माघ २७, २०८१ आइतबार
  • ताजा अपडेट
  • English
  • आफै उपस्थित भएर टोल-टोलमा सुविधा प्रदान गर्दै गाउँपालिका अध्यक्ष

    साकेला- साकेला गाउँपालिकाले आफ्ना नागरिकहरुको सेवाका लागि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । स्थानीय सरकारबाट नागरिकले प्राप्त गर्नुपर्ने न्यूनतम सेवालाई टोल र वस्ती स्तरसम्म पुर्याउनका लागि यसअघि पनि गाउँपालिकाले थुप्रै कार्यक्रमहरु गर्दै आईरहेको छ ।

    यसै क्रममा ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सम्बन्धि सेवा तथा सुविधा उपलब्ध गराउने उदेश्यले गाउँपालिकाले विभिन्न टोल र बस्तीहरुमा स्वास्थ्य विमा परिचयपत्र वितरण गरिरहेको छ । सोमबार गाउँपालिका प्रमुख रवि प्रकाश राई स्वयम उपस्थित भएर गाउँपालिकाको वडा नं. १ को विभिन्न स्थानका वृद्धवृद्धाहरुलाई विमा कार्ड वितरण गर्नुभयो ।

    हामी नागरिकहरुको समस्याप्रति संवेदनशिल छौं, अध्यक्ष राईले भन्नुभयो जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको समस्यालाई समाधान गर्न गाउँपालिका सँधै लागि रहनेछ । गाउँपालिकाले ७० वर्ष माथिका ४०७ जना जेष्ठ नागरिक र २१ जना पूर्ण अपाङ्गता भएका नागरिकहरुको निशुल्क स्वास्थ्य विमा गराईदिएको छ । स्वास्थ्य विमा भएका नागरिकहरुले स्वास्थ्य विमा कार्यक्रम लागू भएका अस्पतालहरुबाट रु. १ लाख सम्म औषधी उपचारमा छुट हुने अध्यक्ष राईको भनाई छ । पूर्ण अपाङ्गता भएका नागरिकहरुको हकमा एकाघरका अन्य सदस्यहरुको पनि निशुल्क स्वास्थ्य विमा गरिने उहाँले बताउनुभयो ।

    उक्त विमा कार्ड वितरण बाँझेच्यानडाँडाको सेखुवा, बाँझे र डाँडागाउँमा वितरण गरिएको हो । विमा कार्ड वितरण सँगै वडा कार्यालय सम्म आएर मालपोत रसिद लिन नपाएका नागरिकहरुलाई पनि टोलस्तरमै सुविधा प्रदान गरिएको छ । उक्त सुविधा एक सय भन्दा बढी नागरिकले प्राप्त गरेको वडा नं. १ का वडाअध्यक्ष हेमन राईले बताउनुभयो । भौगोलिक विकटताका कारण वडा कार्यालय सम्म आउन नस्कने नागरिकहरुलाई यस कार्यक्रमले सहज भएको उहाँको भनाई छ ।

    गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक रिता ढकालका अनुसार वडा नं. १ को बाँझेच्यानडाँडाका १०२ जना जेष्ठ नागरिक सहित ४ जना पूर्ण अपाङ्ग, वडा नं. २ रतन्छाका १०३ जना जेष्ठ नागरिक सहित ५ जना पूर्ण अपाङ्गता भएका नागरिकहरुको स्वास्थ्य विमा गरिएको छ । त्यस्तै वडा नं. ३ खिदिमाका २६ जना जेष्ठ नागरिक र ३ जना पूर्ण अपाङ्ग, वडा नं. ४ मात्तिमका ९८ जना जेष्ठ नागरिक र ४ जना पूर्ण अपाङ्ग तथा वडा नं. ५ मात्तिमबिर्ताका ७८ जना जेष्ठ नागरिक र ५ जना पूर्ण अपाङ्गता भएका नागरिकको निशुल्क स्वास्थ्य विमा गरिएको संयोजक ढकालको भनाई छ ।

    गाउँपालिकाले यसअघि जेष्ठ नागरिक तथा अशक्त अवस्थाका नागरिकको सहजताका लागि सामाजिक सुरक्षा भत्ता वितरण, नविकरण लगायतका विभिन्न शिविरहरु गर्दै आईरहेको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया