कार्तिक २३, २०८३ आइतबार

सोल्मा स्पोर्टस् क्लब बन्यो साकेलाको फुटबल च्याम्पियन, दिक्तेल–१ उपविजेता

खोटाङ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित दारुलाटार खेलमैदानमा आयोजित खुला अन्तर वडा स्तरीय ९ ए साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि सोल्मा स्पोर्टस् क्लब दिक्तेल–२ सोल्माले जितेको छ। फाइनल प्रतिस्पर्धामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेललाई ३–० गोलअन्तरले पराजित गर्दै सोल्माले उपाधि चुमेको हो।

रतन्छा खेलकुद विकास समिति साकेला गाउँपालिका–२ रतन्छाको आयोजनामा गत कार्तिक १७ गतेदेखि सञ्चालन भएको प्रतियोगिता कार्तिक २२ गते आईतबार सम्पन्न भएको हो। प्रतियोगितामा खोटाङ, भोजपुरलगायत विभिन्न स्थानका २६ टिमले सहभागिता जनाएका थिए।

उपाधि जितेसँगै सोल्मा स्पोर्टस् क्लबले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बनेको दिक्तेल–१ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यसैगरी प्रतियोगिताको सेमिफाइनलसम्म पुगेका आयोजक साकेला–२ डी र साकेला–५ मात्तिम टिमले प्रति टिम नगद १५ हजार रुपैयाँ प्राप्त गरेका छन्।

प्रतियोगितामा आयोजक टिम साकेला–२ डीका पारस राई उत्कृष्ट खेलाडी घोषित भएका छन्। उनले नगद ३ हजार ५०० रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नुभएको छ।त्यसैगरी सोल्मा स्पोर्टस् क्लबका नवीन पोखरेल उत्कृष्ट गोलकिपर, आशिष राई उत्कृष्ट डिफेन्डर, दिक्तेल–१ का सुलभ भुजेल उत्कृष्ट मिडफिल्डर, भोजपुरको खावा स्पोर्टस् क्लबका सुदन राई सर्वाधिक गोलकर्ता घोषित हुनुभयो।सोल्मा स्पोर्टस् क्लबकै पविन तामाङ उत्कृष्ट प्रशिक्षक तथा देवन राई प्लेयर अफ द टुर्नामेन्ट घोषित हुनुभएको थियो । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकलाई जनही नगद २ हजार ५०० रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिएको आयोजक रतन्छा खेलकुद विकास समितिका अध्यक्ष रामसुर राईले जानकारी दिनुभएको छ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेलकुदलाई युवाको प्रतिभा प्रस्फुटन, अनुशासन, सामाजिक एकता र स्वस्थ समाज निर्माणको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।

उहाँले खेलकुद प्रतियोगिता आयोजना गर्नुको उद्देश्य पुरस्कार वितरण र उपाधि जित्ने प्रतिस्पर्धामा मात्र सीमित नराखी स्थानीयस्तरमा लुकेर रहेका प्रतिभाको पहिचान र विकास गर्नु हुनुपर्ने धारणा राख्नुभयो।“खेलकुदमा लगानी गर्नु भनेको केवल एउटा प्रतियोगिता सञ्चालन गर्नु होइन, यो युवाको भविष्य, समाजको स्वास्थ्य र राष्ट्रको सम्भावनामा लगानी गर्नु हो। आज गाउँको मैदानमा खेलिरहेका युवाहरूलाई भोलि जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने खेलाडीका रूपमा स्थापित गर्न सक्नुपर्छ,” अध्यक्ष राईले भन्नुभयो।

उहाँले खेलकुदले जात, भाषा, भूगोल र राजनीतिक विचारभन्दा माथि उठेर मानिसलाई एकताबद्ध बनाउने उल्लेख गर्दै खेलभावना र आपसी सद्भावलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

“खेलमैदानमा कसैले जित्छ, कसैले हार्छ। तर खेलबाट प्राप्त अनुभव, अनुशासन, मित्रता र आत्मविश्वास सबैको साझा उपलब्धि हो। हार्नेले निराश हुनुपर्ने र जित्नेले घमण्ड गर्नुपर्ने अवस्था होइन। आजको हार भोलिको जितको तयारी हो र आजको जित अझ ठूलो जिम्मेवारीको सुरुवात हो,” उहाँले थप्नुभयो । अध्यक्ष राईले ग्रामीण क्षेत्रमा खेलकुद पूर्वाधारको विकास, नियमित प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न स्थानीय सरकार, खेलकुद संस्था र समुदायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

समारोहमा गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले खेलकुदलाई युवाहरूको शारीरिक तथा मानसिक विकाससँगै सामाजिक सम्बन्ध विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले खेलकुद प्रतियोगिताले स्थानीय प्रतिभालाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै विभिन्न वडा, गाउँपालिका र जिल्लाका युवाबीच आत्मीयता र सहकार्यको वातावरण निर्माण गर्ने उल्लेख गर्नुभयो।

“खेलकुदले मैदानमा खेलाडी मात्र जन्माउँदैन, यसले अनुशासित, आत्मविश्वासी र जिम्मेवार नागरिक पनि निर्माण गर्छ। एउटा खेल प्रतियोगिताले फरक–फरक ठाउँका युवालाई एउटै मैदानमा जोड्छ, आपसी चिनजान र मित्रता बढाउँछ तथा समाजमा एकताको भावना बलियो बनाउँछ,” उपाध्यक्ष राईले भन्नुभयो। उहाँले खेलकुदलाई कुनै उमेर समूह वा निश्चित वर्गको गतिविधिका रूपमा मात्र नहेरी समग्र समुदायको साझा अभियान बनाउनुपर्नेमा जोड दिनुभयो।

गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा उपाध्यक्ष बिर्सिका राई, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष जीवन खत्री, वडा नम्बर १ का अध्यक्ष हेमन राई, वडा नम्बर २ का अध्यक्ष जितेन्द्र कुमार राईलगायत जनप्रतिनिधि, शिक्षक, कर्मचारी, राजनीतिक दलका नेता तथा कार्यकर्ता र खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।

यसैबीच प्रतियोगिताको समापन अघि राजनैतिक दल र शिक्षक-कर्मचारीबीच भएको मैत्रीपूर्ण खेलमा १-० गोल अन्तरले शिक्षक-कर्मचारी टिम विजेता बनेको छ । बिजेता टिमले भाले पुरस्कार पाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया