असार २२, २०८२ शनिबार

उत्पादनमा ह्रास आउन थालेपछि माटो परीक्षण गर्दै गाउँपालिका

साकेला- गत वुधबारबाट सुरु गरिएको माटो परीक्षण आज मंगलबार साकेला गाउँपालिकाको वडा नम्बर २ रतन्छामा गरिएको छ । माटोको उर्बराशक्ति पत्ता लगाई माटोको किसिम अनुसार बाली बिरुवाहरु उत्पादन गर्ने उद्देश्यका साथ गाउँपालिकाको आयोजनामा माटो परीक्षण गरिएको हो ।

माटोको परीक्षणपश्चात् कुन मल कति मात्रामा प्रयोग गर्दा स्वच्छ कृषि उपज उत्पादन हुन्छ भनेर किसानलाई जानकारी दिने र माटोमा खराबी देखिए उपचार विधिसमेत सिकाइने गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । अहिले माटोमा आउने विभिन्न समस्याका कारण कृषि उत्पादनमा ह्रास आउन थालेपछि माटो परीक्षणको व्यवस्था गरिएको अध्यक्ष राईको भनाई छ । “हचुवाको भरमा तरकारी खेती र फलफूल खेती गर्दा समस्या हुन्छ, कुन माटोमा के उब्जाउ गर्दा राम्रो हुन्छ, माटोको स्वास्थ्य कस्तो छ लगायतको कुरा माटो परीक्षणको रिपोर्ट बाट पत्ता लाग्ने अध्यक्ष राईले बताउनुभयो ।

माटो परीक्षण पश्चात कुन भूगोलमा कस्तो अन्नवालीहरु उत्पादन गर्न सकिन्छ, सो को विस्तृत अध्ययन गरी पालिकाले सो सम्बन्धी नीति बनाई अनुदानको व्यवस्थापन गर्ने अध्यक्ष राईको भनाईछ । माटो परीक्षणको नतिजाले साकेलाको आवधिक विकास योजनालाई सार्थकता तुल्याउनका साथै कृषि सम्बन्धी योजना तथा कार्यक्रम निर्माण गर्न सहयोग पुग्ने उहाँको भनाई छ।

माटो परीक्षणलाई  नमुना संकलन तथा तयारी,  नमुना बिश्लेषण र शिफारिस प्रतिबेदन तयार तथा कार्यान्वयन गरी तीन चरणमा विभाजन गरेर गर्ने गरिन्छ । माटो परीक्षण सिफारिस प्रतिबेदनमा माटोको पि.एच., माटोमा भएको कूल नाइट्रोजन, उपलव्ध फस्फोरस, उपलव्ध पोटास, प्रांगारिक पदार्थको मात्रा र माटोको बनौटको नतिजाको आधारमा कुन कुन बालीलाई के कति मलखाद प्रयोग गर्ने, अम्लिय माटोको सुधार गर्न के कति कृषि चुन प्रयोग गर्ने र माटोको उर्बराशक्ति व्यवस्थापनको लागि के गर्ने भन्ने विषयहरु उल्लेख गरिएको प्रतिवेदन उपलब्ध गराईने गाउँपालिकास्थित कृषि विकास अधिकृत अनन्त ढकालको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया