
खोटाङ । भौगोलिक विकटताका कारण लामो समयदेखि सहज स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित साकेला गाउँपालिका–१ सेखुवा क्षेत्रका नागरिकलाई लक्षित गरी सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गरिएको छ। गाउँपालिकाले सञ्चालनमा ल्याएको यो स्वास्थ्य इकाई साकेला गाउँपालिकाको आठौँ स्वास्थ्य संस्थाका रूपमा सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो।
गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले नवनिर्मित भवनको उद्घाटन गर्दै स्वास्थ्य सेवा इकाईबाट सेवा प्रवाहको शुभारम्भ गर्नुभएकाे हाे । वडा नम्बर १ को ठूलो भौगोलिक क्षेत्र र नागरिकलाई स्वास्थ्य सेवाका लागि टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सेखुवामा स्वास्थ्य सेवा इकाई स्थापना गरिएको गाउँपालिकाले जनाएको छ।

सामुदायिक स्वास्थ्य इकाई केन्द्रको भवन उद्घाटन समारोहमा उपस्थित स्थानीय नागरिकहरु ।
विशेषगरी साविक वडा नम्बर १ र २ लगायत आसपासका क्षेत्रका नागरिकलाई लक्षित गरी स्थापना गरिएको स्वास्थ्य इकाईबाट स्थानीयस्तरमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। सामान्य स्वास्थ्य समस्या, प्राथमिक उपचार, स्वास्थ्य परामर्श तथा आवश्यक स्वास्थ्य सेवाका लागि अब स्थानीय नागरिकले टाढाको स्वास्थ्य संस्थामा धाउनुपर्ने बाध्यता कम हुने भएको छ। स्वास्थ्य सेवा इकाईको स्थापना पश्चात सो क्षेत्रका करीव १६० घर परिवारका पाँच सय भन्दा बढी नागरिकहरुले सेवा पाउने साकेला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कमल प्रसाद फुयलले बताउनुभयो ।

स्वास्थ्य केन्द्रको सेवा शुभारम्भ कार्यक्रममा आफ्नो भनाई राख्नुहुँदै साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।
सेवा शुभारम्भ कार्यक्रममा गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले भौगोलिक विकटताका कारण कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने बताउनुभयाे । “भौगोलिक अवस्था कठिन छ भन्दैमा नागरिकले स्वास्थ्य सेवा पाउन कठिन हुनु हुँदैन। राज्यले सेवा त्यहाँ पुर्याउनुपर्छ, जहाँ नागरिकलाई सेवाको सबैभन्दा बढी आवश्यकता छ,” अध्यक्ष राईले भन्नुभयाे, “सेखुवामा स्वास्थ्य इकाई स्थापना हुनु एउटा भवन थपिनु मात्र होइन, यहाँका नागरिकको स्वास्थ्य अधिकारलाई व्यवहारमै सुनिश्चित गर्ने महत्वपूर्ण कदम हो।” उहाले गाउँको विकासका लागि सरकार र जनप्रतिनिधिले मात्र प्रयास गरेर नपुग्ने भन्दै नागरिकको सामूहिक सहभागिता र योगदान अपरिहार्य रहेको बताउनुभयाे ।

स्वास्थ्य इकाई केन्द्रको सेवा शुभारम्भका लागि दिप प्रज्वलन गरि कार्यक्रम अगाडि बढाउनुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।
“देश बनाउन भाषणले मात्र पुग्दैन, सबै नागरिक मिलेर काम गर्नुपर्छ। विकासको जिम्मेवारी सरकारको मात्र होइन, समाजका हरेक नागरिकको हो,” अध्यक्ष राईले भन्नुभयाे, “हामीले जहाँबाट जे योगदान गर्न सक्छौँ, त्यहीँबाट सुरु गर्ने हो। कसैले श्रम दिन सक्छ, कसैले जग्गा दिन सक्छ, कसैले ज्ञान–सीप दिन सक्छ। यिनै साना–साना योगदान जोडिँदा गाउँको ठूलो विकास सम्भव हुन्छ।”
अध्यक्ष राईले स्वास्थ्य संस्था स्थापना भएपछि त्यसको संरक्षण, प्रभावकारी सञ्चालन र सेवा गुणस्तरीय बनाउने जिम्मेवारी पनि समुदायको रहेको बताउनुभयाे। “भवन बनाएर मात्र स्वास्थ्य सेवा सुरु हुँदैन। स्वास्थ्य संस्था जनताको हो भन्ने भावना विकास गर्नुपर्छ। यहाँ आउने प्रत्येक नागरिकले सम्मानपूर्वक र सहज रूपमा सेवा पाउने वातावरण बनाउन हामी प्रतिबद्ध छौँ,” उहाले भन्नुभयाे।

जग्गादाता स्व. अदम बहादुर राईको छोरा दिल कुमार राईलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुहुँदै गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।
स्वास्थ्य सेवा इकाई स्थापनाका लागि जग्गा उपलब्ध गराउने अदम बहादुर राईको योगदानको गाउँपालिकाले उच्च सम्मान गरेको छ। जग्गादाता राईका छोरा दिल कुमार राईलाई कार्यक्रमका अवसरमा दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो। सार्वजनिक प्रयोजनका लागि जग्गा उपलब्ध गराउने परिवारको योगदानलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष राईले यस्ता सामाजिक योगदानले स्थानीय विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे ।
“सरकारले बजेट र योजना बनाउन सक्छ, तर हरेक विकासको जग समुदायको सहयोग र अपनत्वमा हुन्छ। सार्वजनिक हितका लागि आफ्नो सम्पत्ति उपलब्ध गराउनु सामान्य कुरा होइन। अदम बहादुर राईको परिवारले गरेको यो योगदान भावी पुस्ताका लागि पनि अनुकरणीय रहनेछ,” अध्यक्ष राईले भन्नुभयाे। उहाले विकास निर्माणमा राज्यको लगानीसँगै स्थानीय नागरिकको योगदान, सहकार्य र अपनत्वलाई संस्थागत गर्दै अघि बढ्ने गाउँपालिकाको नीति रहेको समेत बताउनुभयाे ।

सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्रको भवन उद्घाटनमा उपस्थित स्थानीयहरु ।
सेखुवामा स्वास्थ्य इकाई सञ्चालनमा आएपछि वडा नम्बर १ को दुर्गम तथा छरिएका बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज हुने भएको छ। विशेषगरी सामान्य स्वास्थ्य समस्या तथा प्राथमिक उपचारका लागि टाढा जानुपर्ने बाध्यता घट्ने र समयमै स्वास्थ्य सेवा पाउने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारका रूपमा लिँदै भौगोलिक अवस्था, जनसंख्या र सेवाको आवश्यकतालाई आधार बनाएर स्वास्थ्य संस्थाको पहुँच विस्तार गर्दै आएको जनाएको छ। सेखुवामा स्वास्थ्य इकाई स्थापना भएसँगै विकट भूगोलमा पनि ‘नागरिक भएको ठाउँमै सेवा’ पुर्याउने स्थानीय सरकारको प्रयासले थप गति पाएको छ। कार्यक्रम साकेला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष हेमन राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्वागत मन्तव्य राख्नुहुँदै साकेला गाउँपालिका वडा नम्बर १ बाँझेच्यानडाँडाकी वडा सचिव नमि राई ।

ब्यानर पढेर कार्यक्रमको औपचारिक सुरुवात भएको घोषणा गर्नुहुँदै साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।

कार्यक्रममा उपस्थित स्थानीय नागरिकहरु ।

नवनिर्मित सामुदायिक स्वास्थ्य इकाई केन्द्र सेखुवाको भवन अनावरण कार्यपछि शिलालेख उद्घाटन गर्नुहुँदै साकेला गाउँपालिका अध्यक्ष रवि प्रकाश राई ।



जग्गादाता स्व. अदम बहादुर राईको छोरा दिलकुमार राईद्वारा धन्यवाद ज्ञापन गर्नुहुँदै ।

साकेला गाउँपालिका खोटाङका स्वास्थ्य शाखा संयोजक कमल प्रसाद फुयल आफ्नो भनाई राख्नुहुँदै ।

साकेला गाउँपालिका वडा नम्बर १ का वडा सदस्य तथा स्थानीय नागरिकको हैँसियतमा आफ्नो भनाई राख्नुहुँदै -मुगाधन राई ।

नेपाली काँग्रेस वडा समिति बाँझेच्यानडाँडाका सभापति अर्जुन राई आफ्नो भनाई प्रस्तुत गर्नुहुँदै ।

साकेला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोविन्द तामाङ सामुदायिक स्वास्थ्य सेवा इकाई स्थापना कार्यक्रममा शुभकामना प्रदान गर्नुहुँदै ।

नेपाल मगर संघ केन्द्रीय अध्यक्ष एवम नेपाली काँग्रेस महासमिति सदस्य इच्छु राना विशेष अतिथिको रुपमा आफ्नो भनाई प्रस्तुत गर्नुहुँदै ।

प्रतिक्रिया