
खोटाङ-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो पालिका अधिवेशन साकेला गाउँपालिकामा सम्पन्न भएको छ। अधिवेशनले विजय गुरुङको नेतृत्वमा साकेला गाउँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिको उपसभापतिमा बुद्धिबोल राई, महिला उपाध्यक्षमा रेणुका कटवाल, सचिवमा हरिहर ढकाल र सहसचिवमा हरिकुमार श्रेष्ठ सर्वसहमतिमा चयन भएका छन् ।
अधिवेशनमा साकेला गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रवि प्रकाश राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो अधिवेशनमा साकेला गाउँपालिकाका अध्यक्ष तथा नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रवि प्रकाश राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उक्त कार्यक्रममा विशिष्ट अतिथिहरू पूर्वमहाधिवेशन प्रतिनिधि ईच्छु राना मगर, पूर्व महासमिति सदस्य सरीता खड्का लगायतले आफ्ना धारणा राख्नुभएको थियो। वक्ताहरूले पार्टीको संगठन सुदृढीकरण, आगामी नेतृत्व र मुलुकको समसामयिक राजनीतिक अवस्थाका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो।
प्रमुख अतिथि राईले सर्वसम्मत नेतृत्व चयन हुनु पार्टीभित्रको एकता, सहकार्य र सहमतिको सकारात्मक उदाहरण भएको बताउँदै अबको कांग्रेस नेतृत्वले मुलुकको वर्तमान अवस्था र भविष्यको दिशाबारे गम्भीर भएर काम गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले भन्नुभयो, “१५औँ महाधिवेशनबाट आउने नेतृत्वले अब केवल पार्टी सञ्चालन गर्ने विषयमा मात्र सीमित नभई नेपाल देश किन बिग्रियो, हाम्रा कमजोरीहरू कहाँ छन् र मुलुकलाई कसरी सही बाटोमा अघि बढाउन सकिन्छ भन्ने विषयमा गहिरो अध्ययन गर्नुपर्छ। त्यसैका आधारमा स्पष्ट दृष्टिकोण र दीर्घकालीन भिजन तयार गरी अबको नेपाल कस्तो बनाउने भन्ने स्पष्ट मार्गचित्र निर्माण गर्न आवश्यक छ।”
राईले मुलुक अहिले विभिन्न चुनौती र संकटको अवस्थामा रहेको उल्लेख गर्दै त्यसबाट देशलाई निकास दिन आगामी नेतृत्वले जिम्मेवार, दूरदर्शी र परिणाममुखी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। “नेपाली कांग्रेसले विगतका ऐतिहासिक कालखण्डमा निर्वाह गरेको भूमिकालाई स्मरण गर्दै अबको नेतृत्वले इतिहासबाट शिक्षा लिएर वर्तमान चुनौतीको समाधान र भविष्यको नेपाल निर्माणमा केन्द्रित हुनुपर्छ। मुलुकलाई संकटबाट निकास दिन सक्ने स्पष्ट नीति, दृष्टिकोण, योजना र त्यसको प्रभावकारी कार्यान्वयन गर्ने नेतृत्व आजको आवश्यकता हो,” उहाँले भन्नुभयो।

अधिवेशन पश्चात सामूहिक तस्विर खिचाउँदै नेपाली काँग्रेस साकेला गाउँपालिकाका नेता कार्यकर्ताहरु । तस्विर-साकेला अनलाईन
राईले नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताउँदै त्यसअनुरूप नयाँ पाठ्यक्रम निर्माण गरी शिशु तथा नर्सरी तहदेखि नै बालबालिकाको शिक्षा र विकासलाई व्यवस्थित रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार शिक्षा केवल परीक्षा उत्तीर्ण गर्ने र प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई ज्ञान, चेतना, चरित्र, सिर्जनशीलता, नैतिकता, सीप र वैज्ञानिक सोच विकास गर्ने आधार बन्नुपर्छ।
“देश परिवर्तनको मूल आधार शिक्षा हो। शिशु अवस्थादेखि नै बालबालिकालाई सही वातावरण, संस्कार, ज्ञान, वैज्ञानिक सोच र व्यवहारिक सीप प्रदान गर्न सकियो भने मात्र सक्षम, जिम्मेवार र सभ्य नागरिक निर्माण गर्न सकिन्छ। त्यसैले नेपालको वर्तमान शिक्षा प्रणालीलाई समयअनुकूल रूपमा आमूल परिवर्तन गरी त्यसैअनुरूपको पाठ्यक्रम निर्माण गर्नुपर्छ,” राईले बताउनुभयो।
उहाँले शिक्षा सुधारसँगै स्वास्थ्य, कृषि, उत्पादन, रोजगारी, प्रविधि, पूर्वाधार र सुशासनलाई राष्ट्रिय विकासको एकीकृत आधारका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्ने गरी दीर्घकालीन राष्ट्रिय योजना र स्पष्ट कार्यदिशा आवश्यक रहेको उहाँको भनाइ थियो। “अब इतिहास सम्झेर मात्र पुग्दैन, इतिहासबाट सिकेर भविष्य निर्माण गर्नुपर्छ। कांग्रेसको नेतृत्वले देशको वर्तमान संकटलाई समाधान गर्दै नयाँ पुस्ताको भविष्य सुरक्षित र समृद्ध बनाउने राष्ट्रिय दृष्टिकोण प्रस्तुत गर्न सक्नुपर्छ,” राईले भन्नुभयो। साकेलामा विजय गुरुङको नेतृत्वमा गाउँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएसँगै नेपाली कांग्रेसको स्थानीय संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै जनतासँगको सम्बन्धलाई अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया