अन्तर गाउँपालिकाको विकासमा ठोस योगदान दिने योजनाहरु ।
  • भूगोल र हावापानीको आधारमा हुने व्यावसायिक कृषि तथा पशु पकेट क्षेत्रका योजनाहरु ।
  • एक टोल एक उत्पादन ।
  • आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने योजनाहरु ।
  • नीजि लगानी तथा स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना तथा सञ्चालन ।
  • रैथाने जातको कृषि बाली, नगदे बाली तथा पशुपंक्षी विकास ।
  • रोजगारमूलक, उत्पादनमूलक तथा कम समयमा प्रतिफल दिन सक्ने क्रियाकलापहरु ।
  • साकेला गाउँपालिकाको आर्थिक विकास र गरीबी न्यूनिकरणमा सघाउ पुर्याउने ।
  • स्थानीय स्रोतसाधन र सीपको अधिकतम प्रयोग हुने योजनाहरु
  • स्थानीय वासिन्दाबाट जनसहभागिता जुट्ने तथा कम लागत हुने योजनाहरु ।
  • प्राकृतिक प्रकोप, विपद व्यवस्थापन तथा वातावरण संरक्षणमा सहयोग पुग्ने योजनाहरु ।
  • स्थानीय भाषिक, धार्मिक, सांस्कृतिक, भेषभूषाको विकासमा सघाउ पुग्ने ।
  • लैंगिक समानता तथा सामाजिक समावेशीकरण अभिवृद्धि हुने ।
  • सामाजिक जवाफदेहीता, पारदर्शिता र सामाजिक रुपान्तरण सहितको सुशासन अभिवृद्धि हुने ।
  • शिक्षाको गुणस्तर अभिवृद्धिमा सघाउ पुर्याउने ।
  • महिला, वालवालिका तथा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्न सक्ने योजनाहरु ।
  • वालमैत्री, महिलामैत्री, पोषणमैत्री, अपाङ्गमैत्री, खानेपानी तथा सरसरफाइमैत्री, वातावरणमैत्री अभियानमा सघाउ पुर्याउने ।
  • स्थानीय भाषा, कला र सांस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा टेवा पुग्ने योजनाहरु ।
  • आन्तरिक तथा वाह्य पर्यटन विकासको पूर्वाधारका योजनाहरु ।

सभा अध्यक्ष महोदय,

अव म यस साकेला गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को समष्टिगत नीति तथा विषयगतहरु नीति यस सम्मानित गाउँ सभा समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

साकेला गाउँपालिकाको समष्टिगत नीतिहरुः

  • गाउँपालिकाको बजेटबाट शुरुवात गरिएको पूर्वाधारका योजनाहरुलाई क्रमागत रुपमा स्तरोन्नति गर्दै लगिनेछ ।
  • सुशासन सहितको दिगो विकासको अवधारणालाई आत्मसाथ गरिनेछ ।
  • गुणस्तरीय शिक्षाको विकासमा टेवा पुग्ने योजनाहरु तर्जुमा गरी कार्यान्वयन गर्दै लगिनेछ ।
  • गाउँपालिकालाई आवश्यक पर्ने प्राविधिक जनशक्तिको उत्पादनमा जोड दिइनेछ ।
  • आन्तरिक पर्यटन प्रवर्द्धन तथा विकासका लागि वनेको टेम्के, धन्नेश्वरी गुफा, चखेवाभञ्ज्याङ, तावाताल, सेल्मेडाँडा, मपारुङ भीर आदिको एकीकृत गुरु योजना अनुसारका कार्यहरु क्रमिक रुपमा गर्दै लगिनेछ ।
  • वसाइँ सराइको दरलाई कम गर्न शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, सञ्चार, विजुली आदिको उचित प्रवन्ध गर्दै लगिनेछ ।
  • रैथाने जातका पशुपंछी, कृषि र फलफूलको खोजी गरी यिनीहरुको संरक्षण तथा विकास गर्दै लगिनेछ ।
  • साकेला गाउँपालिकामा सञ्चालित पूर्ण सरसफाइ अभियानलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा प्रवाह वातावरणमैत्री, महिलामैत्री, वालमैत्री, अपाङ्गमैत्री, जेष्ठ नागरिकमैत्री, पोषणमैत्री तथा पूर्ण सरसफाइमैत्री वनाइनेछ ।
  • एक गाउँ एक टोल एक उत्पादनको नीतिलाई निरन्तरता प्रदान गरिने छ ।
  • आकस्मिक एयर एम्बुलेन्स सेवा सञ्चालनलाई व्यवस्थित गरिनेछ ।
  • साकेला गाउँपालिकाको गौरबको सडक आयोजनाहरुको स्तरोन्नति तथा कालो पत्रे सडक निर्माणको लागि संघ तथा प्रदेश सरकारलाई अनुरोध गरिनेछ ।
  • मुन्दुम पदमार्गको शुन्य विन्दु तावाभञ्ज्याङबाट पदमार्गको दाँयावाँया भागमा विक्षारोपन गरिनेछ ।
  • सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविरलाई निरन्तरता दिइनेछ । अशक्त अवस्थाका लाभग्राही पहिचानका लागि बैंकसँगको सहकार्यमा हुने घरदैलो अभियानलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाको प्रथम आवधिक योजना (२०८०/०८१ -२०८४/०८५) मा समावेश भएका गौरवका योजनाहरु तावातालः तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपम विकास गर्न पर्यटकीय पूर्वाधार तथा ताल निर्माण गरिनेछ । सडक स्तरोन्नति तथा कालोपत्र सडकः बाँझेच्यानडाँडा –रतन्छा -मानेभञ्ज्याङ -काल्चिनखोला सडक स्तरोन्नती सँगै कालोपत्रे सडक निर्माण, साप्सुखोला-मानेभञ्ज्याङ -तावाभञ्ज्याङ कालोपत्रे सडक निर्माण र कात्तिके –सोस्तुङ -नैनेपाटी रतन्छा सडक स्तरोन्नति सँगै कालोपत्रे सडक निर्माण गरिनेछ । साकेला गाउँपालिकालाई डिजटल पालिका निर्माण गरिने छ । मपारुङभीर, धन्नेश्वरी गुफा, साकेला पार्क, लामदुबाली र तावादोभानको पर्यटन प्रवर्द्धन गरिनेछ । खानेपानीः एक घर एक धारा निर्माण गरिनेछ । खेलकुद विकासः प्याराफिट सहितको दारुलाटार र नौलाखर्क खेलमैदान निर्माण गरिनेछ । स्वास्थ्यः सबै स्वास्थ्य संस्थाहरुलाई आधुनिक संरचना सहित गुणास्तरीय सेवा प्रदान गरिनेछ । साकेला गाउँपालिकाको सिमानामा साकेला ट्रेल र सांस्कृतिक भिलेज निर्माण गरिनेछ । शिक्षाः पाँच वटा माध्यमिक विद्यालयहरुलाई नमूना विद्यालय निर्माण गरिनेछ । साकेला गाउँपालिकाको भाषा, कला, संस्कृतिको संरक्षण गरी नमूना पालिका निर्माण गरिनेछ । कृषिः तेलहन बालीको उत्पादनमा वृद्धि गरी (माछा, मौरी) अन्य कृषि उत्पादनमा जोड दिइनेछ । एक घर -एक व्यवसाय -एक रोजगार कार्यक्रम र सबैमैत्री (अपाङ्ग, बालबालीका, महिला, जेष्ठ नागरिक, पोषण लगायत) पालिका निर्माण गरी नमूना गाउँपालिका बनाउने योजना सञ्चालन गर्नका लागि संघ र तथा प्रदेश सरकारसँग समन्वय गरिनेछ ।
  • आर्थिक विकास सम्बन्धी नीतिहरुः
  • कृषि तथा पशु उत्पादनमा वृद्धि गर्न प्रोत्साहन स्वरुप कृषकहरुलाई कार्यविधि वनाएर कृषि अनुदान दिइने व्यवस्था गरिनेछ । त्यसरी दिइएको अनुदान रकम कृषकले सोही कार्यविधिमा तोकिए बमोजिमको विधि र समय अवधि भित्र फिर्ता गर्नु पर्नेछ ।
  • साकेला गाउँपालिकाको आर्थिक अवस्थामा सुधार गर्न एक घर -एक व्यवसाय -एक रोजगारको नीति लिइनेछ ।
  • स्थानीय स्तरमा सिर्जना हुने रोजगारीमा बैदेशिक रोजगार गुमाइ घर फर्केका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ ।
  • कृषिमा आधारित साना उद्योगको विकास गर्न व्यवसायी लाई प्रोत्साहन गर्न उद्योगीहरु मध्येको उत्कृष्ट एक उद्यमी छनौट गरी पुरस्कृत गरिनेछ ।
  • मानव स्वास्थ्य एवं विश्व बजारलाई ध्यान दिंदै साकेला गाउँपालिकालाई पूर्ण अर्गानिक कृषि गाउँपालिकाको रुपमा विकास गर्न अर्गानिक कृषि उत्पादनको लागि प्राङ्गारिक मल तथा जैविक विषादिको उत्पादन तथा प्रयोगलाई निरन्तरता प्रदान गरिनेछ ।
  • परम्परागत रुपमा गरिदै आएको निर्वाहमुखी खेती प्रणालीमा व्यापक सुधार गर्न भू-उपयोग वर्गीकरण र माटो परीक्षणको प्रतिवेदनको आधारमा कृषि/पशु तथा फलफूलको पकेट क्षेत्र निर्धारण गरी व्यावसायिक खेती प्रणाली एवम् सहकारीताको विकासमा जोड दिइनेछ ।
  • खाने तेलमा आत्मनिर्भर हुन लागि तोरी, फिलुङ्गे तथा रायोको उत्पादनलाई निरन्तरता प्रदान गरिनेछ ।
  • लोपोन्मुख अवस्थामा रहेका रैथाने जातका कृषि तथा पशु उपजहरुको खोजी, संरक्षण, विकास तथा बजारीकरणका लागि वीउ उत्पादन गर्न आवश्यक मात्रामा कृषि तथा पशु स्रोत केन्द्रको स्थापना तथा सञ्चालनमा जोड दिइनेछ ।
  • कृषि व्यावसायीकरणमा सहयोग पुर्याउने कृषि सामग्री तथा उपकरणहरुको उपयोगमा जोड दिइनेछ ।
  • दिगो भू-व्यवस्थापन तथा कृषि बाली सुधारको लागि गोठ सुधार तथा भकारो सुधारको कार्यलाई निरन्तरता दिइनेछ ।
  • कृषि उपज खाद्यान्नहरुको भण्डारणका लागि सोलार ड्रायर, रष्टिक स्टोर, सेलार स्टोर आदि जस्ता प्रविधिहरुको प्रवर्द्धन तथा विकास गर्दै लगिनेछ ।
  • सौर्य विस्कुन (Solar drier) स्थानीय सामग्रीहरुको अधिकतम उपयोग गरी कम मूल्यमा निर्माण गर्न अनुसन्धान, निर्माण तथा प्रदर्शन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • कृषि उपज उत्पादनको वृद्धि गर्न आवश्यक पर्ने पानीको लागि परम्परागत रुपमा सञ्चालन हुँदै आएका कुलो एवम् सम्भाव्यताका आधारमा नयाँ कुलोहरुको निर्माण, वर्षाको पानी संकलन लगायत अन्य सिंचाई प्रविधिहरुको खोजी तथा विकास गर्दै लगिनेछ ।
  • साकेला गाउँपालिकामा उत्पादन भएका सम्पूर्ण कृषि उपज तथा अन्य वस्तुहरुको बजारीकरणको लागि सम्वन्धित निकायहरुसँग आवश्यक समन्वय गर्दै लगिनेछ ।
  • खाद्यान्न, तरकारी, फलफूल तथा मसला जन्य कृषि उपजहरुको प्रशोधनका लागि आवश्यक पर्ने तालिम एवम् मेशिन उपकरणको व्यवस्था गर्दै लगिनेछ ।
  • मासुलाई सफा एवं सुरक्षित राख्न मानेभञ्ज्याङ बजार लगायत वडा कार्यालयको आसपासमा समेत पशुपंक्षी बधशालाको निर्माण गर्दै लगिनेछ ।
  • नेपाली चाडपर्व लक्षित गरी व्यावसायिक रुपमा रैथाने घरेलु तथा जंगली जातका फूलहरु उत्पादन तथा विक्री वितरण गर्न किसान तथा व्यवसायीहरुलाई प्रोत्साहन गर्दै लगिनेछ ।
  • लोप भइसकेको तथा लोपोउन्मुख रैथाने प्रजातिका पशुपंक्षी, अन्नबाली, सागसब्जी, दलहन, तेलहन, फलफूल तथा मसला जन्य कृषि उपजहरुको खोजी, संरक्षण तथा विकास गर्दै लगिनेछ ।
  • मनोरञ्जन तथा विभिन्न अवसरमा एक आपसमा शुभकामना आदानप्रदान गर्नका लागि उपयुक्त स्थानहरुको खोजी गरी वनभोज तथा भेटघाट स्थलहरुको स्थापना र विकास गर्दै लगिनेछ ।
  • प्राकृतिक स्रोत सम्पदाको अध्ययन अनुसन्धान गर्नका लागि मपारुङ टेम्के सामुदायिक वन क्षेत्रमा सम्वन्धित पक्षहरुसँग समन्वय गरी पर्यापर्यटनको पूर्वाधार विकास गर्न पहल गरिनेछ ।
  • आन्तरिक तथा वाह्य पर्यटकहरुलाई लक्षित गर्दै परम्परागत रुपमा सञ्चालन हुँदै आएका पैदल मार्गहरुको स्तर उन्नति गरिनुका साथै चखेवाभञ्ज्याङ -मपारुङ भीर–मानेभञ्ज्याङ –पाँचधारे, चखेवाभञ्ज्याङ –टेम्के र मानेभञ्ज्याङ -टेम्के जैविक पद मार्गको निर्माण तथा विकास गर्दै लगिनेछ ।
  • साकेला गाउँपालिकालाई नासपातीको केन्द्र स्थल (हव) वनाउन वडा समिति तथा स्थानीय वासीको समन्वय र सहभागीतामा गाउँपालिकाको भूगोलभित्र निर्माण हुने गौरवका सडक लगायत अन्य सडकहरुको दायाँबायाँ नासपातीको विरुवा रोप्ने कार्यलाई निरन्तरता प्रदान गरिनेछ ।
  • परम्परागत खाद्य प्रविधिहरुको संरक्षण, प्रवर्धन तथा विकासमा जोड दिइनेछ ।
  • कृषि तथा पशु विकासमा योगदान पुर्याउने कृषक तथा फर्महरुको व्यवसायमा प्राकृतिक प्रकोपको कारण उत्पन्न हुने जोखिमलाई आर्थिक रुपमा मद्दत गर्ने पशु तथा कृषि वीमाको लागि सम्वन्धित वीमा कम्पनीहरुसँग समन्वय गर्दै लगिनेछ ।
  • साकेलाको मानेभञ्ज्याङ हाटलाई व्यवस्थित गर्दै आवश्यकताका आधारमा अन्य स्थानहरुमा समेत कृषि उपज संकलन तथा विक्री केन्द्रहरुको स्थापना र सञ्चालनमा जोड दिइनेछ ।
  • साकेला गाउँपालिकामा उत्पादन हुने कच्चा पदार्थबाट सञ्चालन हुन सक्ने घरेलु तथा साना उद्योग स्थापना र सञ्चालन गर्न स्थानीय तथा वाह्य लगानीकर्ताहरुलाई प्रोत्साहन/आव्हान गरिनेछ ।
  • गाउँपालिकामा पूर्ण रुपमा रैथाने जातका कृषि तथा पशु पंक्षी उपजको अर्गानिक उत्पादनको माध्यमबाट कृषि पर्यटनको पूर्वाधारको कार्यमा जोड गरिनेछ ।

 

  • सामाजिक विकास सम्बन्धी नीतिहरुः
  • गाउँपालिकाबाट विविध कारणले अन्य गाउँपालिका जिल्ला वा प्रदेशमा वसाइँ सरी जानेको संख्या वढीरहेको कारण साकेला गाउँपालिकाको जनसंख्या घटीरहेकोहुँदा साकेला गाउँपालिकाको जनसंख्या सन्तुलन कायम राख्न अन्य स्थानबाट वसाइँ सरी आउने परिवारलाई वसाइँ सरी आएको घट्ना दर्ता पश्चात वडाको सिफारिसमा प्रोस्साहन तथा सम्मान स्वरुप रकम रु. ५०००।– (अक्षेरेपी पाँच हजारमात्र) उपलब्ध गराइनेछ ।
  • साकेला गाउँपालिकाको सिमानामा वहु-सांस्कृतिक पदमार्ग निर्माण गर्दै लगिनेछ ।
  • बहु-सांस्कृतिक पदमार्गको विभिन्न स्थानमा स्थानीय तथा रैथाने जातजातिको घर, वसोवास, धर्म, संस्कृति, भेषभूषा, रहनसहन झल्कने किसिमको वस्तीको विकास गरिनेछ । यस्ता वस्तीहरुमा निर्माण हुने घर तथा टहराको डिजाइन गाउँपालिकाले निर्धारण गरे अनुसार हुनेछ ।
  • विश्व महामारीको रुपमा फैलिन सक्ने विभिन्न किसिमको सरुवा रोगहरुबाट वच्न नागरिकलाई सचेतनामूलक कार्यक्रम गर्दै लगिनेछ ।
  • गाउँपालिकामा सञ्चालन भइरहेका प्राविधिक शिक्षालय तथा अप्राविधिक शिक्षण संस्थाहरुको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा विशेष जोड दिइनेछ ।
  • प्रत्येक नागरिकको स्वच्छ खानेपानी उपभोगको नैसर्गिक अधिकारलाई मध्य नजर गर्दै खानेपानीको स्रोतको पहिचान गरी तत्कालिन र दीर्घकालिन योजना तयार गरिनेछ ।
  • विद्यालयको आधारभूत तहलाई गुणस्तरीय बनाउन वालमैत्री कक्षा कोठा र वालमैत्री विद्यालयको अवधारणालाई कार्यान्वयन गर्दै लगिनेछ ।
  • साकेला गाउँपालिकामा रहेका प्राकृतिक जडिवुट्टी तथा अन्य आयुर्वेद्धिक औषधी उपचारको प्रवर्द्धन गर्न आवश्यक खोज तथा अनुसन्धान गरिनेछ ।
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको शाखाको रुपमा सञ्चालनमा आएको नागरिक आरोग्य केन्द्रलाई आयुर्वेद्धिक उपचार केन्द्रलाई व्यवस्थित गर्दै लगिनेछ । चालु आर्थिक वर्षबाट पञ्चकर्म प्रविधि सेवा सञ्चालनमा ल्याइनेछ ।
  • साकेला गाउँपालिकाको सम्पूर्ण विकास प्रक्रियालाई महिलामैत्री, अपाङ्गमैत्री, वालमैत्री, वातावरणमैत्री, जेष्ठ नागरिकमैत्री र पोषणमैत्री वनाइदै लगिनेछ ।
  • स्वास्थ्य तथा पोषणलाई ध्यान दिंदै परम्परागत रुपमा चलिआएको खानपिनको खाद्य व्यवहार परिवर्तन गर्न समुदाय तहमा विज्ञहरुको सहयोगमा समेत विभिन्न किसिमका छलफल तथा अन्तरक्रिया सञ्चालन गर्दै लगिनेछ ।
  • स्थानीय समुदायको आस्थाको केन्द्र, धर्म, संस्कृति अनुरुपको धार्मिक स्थल, देवालयहरुको खोजी गरी स्थानीय समुदायहरुसँगको समन्वयमा तिनीहरुको संरक्षण, सम्वर्द्धन तथा विकास गरी सांस्कृतिक पर्यटनको पूर्वाधार विकासमा सहयोग पुर्याइनेछ ।
  • खानेपानी तथा स्वास्थ्य सरसफाइको लागि स्वच्छ खानेपानीको उचित प्रबन्ध गर्दै लगिनेछ ।
  • पूर्ण सरसफाइ अभियानको सफा तथा स्वच्छ क्षेत्र घोषणा गर्ने कार्य अन्तर्गत केही सूचकहरु प्राप्त हुन बाँकी रहेको कारण आर्थिक वर्ष २०८०/०८१ मा बाँकी रहेका सूचकहरु पूरा गरी सफा तथा स्वच्छ क्षेत्र घोषणा गरिनेछ ।
  • पूर्ण सरसफाइ अभियानमा संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिइनेछ ।
  • परम्परागत रुपमा खानेपानी योजनामा प्रयोग हुँदै आएको खुला धारा प्रविधिलाई निरुत्साहित गरी बन्द धारा प्रणालीलाई व्यवस्थित गरिनेछ ।
  • व्यक्तिगत, सार्वजनिक स्थान एवम् हाटबजारबाट उत्सर्जन हुने फोहोरमैला व्यवस्थापनको लागि डस्टविन तथा इन्सिनेटरको व्यवस्था गर्दै लगिनेछ ।
  • सवै विद्यलयहरुमा प्रधानाध्यापकको पद मर्यादित र गुणस्तरयुक्त बनाउन दरवन्दीमा रहेका स्थायी जेष्ठ शिक्षकबाट प्रधानाध्यापकको नियुक्ती गरिनेछ ।
  • शिक्षालाई व्यावसायिक, व्यवहारिक, गुणस्तरीय तथा विद्यार्थीमैत्री वनाउनका लागि शिक्षाविद्, विद्यालय व्यवस्थापन समिति, अविभावक, नागरिक समाज, विभिन्न सरकारी तथा गैरसरकारी संघ/संस्था र विद्यार्थीहरुसँग आवश्यक छलफल तथा परामर्शको कार्यलाई निरन्तरता प्रदान गरिनेछ ।
  • स्थानीय भाषाबाट सञ्चालन भइरहेको पठनपाठन कार्यलाई निरन्तरता दिइनेछ ।
  • शिक्षाको गुणस्तर सुधारको लागि नियमित रुपमा शिक्षक अविभावक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
  • महिला शसक्तिकरणको लागि सञ्चालन हुँदै आएको महिलाहरुसँग उपाध्यक्ष कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • विपन्न तथा जेहेनदार विद्यार्थीहरुका लागि प्राविधिक तथा उद्यम विकास शिक्षा सम्बन्धी अध्ययका लागि प्रदान गर्दै आएको प्राविधिक शिक्षा अध्ययन छात्रवृत्ति अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  • साकेला गाउँपालिकालाई पूर्ण साक्षर गाउँपालिका वनाउन निरक्षरहरुको गणना गरी नियमित रुपमा साक्षरताका कार्यक्रम सञ्चालन गर्दै लगिनेछ ।
  • शिक्षाको गुणस्तर बृद्धि गर्न सूचना, संचार र प्रविधिमैत्री पठन पाठनको व्यवस्था गर्दे लगिनेछ ।
  • अध्ययन र सिकाइलाई सहज बनाउन विद्यालयमा रहेको पुस्तकालयलाई विद्युतीय पुस्तकालयको रुपमा विकास गर्दै लगिनेछ ।
  • युवा वर्गले जेष्ठहरुसँग शिक्षा लिन तथा जेष्ठहरुको एक्लोपन कम गर्नका लागि उपयुक्त स्थानहरुको खोजी गरी जेष्ठहरुसँगको भेटघाट स्थल व्यवस्था गर्दै लगिनेछ ।
  • छोराछोरी, नाती नातिनी वा नजिकको कुनै पनि संरक्षक विहिन अति गरिब जेष्ठ नागरिकहरुलाई वडा कार्यालयको सिफारिसमा आवश्यकता अनुसार मौसमी कपडा वितरण गर्ने कार्यको थालनी गरिनेछ ।
  • जेष्ठ नागरिक तथा लक्षित वर्गलाई राज्यबाट प्राप्त हुने सेवा सुविधाहरु सहज रुपमा प्राप्त गर्न सम्वन्धित निकायहरुसँग समन्वय गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • साकेला गाउँपालिकामा सिर्जना हुन सक्ने सरकारी तथा सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्ति, विपन्न महिला तथा कुनै कारणवस ठूलो विपत्तिमा परेका व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ ।
  • गाउँपालिकाको दिगो विकास नीतिमा युवाहरुलाई अधिकतम परिचालन गर्न विभिन्न किसिमका युवा केन्द्रित कार्यक्रमहरु सञ्चालन गर्दै लगिनेछ ।
  • विभिन्न नाममा घर छोडी नजिकको शहर, छिमेकी मुलुक तथा अन्य मुलुकहरुमा जाने सबै किसिमका जनशक्ति रोक्नका लागि उचित कार्य योजना तयार गरी उद्यम विकासका कार्यहरु गर्दै लगिनेछ ।
  • वैदेशिक रोजगारको कारणले सिर्जना भएका र हुन सक्ने सम्भावित समस्याहरुलाई सामाजिक रुपले सम्बोधन गर्ने प्रयास गरिनेछ ।
  • विभिन्न कारणले वैदेशिक रोजगारबाट पीडित भएका व्यक्ति वा नीजको परिवारको लागि विभिन्न किसिमका आयमूलक कार्यक्रमहरु सञ्चालन गर्न पहल गरिनेछ ।
  • स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उपचारात्मक भन्दा प्रतिरोधात्मक स्वास्थ्य विकासलाई जोड दिदै स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको क्षमता विकासमा जोड दिंदै लगिनेछ ।
  • पूर्ण सरसफाइयुक्त सभ्य नागरिक, सभ्य गाउँ, सभ्य टोल, सभ्य गाउँपालिका निर्माणमा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्न विभिन्न संघ/संस्था, नागरिक समाजसँग समन्वय गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • आयातित तथा उत्सर्जित फोहरमैलाको दिगो व्यवस्थापन तथा प्रशोधन गर्न साकेला गाउँपालिका ३ नं. वडा ढाँडेमा सर्टिङ साइडको लागि २० रोपनी जग्गा निशुल्क रुपमा प्राप्त गरिएको छ । उक्त जग्गामा फोहोर मैला संकलन तथा प्रशोधन कार्यको लागि आवश्यक भवन, सामग्री, औजार, उपकरण, जनशक्ति मध्ये आर्थिक वर्ष २०७९/०८० को कार्यक्रमबाट एक थान ट्रयाकटर खरिद भैसकेको छ भने अन्य व्यवस्थापनको हकमा चालु आर्थिक वर्षबाट शुरु गरिनेछ ।
  • परापूर्वकालदेखि चलनमा रहेको स्थानीय धामी/झाँक्रीको उचित कदर गर्दै उनीहरुलाई सामाजिक मनोपरामर्शदाताको रुपमा रुपान्तरण गर्न पहल गर्दै लगिनेछ ।
  • सम्भावित रोगहरुबाट बच्न सवै गर्भवती आमा तथा नवजात शिशुहरुको लागि नेपाल सरकारबाट प्राप्त हुने निःशुल्क खोपहरु अनिवार्य लगाउने वातावरण सिर्जना गर्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने कार्यलाई निरन्तरता प्रदान गरिनेछ ।
  • गर्भवती आमा र बच्चालाई गम्भीर रोग लागेमा उपचार गर्न सुविधा सम्पन्न अस्पतालमा लान व्यवस्था गरिएको निःशुल्क एम्वुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
  • आकस्मिक दुर्घट्ना, सुत्केरी व्यथा तथा अन्य गम्भिर प्रकृतिका विरामीको कारण तुरुन्त सही उपचार नपाएमा ज्यान जान सक्ने अवस्थामा रहेका पालिकाभित्रका नागरिकहरुलाई सुविधा सम्पन्न अस्पतामा पुर्याई उपचार गर्न आकस्मिक एयर एम्वुलेन्स सेवा सञ्चालमा आर्थिक वर्ष २०७९/०८० मा एक छुट्टै आकस्मिक एयर एम्वुलेन्स कोषको स्थापना भएको छ । यो कोष बढाई अधिक्तम सेवा प्रवाहका लागि कोष जम्मा गर्न साकेलावासी लगायत देशविदेशमा रहनुहुने दाजुभाई दिदिबहिनीहरुलाई अपिल गरिनेछ ।
  • साकेला गाउँपालिकामा शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्ती तथा असल नागरिक उत्पादन गर्न विभिन्न किसिमका खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै लगिनेछ ।
  • खेलकुद विकासका लागि आवश्यक पर्ने कवर्डहल, भलिबल, अन्तराष्ट्रिय मापदण्ड भएको फुटबल खेल मैदान निर्माण एवं प्रशिक्षक तथा खेल सामाग्रीहरुको उचित प्रबन्ध गर्दै लगिनेछ ।
  • लोपोन्मुख परम्परागत सीपहरु व्यावसायिक बनाउन यस्ता चिजको खोजी गरी संरक्षण तथा विकासको पहल गरिनेछ ।
  • लोपोन्मुख पञ्चे बाजा, नौमति बाजा, विनायो, मुर्चुङ्गा, रैथाने वाद्यवादन लगायत स्थानीय गीत संगीतको खोजी, संरक्षण, विकास तथा बजारीकरण गर्न पहल गरिनेछ ।
  • स्थानीय भेषभूषा, भाषा, संस्कृतिको अध्ययन गरी संरक्षण र विकास गर्न पहल गरिनेछ ।
  • जातीय विभेद,लैंगिक विभेद, लैंगिक हिंसा, महिला हिंसा तथा छुवाछुत अन्त्यका लागि सरोकारवालाहरुसँग समन्वय गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • समाजमा वढ्दै गरेको जङ फूड जस्तै कोकाकोला, डिउ, स्प्राइट, चाउचाउ आदि जस्ता वस्तुहरुको उपभोगलाई निरुत्साहित गर्न सम्बन्धित सरकारी तथा गैर सरकारी संघसंस्था एवम् उपभोक्ताहरुसँग निरन्तर छलफल तथा परामर्श गरिनेछ ।
  • घर तथा कार्यालयमा प्रयोग हुने विभिन्न सामग्रीहरुको निर्माण तथा प्रयोगमा वाह्य सामग्रीलाई सकेसम्म निरुत्साहित गरी स्थानीय स्तरमा उपलब्ध हुन सक्ने सामग्रीहरुको उत्पादन तथा प्रयोगलाई प्रोत्साहन गर्दै लगिनेछ ।
  • नवीकरणीय उर्जा तथा वैकल्पिक उर्जा प्रवर्द्धन गर्न विद्युतीय प्रणालीको शुद्धिकरण गर्न सरोकारवालाहरुसँग आवश्यक समन्वय गरिनेछ । लाभग्राहीको माग तथा आवश्यकताको आधारमा विद्युतीय चुल्हो प्रविधि तथा वायो ग्यास जस्ता प्रविधिहरु विस्तार गर्दै लगिनेछ ।
  • साकेला गाउँपालिकाको ३ नं. वडाको तावाताल -तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पर्यटकीय पूर्वाधार अन्तर्गत ताल लगायत सांस्कृतिक भिलेजको स्थापना तथा सञ्चालन गर्दै लगिने छ ।
  • नेपाली महिलाहरुको चाड पर्वको प्रवर्द्धन तथा विकास गर्दै लगिनेछ ।
  • साकेला गाउँपालिकालाई आर्थिक वर्ष २०८३/०८४ सम्ममा पोषणमैत्री गाउँपालिका घोषणा गरिनेछ ।

 

  • पूर्वाधार विकास सम्बन्धी नीतिहरुः
  • व्यवस्थापन, प्रशासनिक तथा प्राविधिक जटिलताका कारण अलि ठूला आयोजनाहरु उपभोक्ता समितिबाट कार्यान्वयन गर्दा व्यवहारिक कठिनाई हुने देखिएकोले रु. ३३ लाख भन्दा माथिका पूर्वाधार निर्माण योजनाहरु सम्बन्धित वडाको पूर्ण समन्वयमा प्रविधिक स्टिमेट गरी सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम बोलपत्र आह्वान गरी ठेक्काबाट सञ्चालन गरिनेछ ।
  • तावाभञ्ज्याङ क्षेत्रमा वृहत पर्यटन विकास अन्तर्गत पर्यटकीय पूर्वाधार तथा ताल निर्माण कार्यका लागि पहिले बनेको तावातालको विस्तृत परियोजना प्रतिवेदन (DPR) आवश्यकता अनुसार परिमार्जन गरी वृहत गरु योजना निर्माण गरी कार्यान्वयन गर्न संघीय सरकार र प्रदेश सरकारसँग स्रोत व्यवस्थाका लागि गरिने अनुरोधलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाभित्र सरकारी तथा गैरसरकारी संघसंस्थाहरुबाट प्रवाह हुने सेवासुविधाहरु सहज रुपले प्राप्त गर्न ग्रामीण शहरीकरणको अवधारणा अनुरुपको एकीकृत बस्ती विकासमा जोड दिइने ।
  • गाउँपालिकाको गौरबको आयोजना अन्तर्गत निर्माण भइरहेको साप्सुखोला -पाँचधारे सडक, कात्तिके सोस्तुङ -रतन्छा -चखेवाभञ्ज्याङ सडक र नैनेपाटी -काल्चिङखोला सडकहरुको निर्माण कार्यमा संघीय सरकार तथा प्रदेश सरकारसँगको साझेदारी र समन्वयलाई निरन्तर दिइनेछ ।
  • साकेला गाउँपालिकामा ट्रयाक खनिएका सडकहरुको स्तरोन्नति गर्ने क्रममा सडकको अवस्थाको गाम्भिर्यताको आधारमा नाली सहितको ग्राभेल सडक निर्माण गर्दै लगिनेछ ।
  • ग्राभेल सडक निर्माणको लागि आवश्यक पर्ने मेशिन उपकरणहरु व्यवस्था गर्दै लगिनेछ ।
  • साकेला गाउँपालिका २ नं. वडा साल्मे – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ७ नं. वडा चम्पा सडक खण्डमा पर्ने साप्सुखोलाको लामीदुबाली र साकेला गाउँपालिका १ नं. वडा डाँडागाउँ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ८ नं. वडा दोबेला सडक खण्डमा पर्ने साप्सुखोलामा पक्की पुल निर्माण गर्न संघीय सरकारसँग निरन्तर पहल गरिनेछ ।
  • चखेवाभञ्ज्याङ –रतन्छा –खिदिमा सडकमा पर्ने साब्जुखोला, खोवुखोला, रुपुवाखोला, बेलियाखोला, मखुवाखोला र तावाखोलामा पक्की सडक पुल निर्माणको लागि संघीय सरकार तथा प्रदेश सरकारमा निरन्तर पहल गरिनेछ ।
  • सडक सुचारु राख्न प्रमुख सडकहरुका लागि सडक हेरालुको व्यवस्था गर्दै लगिनेछ ।
  • आवश्यक स्थानहरुमा झोलुङ्गे पुल निर्माणको लागि अन्य गाउँपालिका, संघ तथा प्रदेश सरकारसँगको समन्वयलाई निरन्तरता प्रदान गरिनेछ ।
  • प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी तथा उपलब्धिमूलक बनाउन औचित्य र आवश्यकतानुसार गाउँपालिकाबाट साझेदारी गर्न सकिनेछ ।
  • गाउँपालिकाको मातहतमा रहेको रोजगार सेवा केन्द्रमा सूचीकरण भएका श्रमिकहरुलाई आयोजनाको आकार तथा महत्वको आधारमा विभिन्न वडाका कामदारहरुलाई एकिकृत रुपमा काम लगाउन सकिनेछ ।
  • सार्वजनिक सम्पत्तीको सुरक्षाका लागि विद्यालय तथा सार्वजनिक स्थानहरुमा जनसहभागिता एवं लागत सहभागितामा आधारित सोलार बत्ती जडान गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • गाउँपालिकाको गौरवका सडकहरु र अन्य सामरिक महत्वका सडकहरुमा क्रमैसँग सडक वत्ती जडान गर्दै लगिनेछ ।

 

  • वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी नीतिहरुः
  • स्थानीय खोला, खोल्सी तथा चिस्यानहरुमा पाइने स्थानीय/रैथाने जातका जलचर/उभयचरहरुको संरक्षण गर्दै लगिनेछ ।
  • स्थानीय स्तरमा प्राप्त हुने जडीवुट्टीहरुको खोजी, उत्पादन, विकास तथा प्रशोधन गर्न सम्वन्धित सरोकारवालाहरुसँग समन्वय गर्दै लगिनेछ ।
  • स्थानीय/रैथाने तथा आगन्तुक चराहरुको प्रवर्द्धन तथा विकासका लागि उनीहरुलाई आवश्यक पर्ने उपयुक्त वातावरण सिर्जना गर्न नागरिक समाज, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था, चरा विज्ञ, सामुदायिक वन तथा अन्य वनहरुसँग समुचित समन्वय गर्दै लगिनेछ ।
  • रैथाने/स्थानीय तथा आगन्तुक वन्यजन्तुहरु वस्नको लागि उचित वासस्थान तथा आहारा उपलब्धताको व्यवस्थापनको लागि वन्यजन्तु विज्ञ, सरकारी तथा गैरसरकारी संघसंस्थाहरु, नागरिक समाज, नीजि तथा सामुदायिक वन, सरकारी वनहरुसँग गरिने समन्वयको कार्यलाई निरन्तरता प्रदान गरिनेछ ।
  • रैथाने जातका लालीगुराँस, चिमाल, सुनाखरी लगायतका जंगली तथा सयपत्री, मखमली, अजम्वरी आदि घरेलु फूलहरुको संरक्षण, प्रवर्द्धन तथा विकासका लागि फूल विज्ञ, नागरिक समाज, नीजि वन, सामुदायिक तथा सरकारी वन तथा अन्य सरकारी तथा गैरसरकारी संघ संस्थाहरुसँगको समन्वयलाई निरन्तरता दिइनेछ ।
  • हरित गाउँपालिका निर्माण गर्न सरकारी वन, नीजि वन, सामुदायिक वन तथा अन्य वन क्षेत्रहरुको संरक्षण तथा विकास गर्न सबै सम्वद्ध पक्षहरुसँग समन्वय गरिनेछ ।
  • वनजंगल तथा वन क्षेत्रबाट आर्थिक लाभ प्राप्त गर्न सरकारी तथा सामुदायिक वनहरुसँग समन्वय गरी सम्भावित क्रियाकलापहरु सञ्चालन गर्दै लगिनेछ ।
  • वनजंगल विकास एवं विस्तारका लागि रैथाने जातका विरुवाहरुको खोजी, संरक्षण तथा नर्सरीको विकास गरी वृक्षारोपन गर्ने कार्यलाई निरन्तरता प्रदान गरिनेछ ।
  • गाउँपालिकामा प्राकृतिक एवं मानव क्रियाकलापद्वारा निर्मित/सिर्जित विभिन्न किसिमका विपत्तीहरु व्यवस्थापन गर्न पालिकामा रहेको विपद् व्यवस्थापन कोषलाई थप मजवुत वनाउदै लगिनेछ । यस्ता विपत्तीहरुबाट वच्नका लागि सम्वन्धित सवै सरोकारवालाहरुसँग उचित समन्वय गरी विपत योजना बनाई कार्यान्वयन गरिनेछ ।
  • गाउँपालिकामा निर्मित भइरहेका गौरबका सडक लगायत अन्य सडकहरुको दायाँबायाँ वायो ईञ्जिनियरिङ्ग प्रविधि अन्तर्गत अम्लिसो, नेपियर, खर, डालेघाँस रोप्न सम्वन्धित जग्गा धनीहरुलाई प्रोत्साहन गर्दै लगिनेछ ।
  • स्थानीय खोला/खोल्साहरुमा विभिन्न किसिमका रसायनयुक्त विषहरु तथा करेन्टको प्रयोग गरी विभिन्न किसिमका जलचर/माछा मार्ने कार्यलाई पूर्णरुपमा रोक लगाउन छिमेकी स्थानीय तहसँग समन्वयको कार्यलाई निरन्ता दिइनेछ ।
  • स्थानीय कच्चा पदार्थमा आधारित उद्योग सञ्चालनमा जोड दिइनेछ ।
  • पर्यावरण संरक्षण तथा पानीको स्रोतहरुको संरक्षण तथा विकासका लागि स्थानीय तहमा जनचेतना जगाउँदै प्राकृतिक हिसाबले सम्भावित स्थानहरुमा जलशायहरुको निर्माण गर्दै प्राकृतिक तथा परम्परागत रुपमा निर्माण भएका सानातिना जलशायहरुको संरक्षण एवम् पुनर्निर्माणमा जोड दिइनेछ ।

 

  • संस्थागत विकास तथा सुशासन सम्बन्धी नीतिहरुः
  • हाल पंजीकरण, सामाजिक सुरक्षा भत्ता, सिफारिस पत्र र लेखाको आर्थिक कारोवार डिजिटल प्रविधि मार्फत शुरु भएका छन् भने आगामी ४ वर्षभित्रमा गाउँपालिका र मातहतका कार्यालयहरुबाट पूर्ण रुपमा डिजिटल प्रविधिबाट सेवा प्रवाह गरिनेछ ।
  • विद्युतीय शासन प्रणालीको प्रवर्द्धन गर्न गाउँपालिकामा रहेका सबै सरकारी संस्थाहरुमा इन्टरनेट सेवाको विस्तार गर्दै लगिनेछ ।
  • साकेला गाउँपालिकाको भौगोलिक, प्राकृतिक, सांस्कृतिक, भाषिक, धार्मिक, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, खेतीप्रणाली, रहनसहन आदिको प्रचारप्रसार लगायत गाउँपालिकाको दीर्घकालीन र अल्पकालिन विकास प्रयास सवैसामु पुर्यानका लागि साकेला गाउँपाकालिको नाममा ट्वीटर, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जाल र अनलाइन खवर, अनलाइन टि.भि. र भ्लग जस्ता विद्युतीय खवर प्रणाली सञ्चालनमा ल्याइनेछ । यसले एकातिर रोजगारीको सिर्जना हुनेछ भने अर्को तर्फ साकेलालाई विश्वमाझ चिनाउने अवसरसँगै गाउँपालिकालाई आर्थिक लाभ समेत हुने अपेक्षा गरिएको छ ।
  • गाउँपालिकाको विकास प्रयास प्रक्रियामा आवश्यक पर्ने विभिन्न किसिमका प्रशासनिक तथा प्राविधिक जनशक्तिको उत्पादन तथा विकास गर्दै लगिनेछ ।
  • गाउँपालिकाको विकास प्रक्रियामा सघाउ पुर्याउने उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, कृषक समूह, किसान, निर्माण ब्यवसायी, व्यापारी, उद्योगपति, स्थानीय गैर सरकारी संस्था, विकास साझेदार आदिलाई कदर/सम्पानपत्रको साथमा नगद पुरस्कारको व्यवस्थालाई निरन्तरा प्रदान गरिनेछ ।
  • गाउँपालिकालाई पूर्ण शान्ति क्षेत्र बनाउनका सम्वन्धित निकायहरुसँग समन्वय गरी गरिनेछ ।
  • सुशासन स्थापनाका लागि सामाजिक जवाफदेहीताका विभिन्न औजारहरुको अधिकतम उपयोग तथा परिचालन गरिने/गराइनेछ ।
  • सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रवाहलाई चुस्त बनाई जनप्रशासनको असली प्रत्याभूति सेवाग्राहीलाई प्रदान गर्न/गराउन विद्युतीय शासन प्रणालीको विकासमा जोड दिइनेछ ।
  • सरकारी सेवासुविधा, कार्यप्रगति, जानकारीमूलक सरकारी सूचनाहरु सम्वन्धित निकाय/पक्ष लगायत सर्वसाधरणको जानकारीको लागि इन्टरनेट तथा वेभसाईटको प्रयोगलाई सेवाग्राहीमैत्री बनाउदै लगिनेछ ।
  • गाउँपालिकाको समग्र विकास प्रयासमा नागरिकहरुको अर्थपूर्ण सहभागिताको लागि गाउँपालिकाले अवलम्वन गर्ने ऐन, कानून, नियमावली, कार्यविधि, निर्देशिका, नीतिगत विषयहरु लगायत विषयहरुको बारेमा जानकारी गराउन समुदाय तहमा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालनमा जोड दिइनेछ ।
  • जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उपभोक्ता समिति, सुरक्षाकर्मी लगायत सार्वजनिक पद धारण गरेका व्यक्तिहरुमा सेवामुखी भावनाको विकासमा बढोत्तरी गर्न विज्ञहरु समेतको सहयोगमा विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
  • सुशासनमा सहयोग पुर्याउन विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुको प्रशासनिक कार्य तथा कार्यालय व्यवस्थापनमा सुधार गर्दै लगिनेछ ।
  • गाउँपालिकाको समग्र विकासमा सघाउ पुर्याउने हेतुले पदाधिकारी, कर्मचारी, शिक्षक, उद्यमी, विद्यार्थी, कृषक लगायत सामाजिक अभियन्ताहरुका लागि विभिन्न स्थानहरुमा अवलोकन भ्रमणको व्यवस्था गर्न पहल गरिनेछ ।
  • गाउँपालिकाको दिगो विकास नीतिमा राजनैतिक दल, योजनाविद, शिक्षक, नागरिक समाजका अगुवा, विभिन्न स्थानीय गैर सरकारी संस्था, महिला, आदिवासी जनजाति, दलित, अपाङ्ग, वालवालिका, विद्यार्थी, एकल महिला, जेष्ठ नागरिक, युवा, आमा समूह, किसान, उद्योगी, व्यापारी, निर्माण ब्यवसायी, लगायत सरोकारवाला सवै पक्षहरुको अर्थपूर्ण सहभागीता सुनिश्चित गरिने/गराइनेछ ।
  • साकेला गाउँपालिकाको विकास प्रयासको अभियानमा लिईएका नीति, कार्यक्रम तथा बजेट कार्यान्वयन गर्ने क्रममा संघीय सरकार, प्रदेश सरकार, जिल्ला समन्वय समिति, विभिन्न गाउँ तथा नगरपालिका, विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था, विकास साझेदार, स्थानीय राजनैतिक दल लगायत सरोकारवाला सबै पक्षहरुसँग आवश्यक समन्वय एवं सुमधुर सम्बन्ध कायम गरिनेछ ।
  • गाउँपालिकाको सूचना प्रणालीलाई व्यवस्थित गर्न गाउँपालिकाको कार्यालयमा सूचना तथा अभिलेख केन्द्रको स्थापना र सञ्चालनमा जोड दिइनेछ ।
  • स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को लागि गाउँपालिकाबाट भए गरेका सम्पूर्ण क्रियाकलापहरुको शाखागत रुपमा दुरुस्त अभिलेख राखि त्यसको प्रतिलिपि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको सम्पर्क व्यक्तिलाई समेत एकिकृत अभिलेख व्यवस्थापनका गर्न उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।
  • साकेला गाउँपालिका भित्र रहेका सम्पूर्ण सरकारी कार्यालयहरुले सरकारी कामकाजमा प्रयोग गर्ने चिठी पत्रको शिर भागमा शब्दहरु लेख्दा देवनागरि र श्रीजङ्गा दुबै लिपिको प्रयोग गर्नु पर्नेछ ।

 

  • वित्तीय तथा राजश्व सम्बन्धी नीतिहरुः
  • गाउँ कार्यपालिकामा भएको मर्मत सम्भार कोषलाई बलियो बनाई मर्मत सम्भार मापदण्ड तयार गरी कोषको रकम खर्च गरिनेछ ।
  • आवश्यकतामा आधारित विभिन्न किसिमका कोषहरुको स्थापना र सञ्चालन गरिनेछ ।
  • राजश्वको क्षेत्रहरु पहिचान गरी करका दरहरु निर्धारण गरेर गाउँपालिकाको आन्तरिक स्रोतको अभिवृद्धि गर्दै लगिनेछ ।
  • साप्सुखोला र तावाखोलामा रहेको ढुङ्गा तथा बालुवा उपयोग गर्नका लागि छिमेकी पालिकाहरुसँग समन्वय गरिनेछ ।
  • साकेला गाउँपालिकाभित्र रहेका अन्य खोला/खोल्सा र नीजि ढुङ्गालाई समेत करको दायरामा ल्याइनेछ ।
  • साकेला गाउँपालिकाको आधारभूत अस्पताल रतन्छा मार्फत सञ्चालनमा आएको एमवुलेन्स र गाउँपालिकाबाट सञ्चालनमा आएको ब्याकलोडरको परिचालन सम्बन्धी तयार भएको मापदण्डलाई समय अनुकुल परिमार्जन गरी सेवा उपलब्व गराइनेछ ।
  • साकेला गाउँपालिकाको वडा नं. ४ स्थित मानेभञ्ज्याङ डाँडामा लाग्ने हटियालाई व्यवस्थित गर्न हाटबजार करलाई निरन्तरता दिइनेछ ।

 

सभा अध्यक्ष महोदय,

अव म यस सम्मानित सभामा आर्थिक वर्ष २०७९/०८० को आम्दानी र खर्च प्रस्तुत गर्ने अनुमति चाहन्छु । यस गाउँपालिकाको मिति २०८० असार ९ गतेसम्मको चालु तर्फ संघ राजश्व वाँडफाँडको रकम वापत आम्दानी रकम रु. ४,५१,५९,९३१।-(अक्षेरेपी चार करोड एकाउन्न लाख उन्नन्साठी हजार नौ सय एकतीस मात्र), प्रदेश सवारी करबाट प्राप्त रकम रु. २१,३१,९३९.३६ (एकाइस लाख एकतीस हजार नौ सय उनन्चालिस रुपैंया छत्तिस पैसा मात्र), संघ सशर्त अनुदानबाट रकम रु. १३,२०,६७,०००।- (तेह्र करोड बीस लाख सरसठ्ठी हजारमात्र), संघ विशेष अनुदानबाट रकम रु. १,००,००,०००।- (एक करोड मात्र), गाउँपालिकाको आन्तरिक राजश्वबाट प्राप्त रकम रु. ४,०३,७४४।- (चार लाख तीन हजार सात सय चौवालिस मात्र), संघ सशर्त पूजीगत अनुदानबाट रकम रु. ३,३६,८१,०००।- (तीन करोड छत्तिस लाख एकासी हजार मात्र), समपुरक अनुदान रकम रु. २,४०,००,०००।- (दुई करोड चालिस लाख मात्र), वित्तीय समानीकरण अनुदानबाट रकम रु. ६,९९,१२,०००।- (छ करोड उनान्सय लाख वाह्र हजार मात्र), प्रदेश समानीकरणबाट प्राप्त रकम रु. ३५,७५,२५०।- (पैंतीस लाख पतहत्तर हजार दुईसय पचास मात्र) र बैंक मौज्दात रकम रु. ५,८९,००,०००।– (पाँच करोड उनानव्वे लाख मात्र) गरी जम्मा रकमा रु. ३७,७४,७५,०००।- (सैंतीस करोड चौरहत्तर लाख पचहत्तर हजार मात्र) रहेको देखिन्छ । यस मध्ये खर्चः चालु तर्फ रकम रु. १७,१५,५४,४२८.१० (सत्र करोड पन्ध्र लाख चउन्न हजार चार सय अठ्ठाइस रुपैंया दश पैंसा मात्र) र पुँजीगत खर्च रकम रु. ८,९५,६४,०४३।५६ (आठ करोड पन्चानब्बे लाख चौसठ्ठी हजार त्रिचालिस रुपैंया छपन्न पैसा मात्र) गरी जम्मा खर्च रकम प्रतिशत ६२.४५ अर्थात रु. २६,४७,१८,०००।- (छब्बीस करोड सच्चालिस लाख अठार हजार मात्र) खर्च भएको व्यहोरा यस सम्मानित सभा समक्ष अवगत गराउन चाहन्छु ।

सभाध्यक्ष महोदय,

अव म आगामी आर्थिक वर्ष २०८०/०८१ मा सञ्चालन गरिने प्रमुख कार्यक्रमहरु र विनियोजित बजेट विवरण प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

यस आर्थिक वर्षमा आय तर्फ नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. ७,११,००,०००।–(अक्षेरेपी सात करोड एघार लाख रुपैंयामात्र), राजश्व वाँडफाँडबाट रु. ६,००,७९,०००।- (अक्षेरेपी छ करोड उनासी हजार मात्र), सशर्त अनुदान तर्फ रु. १६,४१,००,०००।- (अक्षेरेपी सोह्र करोड एकचालिस लाख मात्र) र विशेष अनुदान १,५०,००,०००।- (अक्षरेपी एक करोड पचास लाख मात्र) रहेको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान रकम रु. ४०,९४,०००।- (अक्षेरेपी चालिस लाख चौरानब्बे हजार मात्र), सवारी कर वाँडफाँडबाट रु. २७,५३,०००।-(अक्षेरेपी सत्ताइस लाख त्रिपन्न हजार मात्र), प्रदेश सशर्त अनुदान चालु रु. २९,२५,०००।- (अक्षरेपी उनन्तिस लाख पच्चीस हजार मात्र)  पूँजिगत तर्फ रु ३८,३०,०००।-  (अक्षेरेपी अठ्तीस लाख तीस हजार मात्र) रहेको छ ।

संघको समपुरक अनुदान रकम रु. १,३५,००,०००।- (एक करोड पैंतिस लाख मात्र), आ.व. २०७९/०८० को राजश्व संकलन दरलाई समेत आधार मानी आर्थिक वर्ष २०८०/०८१ का लागि प्रक्षेपित राजश्व रकम रु. १५,००,०००।- (पन्ध्र लाख मात्र) जम्मा आम्दानी रकम रु. ३३,८८,८१,०००।– (अक्षेरेपी तेत्तीस करोड अठासी लाख एकासी हजार मात्र)  ।

यसरी संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने रकम र पालिकाको आन्तरिक राजश्व संकलनबाट प्राप्त रकम जम्मा भएको चालु तथा पूँजीगत रकम आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि कुल बजेट सिमाङ्क रकम रु. ३३,८८,८१,०००।– (अक्षेरेपी तेत्तीस करोड अठासी लाख एकासी हजार मात्र)  हुने गरी प्रक्षेपित अनुमान गरिएको छ ।

अब खर्च तर्फ विचार गर्दा आगामी आर्थिक वर्ष २०८०/०८१ मा चालु तर्फ रु. २१,९३,५७,०००।- (अक्षेरेपी एक्काइस करोड त्रियानब्बे लाख सन्ताउन्न हजार रुपैंया मात्र), पूँजीगत तर्फ रकम रु. ११,९५,२४,०००।- (अक्षेरेपी एघार करोड पञ्चानब्बे लाख चौविस हजार रुपैयाँ मात्र), यसरी सवै क्षेत्रको कुल रुकम रु. ३३,८८,८१,०००।– (अक्षेरेपी तेत्तीस करोड अठासी लाख एकासी हजार मात्र)  हुने गरी प्रक्षेपित अनुमान गरिएको व्यहोरा अनुरोध गर्दछु ।

सभा अध्यक्ष महोदय,

यसरी आ.ब. २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको उत्तरार्धमा पुगिरहँदा बजेट बनाउन सहयोग पुर्याउनु हुने गाउँ कार्यपालिका, वडा समितिका पदाधिकारी ज्यूहरु, राजस्व परामर्श समिति, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति लगायत सम्पूर्ण विषयगत समितिका पदाधिकारी ज्यूहरु, वस्ती स्तरीय भेलादेखि सहभागी भर्इ आयोजना कार्यक्रम छनौटमा प्रत्यक्ष र परोक्ष रुपले सकृय जनसमुदाय, नागरिक समाज, वुद्धीजीवि तथा बजेट निर्माण प्रक्रियामा अहोरात्र खटिरहनु  भएका कर्मचारी लगायत बजेट निर्माण प्रक्रियामा प्रत्यक्ष रुपले सहभागी हुनुहुने एवम् अमुल्य सहयोग, सद्भाव, सल्लाह दिनुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक अभार व्यक्त्त गर्दछु ।

धन्यवाद ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया