माघ २७, २०८१ आइतबार
  • ताजा अपडेट
  • English
  • शिविरबाट ३२९ जनाले पाए स्वास्थ्य सेवा

    साकेला- टोल तथा बस्तिहरुमा रहेका महिलाहरुको स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको समस्याहरुलाई समाधान गर्ने उदेश्यका साथ साकेला गाउँपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा ३२९ जना सेवाग्राहीहरुले उपचार तथा परामर्श सेवा पाएका छन् ।

    गाउँपालिकाको पाँच वटै वडाहरुमा आयोजना गरिएको प्रजनन स्वास्थ्य, रुग्णता सम्बन्धि स्क्रिनिङ शिविरबाट पाठेघरको मुखको क्यान्सर भएका १६० जनाको उपचार गरिएको छ । त्यस्तै परिवार नियोजनको अस्थायी साधन इम्प्लान्ट ४९ जनाले राखेका छन् । परिवार नियोजनकै अस्थायी साधन इम्प्लान्ट १७ जनाले झिकेका छन् भने पुरानो झिकेर नयाँ राख्ने २९ जना छन् ।

    शिविरबाट १३ जना महिलाले आङ खसेको रोगको उपचार गराए भने ती मध्ये ९ जनालाई रिङ पेसरी राखेर उपचार गरिएको छ भने २ जनालाई परामर्श सेवा उपलब्ध गराईएको तथा २ जनालाई अन्यत्र उपचारका लागि रेफर गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक रिता ढकालले बताउनुभयो ।

    गत माघ २९ गतेदेखि फागुन ५ गतेसम्म सञ्चालन गरिएको शिविरबाट ६१ जना सेवाग्राहीलाई यौन रोग (पिआईडी) सम्बन्धी उपचार तथा परामर्श सेवा उपलब्ध गराईएको संयोजक ढकालको भनाई छ । गाउँपालिकाको वडा नं. १ बाँझेच्यानडाँडा बाट सुरु गरिएको शिविर वडा नं. ५ को मात्तिमबिर्तामा आएर टुङ्गिएको थियो ।

    गाउँपालिकाले आङ् खसेर बिरामी भई अन्त्रय उपचारका लागि रेफर भएका बिरामीहरुको अस्पताल जाने-आउने र उपचार अवधिभरको खानेबस्ने व्यवस्था गरिदिने भएको छ । गाउँपालिका अध्यक्ष रवि प्रकाश राईले त्यस्ता बिरामीहरुको लागि छुट्टै कार्यविधि बनाएर सहयोग उपलब्ध गराईने बताउनुभएको छ । गाउँघरमा अझै पनि प्रजनन स्वास्थ्य सम्बन्धि जटिल समस्या रहेको बताउँदै उहाँले सम्भव भएसम्म आगामी दिनहरुमा टोलटोलमा स्वास्थ्य सेवाहरु पुर्याउने बताउनुभएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया