
खोटाङ। लगातारको अविरल वर्षापछि गएको पहिरो र सडकमा थुप्रिएको हिलोका कारण अवरुद्ध बनेको साकेला गाउँपालिका–३ अन्तर्गतको ढाडे–मानेभञ्ज्याङ सडक जनश्रमदानबाट मर्मत तथा सरसफाइ गरी सञ्चालनमा ल्याइएको छ। पहिरो र हिलोका कारण सडकमा सवारीसाधन तथा पैदल यात्रुको आवागमनसमेत प्रभावित भएपछि स्थानीय सरकार, जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासी सामूहिक रूपमा सडकमा उत्रिएका हुन्।
‘साकेला श्रम अभियान’ अन्तर्गत शुक्रबार गरिएको श्रमदानको नेतृत्व गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले गर्नुभएको थियो भने वडा नं. ३ का अध्यक्ष गोविन्द तामाङले स्थानीयस्तरमा समन्वय गर्नुभएको थियो। श्रमदानमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष, जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, राजनीतिकर्मी तथा स्थानीयवासीको सहभागिता थियो। श्रमदानमा सहभागीहरूले सडकमा थुप्रिएको पहिरो, माटो र हिलो हटाउनुका साथै सडक किनारका पुरिएका तथा अवरुद्ध नालीसमेत सफा गरेका थिए। नाली सफा गरिएपछि वर्षाको पानीको निकास सहज भई सडकमा पानी जम्ने तथा थप क्षति हुने जोखिमसमेत न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले विपद्का कारण सडक अवरुद्ध भएपछि सरकारी संयन्त्रको मात्र प्रतीक्षा गरेर बस्नुभन्दा स्थानीय समुदायसँग सहकार्य गरी तत्काल समस्या समाधान गर्नुपर्ने बताउनुभयो। उहाँले ‘साकेला श्रम अभियान’लाई स्थानीय विकास र सार्वजनिक संरचना संरक्षणमा नागरिक सहभागिता बढाउने अभियानका रूपमा अघि बढाइएको बताउनुभयो।
“वर्षाका कारण पहिरो जाने, नाली पुरिने र सडक अवरुद्ध हुने समस्या आउन सक्छ। यस्तो अवस्थामा सरकार र नागरिक एकसाथ अघि बढेर समस्या समाधान गर्नुपर्छ। ‘साकेला श्रम अभियान’को उद्देश्य पनि यही हो—विकास सरकारको मात्र होइन, सरकार र नागरिकको साझा अभियान हो।” अध्यक्ष राईका अनुसार जनश्रमदानले तत्कालीन समस्या समाधान गर्नुका साथै समुदायमा आपसी एकता, सामाजिक उत्तरदायित्व र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने संस्कार विकास गर्नसमेत सहयोग पुर्याउँछ।
“हामीले सडक बनाउने मात्र होइन, बनेको सडकलाई जोगाउने संस्कार पनि विकास गर्नुपर्छ। सार्वजनिक संरचना सबैको साझा सम्पत्ति भएकाले यसको संरक्षणमा नागरिकको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ।”
वडा नं. ३ का अध्यक्ष गोविन्द तामाङले सडक अवरुद्ध भएपछि स्थानीयवासीसँग समन्वय गरी तत्काल श्रमदानमार्फत सडक खुलाउने निर्णय गरिएको बताउनुभयो। “पहिरो र हिलोका कारण सडकमा आवागमन कठिन बनेको थियो। तत्काल सडक खुलाउन जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासी मिलेर काम गर्ने निर्णय गर्यौँ। सबैको सक्रिय सहभागिताका कारण छोटो समयमै सडक र नाली सफा गर्न सफल भएका छौँ।”
उहाँले वर्षायाममा सडकमा पानी जम्ने तथा पहिरो जाने समस्या न्यूनीकरणका लागि सडक नालीको नियमित सरसफाइ र पानीको उचित निकास व्यवस्थापन आवश्यक रहेको बताउनुभयो। “सडक बनाउनु मात्रै पर्याप्त हुँदैन। सडकको नाली व्यवस्थित र सफा राख्न सकेमा वर्षायाममा हुने धेरै समस्या कम गर्न सकिन्छ।”
श्रमदानमा सहभागी स्थानीयवासी सुन्दर लामाले सार्वजनिक सडक तथा पूर्वाधार संरक्षणमा स्थानीय समुदायको प्रत्यक्ष सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार विपद्का बेला सरकार र समुदायबीचको सहकार्यले समस्या छिटो समाधान गर्न सकिन्छ। जनश्रमदानले स्थानीयवासीमा आफ्नो गाउँ, सडक र सार्वजनिक संरचनाप्रति अपनत्वको भावना बढाउने उहाँको भनाइ छ। स्थानीयवासीले सडक मर्मत तथा सरसफाइमा जनप्रतिनिधि, कर्मचारी र समुदाय एकसाथ परिचालित भएको कार्यले सकारात्मक सन्देश दिएको बताएका छन्।
साकेला गाउँपालिकाले स्थानीय आवश्यकता र विपद्को अवस्थाअनुसार ‘साकेला श्रम अभियान’लाई निरन्तरता दिने जनाएको छ। अभियानमार्फत सडक तथा नाली मर्मत, सार्वजनिक संरचनाको संरक्षण, सरसफाइ तथा विपद्का समयमा तत्काल आवश्यक पर्ने सामुदायिक काममा जनप्रतिनिधि, कर्मचारी र नागरिकलाई सामूहिक रूपमा परिचालन गर्ने गाउँपालिकाको लक्ष्य छ।
गाउँपालिकाका अनुसार जनश्रमदानपछि ढाडे–मानेभञ्ज्याङ सडकमा थुप्रिएको पहिरो र हिलो हटाइएको छ भने नालीसमेत सफा गरिएकाले सडकमा आवागमन सहज भएको छ। स्थानीय विकासमा नागरिकको प्रत्यक्ष सहभागितालाई संस्थागत गर्ने उद्देश्यसहित गाउँपालिकाले ‘श्रम, सहभागिता र सहकार्यबाट समृद्धि’को अवधारणालाई अघि बढाएको जनाएको छ। यस अभियानले विकास निर्माणमा सरकारको लगानीसँगै नागरिकको श्रम, सहभागिता र जिम्मेवारीलाई जोड्ने प्रयास गरेको गाउँपालिकाको भनाइ छ।
प्रतिक्रिया