जेठ ४, २०८१ शुक्रबार
  • ताजा अपडेट
  • English
  • निशुल्क स्वास्थ्य शिविरबाट ६५५ जनाले पाए उपचार सेवा

    खोटाङ- साकेला गाउँपालिकास्थित साकेला आधारभूत अस्पताल रतन्छामा सञ्चालन गरिएको दुई दिने निशुल्क स्वास्थ्य शिविरबाट ६५५ जना पालिकाबासी नागरिकले स्वास्थ्य उपचार पाएका छन् । खोटाङ सेवा समाज बेलायत (युके)को आयोजना तथा साकेला गाउँपालिकाको संयोजनमा शुक्रबारदेखि सुरु भएको स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । दुई दिन सम्म सञ्चालन गरिएको शिविरबाट ३०२ जना महिला र ३५३ जना पुरुषले निशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गरेका हुन् ।

    शिविरमा सबैभन्दा बढी जनरल उपचार सेवा ४३२ जनाले पाएका छन् भने दन्तरोग सम्बन्धी उपचार ७१ जनाले पाएका छन् । त्यस्तै स्त्री रोग सम्बन्धी ८० जनाले उपचार प्राप्त गरे भने बालरोग सम्बन्धी ७२ जनाले सेवा लिएको साकेला आधारभूत अस्पतालका डा.किसन घिमिरेले जानकारी दिनुभयो ।

    शिविरको अन्तिम दिन आज गाउँपालिका प्रमुख रवि प्रकाश राई, जिल्ला समन्वय समिति संयोजक सन बहादुर राई, खोटाङ सेवा समाजका उपाध्यक्ष भाग्यवती राई, महासचिव राजेन रामजङ्ग राई, सल्लाहकार रत्नकुमार राईले शिविरमा निशुल्क श्रमदान गर्नुहुने मेडिकल टिम सहित स्वास्थ्यकर्मीहरुलाई सम्मान स्वरुप खादा र कदरपत्र हस्तान्तरण गर्नुभयो ।

    आफ्नो जन्मभूमि खोटाङका नागरिकलाई आफ्नै गाउँठाउँमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ खोटाङ सेवा समाज बेलायत युकेले जिल्लाका विभिन्न ११ स्थानमा निशुल्क स्वास्थ्य शिविर गरिरहेको छ ।

    पहिलो चरण अन्तर्गत (चैत–१६ र १७ गते) साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङबजार स्वास्थ्य चौकी, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको रावाबेँसी स्वास्थ्य चौकीमा समाजले शिविर सञ्चालन गरेको थियो ।

    आयोजकले चैत–१७ र १८ गते ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क बजार तथा चैत–२० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गर्ने तयारी गरिएको महासचिव राजेन रामजोङ राईले जानकारी दिनुभएको छ ।

    त्यस्तै, चैत–२२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना गरिने आयोजकले जनाएको छ । स्थानीय तहमा आयोजना गरिने शिविर सम्पन्न गरेपछि चैत–२४ गते दिक्तेलस्थित शुभम् फाउण्डेशनमा औपचारिकरुपमा समापन गरिने आयोजकले जनाएको छ ।

    खोटाङ घर भइ विभिन्न पेशा तथा व्यवसाय गर्न बेलायतमा बसोबास गर्दै आएका खोटाङ्गेहरुको संस्था ‘खोटाङ सेवा समाज बेलायत’ले ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ भन्ने नाराका साथ शिविर सञ्चालन गरिरहेको हो ।खोटाङ सेवा समाज बेलायतको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूबाट सङ्कलित करिब रु तीन करोड दश लाख बराबरको रकम स्वास्थ्य शिविरमा खर्च गरिने आयोजकले जनाएको छ ।

    शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकहरूसहित १३० जनाभन्दा बढी स्वास्थ्यकर्मीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायत रोगको उपचार र परीक्षण गरी करिब ५० हजार खोटाङ्गे नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया