असोज २८, २०८३ बुधबार

साकेलामा वडास्तरबाटै ९५ लाख ७७ हजार सामाजिक सुरक्षा भत्ता वितरण

खोटाङ । चाडपर्वलाई लक्षित गर्दै खोटाङको साकेला गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई प्रभावकारी बनाएको छ । भौगोलिक विकटताका कारण गाउँपालिकाको केन्द्रसम्म पुगेर भत्ता बुझ्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई लक्षित गरी सञ्चालन गरिएको वडास्तरीय भुक्तानी शिविरबाट ७९५ जना लाभग्राही प्रत्यक्ष लाभान्वित भएका छन् ।

गाउँपालिकाको सामाजिक सुरक्षा शाखा र नेपाल एसबिआई बैंक, साकेला शाखाको संयुक्त आयोजनामा गत असोज २२ गतेदेखि सञ्चालित शिविरमार्फत लाभग्राहीलाई बैंकिङ प्रणालीबाट कुल ९५ लाख ७७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । औसतमा करिब ७० प्रतिशत लाभग्राहीले वडा तथा बस्तीबाटै भत्ता प्राप्त गरेका छन् भने अन्य लाभग्राहीले नेपाल एसबिआई बैंकको साकेला शाखामा उपस्थित भएर रकम बुझिरहेका छन् ।

शिविरअन्तर्गत वडा नम्बर १ बाँझेच्यानडाँडाका तीन स्थानबाट ३८ लाख ९० हजार रुपैयाँ, वडा नम्बर २ रतन्छाबाट २३ लाख ९८ हजार रुपैयाँ, वडा नम्बर ३ खिदिमाबाट १५ लाख ९६ हजार रुपैयाँ र वडा नम्बर ५ मात्तिमबिर्ताबाट १६ लाख ९३ हजार रुपैयाँ वितरण गरिएको सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले जानकारी दिनुभयो । शिविर असोज २७ गते सम्म सञ्चालन गरिएको थियो ।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले सामाजिक सुरक्षा भत्तालाई सहज, सरल र सम्मानजनक रूपमा लाभग्राहीसम्म पुर्‍याउनु स्थानीय सरकारको जिम्मेवारी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य लाभग्राहीले आफ्नै भत्ता बुझ्नका लागि घण्टौँ हिँड्नुपर्ने, गाडी भाडा खर्च गर्नुपर्ने र शारीरिक कष्ट भोग्नुपर्ने अवस्थाको अन्त्य गर्न हामीले वडास्तरमै शिविर सञ्चालन गरेका हौँ । नागरिकलाई सरकार खोज्दै कार्यालयसम्म आउनुपर्ने होइन, सरकारले नागरिकको अवस्थाअनुसार सेवा लिएर उनीहरूकै घरआँगनसम्म पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।”

अध्यक्ष राईले चाडपर्वको समयमा नागरिकलाई आर्थिक रूपमा सहजता प्रदान गर्न र सामाजिक सुरक्षा भत्ता वितरणलाई थप प्रभावकारी बनाउन गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता वितरणसँगै नवीकरण शिविर, घरदैलो अभियान तथा अन्य सेवामार्फत लाभग्राहीको पहुँचमा सेवा पुर्‍याउने प्रयास विगत वर्षदेखि निरन्तर भइरहेको छ ।

“सामाजिक सुरक्षा भत्ता सामान्य रकम मात्र होइन, धेरै नागरिकको दैनिक जीवनयापन र औषधोपचारको महत्वपूर्ण आधार हो । त्यसैले रकम बुझ्नकै लागि कसैले दुःख पाउन नपरोस् भन्नेमा हामी सचेत छौँ । आगामी दिनमा पनि बैंकसँगको सहकार्यमा यस्ता शिविरलाई निरन्तरता दिँदै सेवा प्रवाहलाई अझ सहज बनाउने हाम्रो लक्ष्य छ,” अध्यक्ष राईले भन्नुभयो ।

गाउँपालिका र नेपाल एसबिआई बैंकबीच वर्षमा तीन पटक सामाजिक सुरक्षा भत्ता नागरिकको पहुँचमा पुग्ने गरी वितरण गर्ने सम्झौता भएको छ । शिविरमा बैंकका शाखा प्रतिनिधि राम विश्वास मेहतासहित गाउँपालिकाका कर्मचारी तथा नेपाल प्रहरीको टोली सहभागी थिए ।

वडास्तरमै भत्ता वितरण गरिएपछि विशेषगरी शारीरिक अशक्तता भएका व्यक्ति, अपाङ्गता भएका नागरिक तथा टाढाका बस्तीमा बसोबास गर्ने लाभग्राहीलाई राहत पुगेको छ । गाउँपालिकाले नागरिकको समय, श्रम र खर्च बचत गर्दै सामाजिक सुरक्षा सेवालाई थप पहुँचयोग्य बनाउने उद्देश्यले यस्ता कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया