साकेला- साकेला गाउँपालिका-३ खिदिमाका किसानलाई लक्षित गरि तोरीको तेल पेल्ने मेसिन प्रदान गरिएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले स्थानीय जनविकास वहुउद्देश्यीय सहकारी संस्थालाई एक थान तोरी पेल्ने आधुनिक उपकरण जडित मेसिन हस्तान्तरण गर्नुभएको हो ।
चालु आर्थिक वर्ष २०८०/०८१ को वडागत सिलिङबाट बिनियोजित बजेटबाट खरिद गरिएको मेसिन सहकारी संस्थालाई हस्तान्तरण गरिएको हो । तोरी पेल्ने मेसिन खरिद र किसानले उत्दान गरेको तोरी खरिद गर्नका लागि वडाले पाँच लाख रुपैंया बजेट छुट्याएको थियो ।
स्थानीय उत्पादनलाई जोड दिँदै वाह्य तेल निरुत्साहित गर्ने प्रमुख उद्देश्यका साथ वडा आफैले मेसिन खरिद गरि समूह मार्फत किसानलाई हस्तान्तरण गरिएको उक्त वडाका वडाध्यक्ष गोविन्द तामाङले जानकारी दिनुभयो । साकेला गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेत स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम बनाएको छ । सोही कार्यक्रम अनुरुप तोरि खेतिलाइ बढवा दिएर किसानले उत्पादन गरेको तोरी समूहले खरिद गरि तेल उत्पादन गर्ने र बिक्री गर्ने उद्देश्य राखेको छ ।
साकेला गाउँपालिकालाई समृद्धिको गन्तव्यमा लैजान कृषि तथा पर्यटनबाट मात्र सम्भव भएकाले नयाँ कामको थालनी भएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले आवधिक योजनामा समेत एक गाउँ एक कृषि उत्पादन र कृषि पकेट क्षेत्रको नीतिलाई प्राथिमकतामा राखेर काम सुरु गरेको अध्यक्ष राईको भनाई छ ।
समूहमा हस्तान्तरण गरिएको तोरी मिल यसै वर्षदेखि सञ्चालनमा ल्याईने बताईएको छ । यसअघि गाउँपालिकाले साकला गाउँपालिकाको वडा नम्बर-५ कात्तिकेका किसानलाई कफी प्रशोधन गर्ने मेसिन हस्तान्तरण गरिसकेको छ ।
साकेला गाउँपालिकाको वडा नम्बर ३ खिदिमा क्षेत्रमा तोरी अत्याधिक उत्पादन हुने क्षेत्रको रुपमा लिईन्छ भने लेकाली भुगोल भएका कारण आलु खेतिको समेत राम्रो सम्भावना रहेको छ । गाउँपालिकाको कुन भूगोलमा के उत्पादन लगाउँदा समृद्ध पालिका बनाउन सकिन्छ भनेर अध्ययन अनुसन्धान भईरहेको र सबै क्षेत्रको माटो परीक्षण समेत गरिसकिएको गाउँपालिका अध्यक्ष राई बताउनुहुन्छ । पालिकालाई समृद्ध बनाउनका लागि विभिन्न क्षेत्रको आवश्यकता र पहिचानको खोज अनुसन्धान भईरहेको उहाँको भनाई छ ।
प्रतिक्रिया