जेठ ५, २०८१ शनिबार
  • ताजा अपडेट
  • English
  • भविष्यप्रतिको सोंच लिएर अगाडी बढ्न सके तोकिएको गन्तव्यमा पुग्न कुनै समय लाग्दैन -अध्यक्ष राई

    साकेला- साकेला गाउँपालिकाले सजाएको समृद्धिको सपना सपना पुरा गर्नका लागि साकेलालाई आफ्नै घर सम्झिएर सुन्दर बनाउँने तर्फ लागेमात्र परिवर्तन सम्भव हुने सो गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले बताउनुभयो । भविष्यप्रतिको सोंच लिएर अगाडी बढ्न सके तोकिएको गन्तव्यमा पुग्न कुनै समय नलाग्ने बताउँदै उहाँले गन्तव्य निर्धारणका लागि आवधिक योजना निर्माणको कार्य अघि सारिएको बताउनुभयो ।

    आज बिहीबार आवधिक योजना निर्माण सम्बन्धि तीन दिने कार्यशाला गोष्ठिको समापन समारोह कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष राईले भन्नुभयो- ”साकेला गाउँपालिकालाई सबैले घर सम्झौं, हाम्रो सोंच र बुझाईलाई परिवर्तन गरौं, त्यसका लागि जनप्रतिनिधिले मात्र चाहेर दिगो विकास सम्भव छैन, समृद्धि र विकासका लागि आफ्नो विचारलाई माथि उठाएर तय गरिएको गन्तव्यमा पुगौं ।”

    समय र जीवनको महत्व बुझेर काम गर्न सकियो भने आवधिक योजनाले यस गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन सक्ने अध्यक्ष राईको तर्क छ । सोही प्रसंगमा उहाँले भन्नुभयो- ”म जाति, धर्म, भुगोल, क्षेत्र भन्दा माथि उठेर जनताको सेवा गर्ने मूल सोंचका साथ चुनाव जितेर आएको हुँ, सत्ताको कुर्सी आफू उभिएको धरातल भन्दा माथि हुन्छ तर त्यो कुर्सीबाट माथि हैन जनताको तल्लो स्तरको समस्या, अभाव र आवश्यकतालाई हेर्न सकेमात्र सफल नेतृत्व हुन सकिन्छ ।”

    सोही अवसरमा नेकपा एमाले साकेला गाउँपालिका पार्टी अध्यक्ष आश्विनचन्द्र राईले आवधिक योजनाले साकेलाको समृद्धिको सपना पुरा गर्न सकिने बताउँदै आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    साकेला गाउँपालिका ५ नम्बर वडाका वडाध्यक्ष जीवन खत्रीले आवधिक योजनामा सबै विषयवस्तुलाई समेटेर दिगो लक्ष्य हाँसिल गर्नका लागि सबैजना लागि पर्नुपर्ने बताउनुभयो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले योजना छनौट गर्ने आधार र विकास निर्माण कार्यलाई व्यवस्थापन गर्ने माध्यम आवधिक योजना भएकाले यसलाई पुरा गर्न सबै पक्ष लागि पर्नुपर्ने कुरामा जोड दिनुभयो ।

    प्राविधिक सहयोगी संस्था सिएसडिएसका अध्यक्ष प्रकाश राईले आवधिक योजनामा समेटिने विषयवस्तु र विकास योजना छुट भएमा समावेश गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    साकेला गाउँपालिकाले निर्माण गर्न लागेको आवधिक विकास योजनामा पाँच वटा प्रमुख संयन्त्रहरुलाई समावेश गरिनेछ । जसअन्तर्गत आर्थिक विकास अन्तर्गत कृषि, सिंचाई, पशुविकास, पर्यटन तथा उद्योग, सहकारी तथा वित्तिय सेवा लगायतको विषयवस्तुहरुको विष्लेषण गरि विकास योजना अघि सारिएको छ ।

    सामाजिक विकास अन्तर्गत खानेपानी तथा सरसफाई, शिक्षा, भाषा कला र संस्कृति, युवा तथा खेलकुद, स्वास्थ्य, महिला बालबालिका तथा सामाजिक समावेशिकरण लगायतको विषयवस्तुहरुको विष्लेषण गरि विकास योजना अघि सारिने छ भने पूर्वाधार विकास अन्तर्गत आवास, भवन, वस्ती तथा सहरी विकास, सडक, पुल तथा यातायात, विद्युत तथा वैकल्पिक उर्जा र सूचना तथा सञ्चार तथा विद्युतीय शासनलाई आवधिक योजनामा समावेश गरिनेछ ।

    वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ साकेला एकीकृत वन व्यवस्थापन, साकेला जलवायू परिवर्तन अनुकूलन, साकेला भू–संरक्षण तथा जलाधार व्यवस्थापन, जडिवुटी संरक्षण र प्रवर्धन प्रशोधन तथा व्यवस्थापन, विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन र विपद व्यवस्थापन क्षमता विकास कार्यक्रम समेटिनेछ ।

    संस्थागत विकास तथा सुशासन अन्तर्गत स्थानीय नीति, कानून, सेवा प्रवाह, संगठन तथा क्षमता विकास, संस्थागत विकास, वित्तिय व्यवस्थापन र जोखिम न्यूनीकरण लगायतका विषयवस्तु समेटेर आवधिक योजना निर्माण गरिने लक्ष्य पालिकाले लिएको छ । आवधिक योजना निर्माण गरि कार्यान्वयन गर्नका लागि पालिकाले विभिन्न ८ वटा योजनाका तर्जुमा निर्धारण गरि काम अगाडी बढाई रहेको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    प्रतिक्रिया