जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • नेपाल एसबिआई बैंकका प्रबन्धक लिम्वुको विदाई

    साकेला- साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारीहरुले निश्वार्थ भावना लिई जनताको सेवामा समर्पित भएर कार्य गरे देश परिवर्तन हुन कुनै समय नलाग्ने धारणा व्यक्त गर्नुभएको छ ।

    बुधबार गाउँपालिकाको कार्यालयमा आयोजित ”फेरी भेटौंला” कार्यक्रम अन्तर्गत नेपाल एसबिआई बैंक साकेला शाखाका प्रबन्धक असिम इङ्नाम लिम्वुको विदाई तथा नयाँ प्रबन्धक मेदानी प्रसाद रिमालको स्वागत गर्नुहुँदै सो धारणा व्यक्त गर्नुभएको हो ।

    स्थानीय तह कार्यान्वयनमा आएपछि बैंक तथा वित्तिय कारोबार गर्न साकेला गाउँपालिकामा नेपाल एसबिआई बैंकको शाखा स्थापना भएको थियो । विगत २ वर्षदेखि साकेलामा प्रबन्धकको भूमिकामा कार्यरत रहँदा लिम्वुले गाउँपालिकाबाट सम्पादित हुने हरेक वित्तिय कारोबारलाई सहज, सरल र छिटो माध्यमद्धारा काम गर्न अग्रणी भूमिका खेल्नुभएको थियो ।

    विदाई कार्यक्रममा गाउँपालिका अध्यक्ष सहित उपाध्यक्ष बिर्सिका राईले लिम्वुलाई सम्मानपत्र र खादाद्धारा सम्मान गर्नुभएको थियो । लिम्वुको कार्यकालमा गाउँपालिकाभित्र रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई बैंङ्किङ प्रणाली मार्फत भत्ता वितरण सुरु गरिएको थियो ।

    प्रत्येक वडा र टोल तथा बस्तीस्तरमा पुगेर खाता सञ्चालन, भत्ता वितरण लगायतको कार्य सहज तरिकाबाट सम्पन्न गर्न प्रबन्धक लिम्वुले खेल्नुभएको भूमिका अतुलनीय भएको बताउँदै अध्यक्ष राईले आगामी दिनमा बैंक सँगको सहकार्य सुमधुर बनाई सेवा प्रवाहलाई फराकिलो पार्न नयाँ आउनुभएको प्रबन्धकलाई आग्रह गर्नुभयो ।

    फेरि भेटौंला कार्यक्रम अन्तर्गत विदाई समारोहमा गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई, प्रमुख प्रशासकीय अधिकृत महेश राईले सरुवा भएर जान लाग्नुभएका प्रबन्धक लिम्वुको आगामी कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो । विदाई तथा स्वागत कार्यक्रममा गाउँपालिकामा कार्यरत विषयगत शाखाका कर्मचारीहरु, कार्यपालिका सदस्य तथा स्थानीयहरुको समेत सहभागिता रहेको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया