भाद्र ५, २०८३ शुक्रबार

श्रम संस्कृतिको नमुना बन्दै साकेला (फोटो फिचर)

खोटाङ — साकेला गाउँपालिकाले विकास, संस्कृति, वातावरण संरक्षण र श्रमलाई एकैसाथ जोड्दै साकेला–२ रतन्छास्थित ऐतिहासिक साकेला थान पार्कमा सरसफाइ तथा सौन्दर्यीकरण अभियान सञ्चालन गरेको छ। गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा भएको अभियानमा उपाध्यक्ष विर्शिका राई, प्रमुख प्रशासकीय अधिकृत अर्जुन राई, कार्यवाहक अध्यक्ष भक्त कटुवाल, कार्यपालिका सदस्य मनकुमारी राईसहित गाउँपालिकाका कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभियानमा जनप्रतिनिधिदेखि कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीसमेत आफैं श्रममा खटिएर साकेला थान पार्कको सरसफाइ, संरक्षण तथा सौन्दर्यीकरणमा सहभागी भएका थिए। सार्वजनिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा ‘आफ्नो इतिहास, आफ्नो संस्कृति र आफ्नो ठाउँ आफैं जोगाऔँ’ भन्ने सन्देश दिन अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

साकेला–२ रतन्छास्थित साकेला थानलाई स्थानीय किरात समुदायले हजारौँ वर्ष पुरानो तथा साकेला क्षेत्रका प्राचीन साकेला थानहरूमध्ये महत्वपूर्ण सांस्कृतिक स्थलका रूपमा मान्दै आएको छ। किरात समुदायको सांस्कृतिक आस्था, प्रकृतिप्रतिको सम्मान र सामूहिक जीवनपद्धतिसँग जोडिएको यस स्थलको संरक्षणलाई गाउँपालिकाले सांस्कृतिक सम्पदा संरक्षणसँगै भावी पुस्ताको पहिचान संरक्षणसँग जोडेको छ।

यसकारण पार्कको सरसफाइलाई सामान्य सरसफाइ कार्यक्रमभन्दा माथि उठाएर इतिहास, संस्कृति, प्रकृति र सामुदायिक पहिचान संरक्षणको अभियानका रूपमा अघि बढाइएको गाउँपालिकाको भनाइ छ।

श्रमलाई विकासको संस्कार बनाउँदै गाउँपालिका

साकेला गाउँपालिका पछिल्लो समय जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा स्वास्थ्यकर्मी स्वयं श्रममा सहभागी हुने स्थानीय तहका रूपमा आफ्नो छुट्टै पहिचान निर्माण गर्दै आएको छ। सडक मर्मत, सार्वजनिक संरचना संरक्षण, सरसफाइ, वातावरण संरक्षण तथा विकास निर्माणका विभिन्न काममा सामूहिक श्रमदानलाई गाउँपालिकाले अभियानका रूपमा अघि बढाउँदै आएको छ।

अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा सञ्चालन हुँदै आएको ‘साकेला श्रम अभियान’ले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र स्थानीय नागरिकलाई विकासका काममा प्रत्यक्ष जोड्ने प्रयास गरेको छ। कार्यालयीय जिम्मेवारीमा रहेका कर्मचारीदेखि विद्यालयका शिक्षक र स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीसम्म सार्वजनिक हितका काममा प्रत्यक्ष श्रममा सहभागी हुने अभ्यासलाई गाउँपालिकाले निरन्तरता दिँदै आएको छ।

गाउँपालिकाका अनुसार श्रम र श्रमदानलाई संस्थागत रूपमा प्राथमिकता दिने स्थानीय तहमध्ये साकेला अग्रणी उदाहरणका रूपमा अघि बढिरहेको छ। नियमित कार्यालयीय तथा पेशागत जिम्मेवारी पूरा गर्दै सार्वजनिक हितका अभियानमा समेत प्रत्यक्ष श्रमदान गर्ने यहाँका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीले स्थानीय तहमा सेवाभाव र श्रम संस्कृतिको फरक उदाहरण प्रस्तुत गरेका छन्।

अध्यक्ष राई : ‘नेतृत्व आफैं श्रममा उत्रिनुपर्छ’

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले विकास केवल बजेट र योजनाबाट मात्र सम्भव नहुने बताए। “जनतालाई श्रम गर्न आग्रह गरेर मात्र पुग्दैन, नेतृत्व आफैं श्रममा उत्रिनुपर्छ। जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र नागरिक सबैले आफ्नो ठाउँको विकास र संरक्षणमा आफैं पसिना बगाउने संस्कार विकास गर्न सके मात्रै दिगो परिवर्तन सम्भव हुन्छ,” अध्यक्ष राईले भने।

उनका अनुसार साकेलाको श्रम अभियान कुनै एक दिनको कार्यक्रम नभई श्रमलाई सम्मान गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने र सामूहिक जिम्मेवारीको भावना विकास गर्ने निरन्तर अभियान हो।

“हाम्रो इतिहास र संस्कृति हाम्रो पहिचान मात्र होइन, भावी पुस्ताका लागि हाम्रो जिम्मेवारी पनि हो। त्यसैले विकाससँगै संस्कृति र प्रकृतिको संरक्षणलाई पनि समान महत्व दिएका छौँ,” अध्यक्ष राईले बताए।

उपाध्यक्ष विर्शिका राई : ‘संस्कृति संरक्षणमा सबैको जिम्मेवारी’

गाउँपालिका उपाध्यक्ष विर्शिका राईले साकेला थान पार्कको संरक्षण स्थानीय सरकारको मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताइन्। “हाम्रो संस्कृति र इतिहास हाम्रो पहिचान हो। यसको संरक्षणमा जनप्रतिनिधि, कर्मचारी र नागरिक सबैको समान सहभागिता आवश्यक छ। श्रममार्फत संस्कृति संरक्षण गर्ने यो अभियानलाई निरन्तरता दिनुपर्छ,” उपाध्यक्ष राईले भनिन्।

साकेला–२ रतन्छास्थित ऐतिहासिक साकेला थान पार्कमा भएको अभियानले सांस्कृतिक सम्पदा संरक्षण, वातावरणीय स्वच्छता, सामूहिक श्रम र स्थानीय सरकारको जनमुखी अभ्यासलाई एकैसाथ जोडेको छ। जनप्रतिनिधि आफैं श्रममा, कर्मचारी मैदानमै, शिक्षक र स्वास्थ्यकर्मी पनि साथमा तथा नागरिकसँगै विकासको अभियानमा सहभागी हुने अभ्यासले साकेला गाउँपालिकालाई स्थानीय तहमा श्रम संस्कृतिको एक प्रेरणादायी उदाहरणका रूपमा स्थापित गर्ने प्रयास गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया