साकेला- यतिबेला हरेक स्थानीय तहहरुले बजेट बनाउन सुरु गरेका छन् । आर्थिक वर्षको अन्त्य हुनै लाग्दा स्थानीय तहहरुले आ-आफ्नै नीति तथा कार्यक्रमहरु निर्माण गर्ने कार्य तिव्र रुपमा अगाडि बढाएका छन् । खोटाङको साकेला गाउँपालिका पनि आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम निर्माणमा जुटिरहेको छ । यसै क्रममा उक्त गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले देशका अधिकांश स्थानीय सरकारहरुले सस्तो लोकप्रियताका लागि बजेट निर्माण गर्ने गरेको कारण देश आर्थिक संकटमा फस्दै गएको टिप्पणी गर्नुभएको छ । सस्तो लोकप्रियता कमाउनका लागि उपयोग विहिन ठाउँमा स्थानीय सरकारले लगानी गरिरहँदा देश आर्थिक संकटमा फस्नुका साथै संघीयता नै धरापमा परेको अध्यक्ष राईले बताउनुभएको छ ।
शिक्षकहरुको पेशागत संगठन नेपाल शिक्षक महासंघको पालिका स्तरीय दोश्रो अधिवेसनपछि बसेको पहिलो वैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष राईले सो कुरा बताउनुभएको हो । सरकारले दिगो विकासको योजनाहरुमा लगानी नगरि अनुत्पादक क्षेत्रमा गरेको लगानीकै कारण छ वर्ष नपुग्दै संघीयता धराशायी बन्नुका साथै देशले आर्थिक संकटको सामना गर्नुपरेको अध्यक्ष राईको टिप्पणी छ ।
स्थानीय सरकारहरुले विगतको पाँच वर्षमा बाँडेका योजनाको अहिले नाम निसानै नभेटिने टिप्पणी गर्नुहुँदै उहाँले आगामी वर्षहरुमा अनुत्पादक क्षेत्रमा गरिने लगानी बन्द गरिने बताउनुभयो । हामीले बाँडेका योजना अनुत्पादक नबनुन्, उहाँले भन्नुभयो- वितरण गरिएका योजनाबाट प्रतिफल लिन सक्यो भने आर्थिक रुपमा स्थानीय सरकार सबल हुन्छ र देश समृद्ध बन्छ । शिक्षकहरुको वैठकलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष राईले शैक्षिक क्षेत्रको गुणस्तर वृद्धिका लागि नीतिगत व्यवस्था गरि आवधिक योजना अनुसारको शैक्षिक कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्दै लगिने समेत बताउनुभयो ।
हालै सम्पन्न नेपाल शिक्षक महासंघको पालिका स्तरीय दोश्रो अधिवेसनले इन्द्र कुमार तामाङको अध्यक्षतामा २६ सदस्यीय साकेला गाउँपालिका शिक्षक महासंघ गठन गरेको छ । महासंघको सह-अध्यक्षमा चित्र कुमार राई, उपाध्यक्ष सुरज राई, महिला उपाध्यक्षमा प्रजादेवी गुरुङ र सचिवमा मन कुमारी राई चयन हुनुभएको बताईएको छ ।
प्रतिक्रिया